लेटाङ प्रहरी हत्या प्रकरण : १० जनालाई जनही ५० हजार धरौटी माग

विराटनगर । मोरङको लेटाङमा एक प्रही जवानको हत्याको आरोपमा पक्राउ परेका १० जनालाई ५० हजार धरौटी माग भएको छ ।

लेटाङ नगरपालिका वडा नम्बर ५ मा रहेको शिक्षा विकास माध्यामिक विद्यालयमा गत चैत ६ गते भएको झडपमा प्रहरी जवान २६ वर्षीय उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । उनको मृत्यु गोली प्रहारबाट भएको अनुसन्धानबाट खुलेको छ । विद्यालयका शिक्षक मनोज पौडेलले आफ्नै विद्यालयमा ७ कक्षामा पढ्ने विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको बिषयमा विद्यालयमा आगजनी र तोडफोड भएको थियो । सोही घटनामा नागरिकको सुरक्षामा खटिएकी प्रहरी जवानको मृत्यु भएपछि त्यहाँ कर्फ्यू लगाईएको थियो ।

महिला प्रहरीको ज्यान जाने गरि भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये १५ जनामध्ये जिल्ला अदालत मोरङले १० जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो । न्यायाधिश शिरिषराज ढकालको ईजलासले कर्तव्य ज्यान सम्बन्धि कसुरमा १० जनालाई जनही ५० हजार धरौटीमा छाड्ने आदेश दिएको मोरङ जिल्ला अदालतका सुचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

अदालतले मिक्लाजुङ गाउँपालिका २ का २१ वर्षीय कृष्ण विश्वकर्मा, लेटाङ नगरपालिका ५ का १९ वर्षीय डम्बर कार्की, २७ वर्षीय बिशेष मगर, २० वर्षीय सन्तोष कुँवर, ३२ वर्षीय कुमारबहादुर खोक्रेल, १८ वर्षीय कपिल नेपाली, २० वर्षीय समिर राई, २५ वर्षीय मनकुमार महरा, १९ वर्षीय अनिल विश्वकर्मा र २९ वर्षीय लेखबहादुर मगरलाई धरौटीमा छाड्ने आदेश दिएको हो । अन्य ५ जना फरार रहेको उल्लेख गरिएको छ । कर्तव्य ज्यान सम्बन्धि कसुरमा एकजना नाबालकलाई पनि मुद्दा चलाईएको थियो । नाबालकमाथिको मुद्दाको सुनुवाई गर्दै अदालतले मुद्दाको गाम्भिर्यतालाई ध्यानमा राखेर नाबालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिइसकेको छ ।

लेटाङ घटनामा संलग्न रहेको आरोपमा १५ जना नाबालकलाई अभद्र व्यवहारमा मुद्दा चलाएकोमा उनीहरूलाई पनि अभिभावकको जिम्मामा राख्न आदेश दिएको छ ।

त्यस्तै अन्य ३७ जनालाई पनि प्रहरीले अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा चलाएको छ ।

शिक्षक पौैडेललाई जवरजस्ती करणी मुद्दामा अदालतले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिईसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *