गठबन्धन : देउवाको गृहजिल्लामा झनै किचलो

डडेल्धुरा । नेपाली कांग्रेसले देशभर आवश्कताका आधारमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय गरे पनि त्यसअनुसार सहमतिको प्रयास हुन सकिरहेको छैन । कांग्रेसमै गठबन्धन गर्नु हुँदैन भन्ने आवाज जोडतोडका साथ उठिरहेको छ ।

गठबन्धनकै कारण सरकार बनेको भन्दै सत्तारूढ दलसँगै चुनावी तालमेल गरेर जानुपर्ने पक्षमा सबैभन्दा बढी कांग्रेस सभापति देउवा नै छन् । तर उनकै गृहजिल्ला डडेल्धुरामा झन् बढी किचलो देखिएको छ । सत्तारूढ गठबन्धन दलहरूले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा अझै पनि सिट बाँडफाँड गर्न सकेका छैनन् ।

पटक–पटक बस्दै आएको गठबन्धन दलको बैठक विना निष्कर्ष टुंगिँदै आएको छ । दलहरू स्थानीय तहमा आ–आफ्नै दाबी प्रस्तुत गर्दै आएका कारण सहमति हुन नसकेको हो । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको डडेल्धुरामा सबै पालिकाका कांग्रेसले दाबी गरिहेको छ ।

कांग्रेसले जिल्लाका कुनै पनि पालिकाको नेतृत्व अन्य दललाई दिन चाहेको छैन । तर माओवादी केन्द्रले तीन र एकीकृत समाजबादीले दुई स्थानीय तहमा दाबी गरिरहेको छ । कांग्रेसले यसअद्धि २०७४ को स्थानीय तहको निर्वाचनमा एक नगरपालिका र तीन गाउँपालिकासहित चरा वटा पालिकामा जित हाँसिल गरेको थियो ।

अहिले बाँकी पालिकामा पनि जित्ने आँकलन गर्दै कांग्रेसले सबै पालिकामा दाबी गरिहेको छ । कांग्रेसले यसअघि जिल्लाको सबैभन्दा धेरै जनसंख्या रहेको परशुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरा जितेको थियो । त्यसबेला माओवादीले एक र एमालेले दुई पालिकामा जितेको थियो । नेकपा एमालेले अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिका र माओवादी केन्द्रले अजयमेरु गाउँपालिकामा जितेको थियो ।

नेपाली कांग्रेस डडेल्धुराका पार्टी सभापति भीमबहादुर साउँदले जिल्लामा तालमेल बिना पनि कांग्रेस सबै जिल्लामा जित हात पार्ने अवस्थामा रहेको बताउँछन् । परशुराम नगरपालिकाका नगरप्रमुखसमेत रहेको साउँदले अघिल्लो निर्वाचनमा कांग्रेसभित्रकै अन्तरद्वन्द्वका कारण केही सिट गुमाउने परेको भएपनि अहिले त्यस्तो अवस्था नरहेको दाबी गरे ।

तर, माओवादी केन्द्रले भने परशुराम नगरपालिका, आलिताल गाउँपालिका र अजयमेरु गाउँपालिका प्रमुखमा दाबी गरेको छ । माओवादी केन्द्रका जिल्ला संयोजक उमेशप्रसाद भट्टले पनि जिल्लामा माओवादी केन्द्रको प्रभावि पछिल्लो समय राम्रो भएको दाबी गरे । नेकपा (एकीकृत समाजवादी)ले पनि आलिताल र नवदुर्गा गाउँपालिकाको नेतृत्व गर्न पाउनुपर्ने अडान राखेको पार्टीका जिल्ला अध्यक्ष तुलाराम बोहराले बताए । कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजबादीलाई नेतृत्व दिन तयार नभएपछि जिल्लामा गठबन्धन दलबीच सहमति हुन सकेको छैन । यद्यपि दलहरूले सहमतिको प्रयास भने जारी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *