गठबन्धनको गाँठो !

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनकै रूपमा हाेमिने नीतिगत निर्णय गरेको पाँचदलीय सत्ता गठबन्धनभित्र भागबन्डाकाे विषय पेचिलाे बनेकाे छ । गठबन्धनसम्बद्ध दलहरूले भागबन्डाबारेकाे आ-आफ्नो अडान दाेहाेर्‍याइरहँदा अवस्था थप सकसपूर्ण बनेकाे हाे ।

चैत २९ गते बसेकाे गठबन्धनकाे बैठकले वैशाख ३० काे स्थानीय निर्वाचनका लागि महानगर र उपमहानगरकाे भागबन्डा केन्द्रले नै टुङ्ग्याउने निर्णय गरेकाे थियाे । साे निर्णयअनुसार केन्द्रीय गठबन्धनका शीर्ष नेताहरूबीच लगातार छलफल भएपनि सहमति भने जुटेकाे छैन । त्याे बैठकले नगरपालिका र गाउँपालिकाकाे हकमा भने जिल्लास्थित गठबन्धन संयन्त्रले नै निर्णय गर्ने भनेकाे थियाे । तर, अहिले जिल्लास्थित संयन्त्रहरूले पनि काम गर्न सकिरहेका छैनन् । केन्द्रमै नटुङ्गिएपछि आफूहरूलाई काम गर्न गाह्राे भइरहेकाे जिल्लास्थित नेताहरूले बताउने गरेका छन् । यद्यपि केन्द्रले भने नगरपालिका र गाउँपालिकामा स्वतन्त्र रूपमा निर्णय गर्न सकिने बताएकाे छ ।

६ महानगर र ११ उपमहानगरकाे भागबन्डा अझै केन्द्रमा मिलिसकेकाे छैन । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमाेर्चाकी उपाध्यक्ष दुर्गा पाैडेललगायतका नेताहरूबीच गत आइतबारदेखि यही विषयमा छलफल चलिरहेकाे भएपनि सहमति भने भेटिएकाे छैन ।

सङ्ख्याबारे सहमतिनजिक पुगेपनि कुन महानगर/उपमहानगर कुन दललाई भन्नेबारे नेताहरूकाे कुरा मिलिरहेकाे छैन । ६ महानगरकाे हकमा सरकारकाे नेतृत्व गरिरहेकाे दल नेपाली कांग्रेसलाई ३ वटा र अन्य दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीलाई समान १/१ वटा दिने निर्णय भइसकेकाे छ । यस्तै ११ उपमहानगरकाे हकमा पनि सबैभन्दा धेरै कांग्रेसलाई नै दिने सहमतिमा छलफल भइरहेकाे एक माओवादी नेताले बताए । उनकाअनुसार कांग्रेसलाई ५ वटा र अन्य ३ दललाई समान २/२ वटा दिइनेछ ।

ती नेताकाअनुसार दलहरू सङ्ख्याबारे लगभग टुङ्गाेमा पुगेपनि कुन पालिका कुन दललाई भन्नेमा सहमति जुटेकाे छैन । ‘सहमति जुटेकाे छैन,’ ती नेताले भनेका छन्, ‘तर आज बेलुकासम्म भने हामी त्याे निष्कर्षमा पुग्छाैँ । आजचाहिँ कुन महानगर वा उपमहानगर कुन दलले पाउने भन्नेबारे पनि निर्णय हुन्छ ।’

दलहरूकाे अडान मुख्य समस्या

दलहरूले आ-आफ्नाे अडान दाेहाेर्‍याउँदा समस्या देखिएकाे गठबन्धनकाे स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनकाअनुसार कुनै पनि दलले आफ्नाे अडान छाड्न मानेका छैनन् ।

खासगरी महानगर बाँडफाँटका विषयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच सहमति जुट्न सकिरहेको छैन । त्यसमा पनि पोखरा महानगरको हकमा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच सहमति जुट्न सकेकाे छैन । गठबन्धनको अहिलेको विवाद खास कहाँ कुन दलले लिने भन्नेबारेकाे भएकाे ती नेताले बताएका छन् ।

नेपाली कांग्रेसले काठमाडौँ, ललितपुर, विराटनगरसहित पोखरामा पनि दाबी गरिरहेको छ । एकीकृत समाजवादीले पनि गत निर्वाचनमा तत्कालीन एमालेले जितेकोले पाेखरा यसपटक आफूले पाउनुपर्ने बताउँदै आएकाे छ ।

एकीकृत समाजवादी, कास्की अध्यक्ष धनराज आचार्यले वक्तव्य नै जारी गरेर पोखराको मेयरमा आफूले नपाए एमालेसँग मिल्न सक्ने चेतावनी दिइसकेका छन् । यस्ताेमा गठबन्धनका नेताहरू थप सकसमा छन् । यस्तै माओवादी केन्द्रले भरतपुर र जनता समाजवादीले विराटनगर पाउने करिब-करिब सहमति बनेकाे बताइन्छ । यसअघि मंगलबार बिहान मात्रै प्रधानमन्त्री देउवाले चितवनका पार्टी सभापति राजेश्वर खनाललाई बालुवाटार बाेलाएर भरतपुर माओवादीलाई छाड्न भनेका छन् । यस्ताेमा भरतपुर माओवादी केन्द्रकै भागमा पर्ने निश्चितजस्तै बनेकाे छ ।

अन्य दलहरूले त्यस्ताे खास विराेध नगरेपनि नेपाली का‌ंग्रेस र एकीकृत समाजवादीबीच सहमति जुटिरहेकाे छैन । ती माओवादी नेताकाअनुसार गठबन्धनका शीर्ष नेताहरूकाे बैठकमा विराटनगर, ललितपुर र काठमाडौँमा कांग्रेसलाई दिनेबारे छलफल भइरहेकाे छ भने भरतपुर माओवादी केन्द्रलाई र वीरगञ्ज जसपालाई दिनेबारे छलफल भइरहेकाे छ ।

उपमहानगरकाे हकमा भने कांग्रेसलाई धरान, कलैया, धनगढी, तुल्सीपुर, इटहरी, बुटवलमध्ये पाँचवटा दिने बताइएकाे छ । यस्तै माओवादीलाई घोराही र जितपुर-सिमरा, एकीकृत समाजवादी हेटौँडा, तुल्सीपुर र इटहरीमध्ये दुई र जसपा जनकपुर र नेपालगञ्जको प्रमुख लिनेगरी छलफल अगाडि बढेको छ ।

बाँडफाँटकाे टुङ्गाे लगाउन मंगलबार साढे ११ बजे बालुवाटारमा बस्ने भनिएको बैठक सरेर दिउँसो २ बजेबाट शुरू भएको छ । यो बैठकले भने महानगर र उपमहानगरको संख्यासँगै कुन पालिका कुन दलले पाउने भन्नेसम्म टुङ्ग्याउने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *