यी हुन् २०७९ का शुभ साइतहरू (सूचीसहित)

नेपाल पञ्चाङ्ग निर्णायक समितिले वि.सं. २०७९ सालमा हुने विवाह, व्रतबन्ध, रुद्राभिषेक, हवन, पास्नी लगायत शुभकार्यहरूका लागि उपयुक्त मुहूर्त निर्धारण गरी सर्वसाधारणका लागि सूचना जारी गरेको छ । वैदिक सनातन परम्परामा शुभमुहूर्तमा मात्र संस्कार तथा शुभकर्म गर्ने शास्त्रीय विधान छ ।
शास्त्रले अनुमोदन गरेका समयमा शुभकर्म गर्दा मात्र श्रुति-स्मृति-पुराणोक्त फलप्राप्ति भई अभीष्ट सिद्धि हुने हुँदा विभिन्न साइतहरू निर्धारण गरिएका हुन् । विवाहका लागि यो वर्ष ४० वटा शुभसाइत रहेका छन् भने व्रतबन्धका लागि ११ वटा । वर्षभरिमा रुद्री लगाउन ७२ दिन र होम गर्न ६७ दिन अनुकूल रहेका छन् ।
विवाहको शुभसाइत
वैशाखमा विवाहका लागि १७ वटा लगन रहेका छन् । जेठमा ११ वटा लगन रहेका छन् भने असार महिनामा ५, मङ्सिरमा ८, माघमा ६ र फागुनमा ९ दिन विवाह जुरेका छन् । ज्येष्ठ महिनाको २,३, ५,६,१२, १७, २२, २३, २५, २८ र ३१ गते रहेका छन् । ज्येष्ठ महिनामा मात्र जम्मा ११ वटा विवाहको शुभ साइत रहका छन् ।
असार महिनामा ७, १९, २१, २२ र २४ गते गरी जम्मा ५ वटा शुभ साइत रहेका छन् । मंसिरमा जम्मा ७ वटा शुभ साइत रहेका छन् जुन ११, १२, १६, २२, २३, २७ र २८ गते रहेका छन् । पौष महिनामा भने मात्र एक दिन १७ गतेको दिन विवाहको शुभ साइत रहेको छ । माघ महिनामा ११, १२, १३ गते सम्म हरेक दिन र १८, २५, २६ र २७ गतेका दिनहरू शुभ साइत रहेका छन् । त्यसै गरी वर्षको अन्तिममा फाल्गुन २, ४, १०, २१, २२, २३, २४, २५ र २९ गते विवाहको लागि शुभ साइत रहेका छन् ।
व्रतबन्धको शुभ-साइत वा मुहूर्तहरू
वि. सं. २०७८ मा व्रतबन्धको मुहूर्त पनि एघार वटा मात्र छ । वर्षको सुरुवाती महिना वैशाखको २३ र २८ गते ज्येष्ठ महिनाको १९ र २७ गते, असार २ र १७ गते, माघको १२ र २७ गते, फागुन १८ र २९ गते र अन्तिममा चैत्रको ९ गते व्रतबन्ध को शुभ साइतहरू रहेका छन् ।
रुद्री गर्ने शुभदिनहरू
वैदिक सनातन मान्यता अनुसार विशेष गरी श्रावण महिना देवादी देव महादेव, वा शिव शङ्कर भगवानको महिनाको रूपमा मानिदै आएता पनि यस वर्ष भने भाद्र महिना देखि मात्र रुद्री गर्ने शुभ साइत रहेका छन् । भाद्र महिनाको १,३, ६, ७, ८, ९, १३, १६, १७, १८, २२, २३ र २४ गते रुद्री गर्ने शुभ साइत छन् ।
त्यस पछि मंसिरको १२, १३, १४, १६, १९, २१, २३, २६, २७ र २८ गते अनि पौष १,६, १०, १३, १४, १६, १९, २०, २१, २३, २७, २८ र २९ गते रुद्री गर्ने शुभ साइतहरू रहेका छन् । माघ महिनामा जम्मा १६ वटा रुद्री गर्ने शुभ साइत छन् । माघ महिनाको १, ४, ५, ६, ९, १२, १३, १४, १६, १९, २०, २१, २३,२६, २७ र २८ पनि रुद्री गर्ने शुभ साइतहरू रहेका छन् । फाल्गुन महिनामा भने १,४,५, ६, १०, १२, १३, १६, १७, २०, २१, २२,२४ र २९ गरी जम्मा १४ वटा रुद्री गर्ने शुभ साइतहरू रहेका छन् । वर्ष को अन्तिममा चैत्र महिनाको १, ४, ५, ९, १२ र १३ गते अन्तिम पटक रुद्री गर्ने शुभ साइतहरू रहेका छन् ।
होम गर्ने साइत
विभिन्न संस्कारको अन्तमा हवन कुण्ड वा होम वेदी बनाइ त्यसमा अग्नि स्थापना गरी गरिने होमको लागि यस २०७९ सालमा प्रशस्त शुभ साइत रहेका छन् । जस अनुरूप भाद्र महिनामा २,४,५, ८, १०, १२, १४, १६, १८, २१, २३, र २५ गते शुभ साइतहरू रहेका छन् । मंसिर महिनामा १०, १२, १४, १६, १९, २१, २३, २५, २७, र २९ गरी जम्मा १० वटा होम गर्ने शुभ साइत रहेका छन् । पौष महिनामा २,३, ७, १०, १२, १३, १५, १७, १९, २१, २३, २४, २५, २७ र २९ गते शुभ साइतहरू छन् । त्यसै गरी, माघ महिनामा ४, ६, ८, १०, १२, १४, १६, १८, २०, २३, २५ र २७ गते होम गर्ने साइतहरू छन् । वर्षको अन्त तिर आइपुग्दा फागुनमा २,४, ६, ७, १०, १२, १५, १८, २o, २१, २३, २५ र २९ गते तथा चैत्रमा १,३, ६,९ र १२ गते होम गर्ने शुभ साइत रहेका छन् ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले जारी गरेको सूचना अनुसार २०७९ सालको दर्शैंको टिका असोज १९ गते परेको छ । १० असोजमा घटस्थापना, १६ गते फूलपाती, १७ गते महाअष्टमी, १८ गते महा नवमी र १९ गते विजया दशमी परेको छ । त्यसै गरि तिहारको महत्वपुर्ण दिनहरू को कुरा गर्दा खेर भाइ टीकाको साइत कार्तिकको १० गते जुरेको छ । भने यस बर्षको कुकुर तिहार र लक्ष्मी पूजा (गाई तिहार) कात्तिकको ७ गते परेको छ । गाई तिहार वा लक्ष्मी पूजाकै दिन सूर्य ग्रहण पनि लाग्नेछ ।
९ गतेको दिन गोवर्द्धन पूजा र म्हः पूजा परेको छ । नेपालमा मनाइने अरु महत्वपूर्ण दिनहरूकोबारेमा कुरा गर्दा बैसाख १७ गते मातृ सम्मान दिवस अर्थात् माता तीर्थ औंसी परेको छ । वैशाख शुक्ल पक्षको तृतीया तिथिमा मनाइने अक्षय तृतीया वैशाख महिनाको २० गते परेको छ। महात्मा बुद्धको त्रि-संयोग अर्थात् जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाणको पावन तिथि बुद्ध जयन्ती जेष्ठ २० गते परेको छ । भगवान् श्री शंकरका ज्येष्ठ सुपुत्र ६ वटा मुख भएका मयूरवाहन देवसेनापति स्वामी कार्तिकेयको जन्म अर्थात् सिठी नखः ज्येष्ठ महिनाको शुक्लपक्षको षष्ठी तिथि वा जेष्ठ महिनाको २२ गते परेको छ ।
हिन्दु धर्मालम्बीहरुले घर-घरमा श्री हरि नारायण भगवानको व्रत वा उपवास बस्ने, र कथा श्रवण गर्नुका साथै तुलसीको रोपण समेत गर्ने दिन अर्थात् हरिशयनी वा देवशयनी एकादशी असार को २६ गते रहेको छ । आषाढ शुक्लपक्षको पूर्णिमाको दिन पर्ने गुरु पूर्णिमा यो पाली असारको २९ गते रहेको छ । वासुकि, पद्म, महापद्मा, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी नागका आठ वा अष्टकुल नागको पूजा गरी मूल ढोकामाथि नागको चित्र टाँस्ने दिन वा नागपञ्चमी यो बर्ष साउनको १७ गते परेको छ । वैदिक सनातन वर्णाश्रम धर्म मान्ने ब्राह्मण तागाधारीहरूले धर्मशास्त्रोक्त विधिले श्रावणी कर्म गर्ने दिन वा जनै पूर्णिमा यस बर्ष साउन महिनाको २७ गते परेको छ । श्री कृष्ण, जगतका गुरु परमात्मा, भगवान श्री कृष्णका जन्म दिन अर्थात् श्री कृष्ण जन्माष्टमी भदौको ३ गते परेको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो, इन्द्रजात्रा, र यो 6. जात्रा भदौको २४ गते परेको छ ।
नयाँ धानको पिठोमा चाकु, खुवा, मास, अदुवा, तिल लगायतका विभिन्न मसला राखी त्रिकोण आकारको लाम्चो वा शंखजस्तै आकारको योमरी बनाई भूमि , कुलदेवता र इष्टदेव-देवीलाई चढाएर प्रसादका रूपमा खाने र पाहुनाहरूलाई बाड्ने दिन योमरी पुर्णे मंगसिर २२ गते परेको छ । नेपालको उत्तरी भेगमा बसोबास गर्ने शेर्पा, ह्योल्मो, गुरुङ, तामाङ तथा टिबेटियनलगायत बौद्ध धर्म मान्ने समुदायले मनाउने तमु लोसार यस पाली पौष को १५ गते परेको छ भने प्रभु येशु ख्रिष्टको जन्मको स्मरणार्थ मनाइने क्रिश्चियनहरूको वार्षिक उत्सव र सांस्कृतिक चाड क्रिसमस पौष १० गते परेको छ ।
सूर्यनारायण एक राशि पार गरी अर्को राशिमा प्रवेश गर्दै गर्दा वा प्रवेशकालबाट नजिकको निश्चित समय वा मकर संक्रान्ति अर्थात् माघे सक्रान्ति सधै झैं माघ को १ गते परेको छ र नेपालमा रहेका विभिन्न समुदायहरू मध्येका एक तामाङ जातीय समूहको एक महत्त्वपूर्ण पर्वको रुपमा रहेको सोनाम ल्होसार माघको ८ गते परेको छ। करोडौं सूर्यसमान कान्ति भएका ज्योतिर्लिंग स्वरूप भगवान शिव उत्पत्ति हुनुभएको दिन अर्थात् शिव रात्री फागुन को ६ गते परेको छ। रंग हरूको उत्सव अर्थात् फागु पुर्णिमा फागुन को २२ गते परेको छ ।
वर्षको अन्तिम महिना चैत्रमा ७ गते घोडे जात्रा परेको छ भने यहि महिनामा पर्ने नवरात्रि जसलाई चैते दसैं लगायत वासन्ती नवरात्र पनि भनिन्छ यो पर्व चैत्र को १५ गते परेको छ । –नेपाली पात्रोबाट








