सेनिटरी प्याडलाई विस्थापित गर्दै मेन्स्ट्रुअल कप, कसरी प्रयोग गर्ने ?

महिनावारीको समयमा प्रयोग गर्ने मेन्स्ट्रुअल कपको प्रोटोटाइप पहिलोपटक १९३० को दशकमा बाहिर आएको थियो । कपको पेटेन्टको आवेदन १९३७ मा अमेरिकी अभिनेत्री लियोना चामर्सले गरेकी थिइन् ।

पछिल्लो केही वर्षमा मेन्स्ट्रुअल कपको आधुनिक र उन्नत संस्करण आइसकेको छ ।

सिलिकन, रबर वा लेटेक्सबाट बनेको सानो कपको आकारको यो वस्तुले महिलाको जीवनमा बिस्तारै सहजता ल्याउँदै गएको छ । यसले सेनेटरी प्याडले ओगटेको ठाउँलाई आफ्नो नाममा सार्दै गएको छ । सेनेटरी प्याडलाई विस्थापित गर्न सक्ने कारण यो छ कि, प्याड पुनः प्रयोग गर्न मिल्दैन । तर मेन्स्ट्रुअल कप पटकपटक प्रयोग गर्न मिल्छ र यो टिकाउ पनि छ । यो कप महिलाको यौनाङ्गलाई कुनै हानी नपुर्याउने लचिलो पदार्थबाट बनेको हुन्छ ।

ब्राजिलको साओ पाउलोको एक अस्पतालकी स्त्रीरोग विशेषज्ञ अलेक्जेन्ड्रे पुपो यसबारे अझ विस्तृतमा बताउँछिन् ।

उनी भन्छिन्, ‘जसले पनि मेन्स्ट्रुअल कप प्रयोग गर्छन् उनीहरूले आफ्नो लुगामा यसको प्रयोगको कुनै संकेत समेत नदेखिने भएर यो असाध्यै उपयोगी भएको बताउँछन् । साथै यसले ट्याम्पोन जस्तो अनावश्यक तत्वको उत्पादन पनि गर्दैन । यो कप विभिन्न आकारमा उपलब्ध हुन्छ । यसको लम्बाइ ४ देखि ६ सेन्टिमिटरसम्म हुन्छ । यसको माथिल्लो भागको चौडाई ३ देखि ५ सेन्टिमिटरसम्म हुन्छ । ठूलो आकारको कपको आवश्यकता विशेष गरी धेरै रक्तस्राव हुने महिलाको लागि हुन्छ ।’ सफा र सुरक्षित उपयोगको सन्दर्भमा चिकित्सक यो उत्पादन प्रयोग एकदम सुरक्षित छ र एउटा कपलाई १० वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

मेन्स्ट्रुअल कपसँग जोडिएका केही जिज्ञासा र त्यसको उत्तरलाई यसरी व्याख्या गर्न सकिन्छ ।

मेन्स्ट्रुअल कपको प्रयोग कसरी गर्ने ?
महिनावारी भएको महिलाको यौनाङ्गमा यो कपलाई बिस्तारै राख्न सकिन्छ । कप लचिलो भएकोले आवश्यकता अनुसार यसलाई घुमाउन वा मोड्न सकिन्छ । ब्राजिलको एक अस्पताल पोर्टो एलेग्रेकी एक स्त्री रोग विशेषज्ञ ग्रेबिएला गेलिना भन्छिन्, ‘ट्वाइलेट अथवा आफ्नो बेडरुममा बसेर सजिलो सँग बसेर कप प्रयोग गर्न सकिन्छ । यदि यौनाङ्ग धेरै सुक्खा छ भने प्रयोगमा समस्या हुन सक्छ । त्यसका लागि लुब्रिकेन्टको प्रयोग गर्न सकिन्छ । पहिलोपटक प्रयोग गर्नेहरूको लागि यो असहज पनि हुनसक्छ । यो कपको काम रक्तस्राव सोस्नु हाेइन । यसको काम रगतलाई जम्मा गर्नु हो । त्यसैले यसलाई एडजस्ट गर्नको लागि केही घुमाउनु आवश्यक हुन्छ । यसरी एडजस्ट गरेको कपलाई १२ घण्टासम्म प्रयोग गर्न सकिन्छ । यदि कसैलाई रक्तस्राव धेरै हुन्छ भने पनि यसले ५ घण्टासम्म काम गर्छ । यसलाई निकाल्न पनि सजिलो हुन्छ । दुईतीन पटक प्रयोग नगर्दासम्म सजिलो नहुने भएकाले अभ्यासको लागि महिनावारी नभएको बेलामा पनि यो मप प्रयोग गरेर हेर्न सकिन्छ ।’

मेन्स्ट्रुअल कपलाई कसरी सफा गर्ने ?
पहिलोपटक प्रयोगपछि कपलाई तातो पानीमा ५ मिनेटसम्म उमालेर सफा गर्नुपर्छ । कुनैकुनै कम्पनीले त यसका लागि छुट्टै कन्टेनर पनि उपलब्ध गराउँछ । महिनावारी चलिरहँदा यसलाई बेलाबेलामा पानी र साबुनले धुनुपर्छ । जब महिनावारी सकिन्छ त्यसपछि यसलाई उमालेर राख्नुपर्छ । उमालेर राखेको कपलाई कपडाको थैलोमा बन्द गरेर राख्नुपर्छ । फेरि एक महिनापछि उमालेर मात्रै प्रयोग गर्नुपर्छ ।

के मेन्स्ट्रुअल कपले स्वास्थ्यमा कुनै हानी पुर्याउछ ?
राम्रोसँग सफा गरेपछि मेन्स्ट्रुअल कपको प्रयोग गर्नु अति सुरक्षित हुन्छ । तर कपलाई राम्रोसँग सफा गरेको छैन भने यसको प्रयोगले संक्रमण हुने खतरा पनि उच्च नै हुन्छ । गेलिना भन्छिन्, ‘यदि यौनाङ्गको सुक्ष्म ब्याक्टेरिया कपमा बाँकी रहेमा यसले संक्रमण हुन सक्छ । जसले गर्दा केन्डिडिअसिस र भेजिनोसि जस्ता समस्याहरू देखिन सक्छ । जसलाई कण्डोमको एलर्जी छ, उसले लेटेक्स फ्री कप प्रयोग गर्नुपर्छ ।

मेन्स्ट्रुअल कप लगाएको बेलामा के गर्नुहुन्छ के गर्नु हुँदैन ?
मेन्स्ट्रुअल कप लगाएर पिसाब गर्नलाई कुनै समस्या हुँदैन । यदि दबाब र पिसाब गर्न असहज भइरहेको छ भने कप लगाएको मिलेको छैन भनेर बुझ्नुपर्छ । यदि कोही महिलाले बच्चा गर्भमा नबसोस् भन्नका लागि आईयूडी र कपर टी लगाएको छ भने पनि यो कप प्रयोग गर्न सकिन्छ । किनभने यी दुई प्रयोग गर्ने ठाउँ फरक फरक हुन्छ । यदि यसबारे बुझ्न सकिएन भने यो प्रयोग गर्नु ठिक छैन भन्ने लाग्न सक्छ । शारिरीक सम्बन्ध राख्दा भने कपलाई निकाल्नुपर्छ । अविवाहित र विवाहितको लागि फरक कप पनि बजारमा उपलब्ध हुन्छ । अविवाहित महिलाले आफ्नो लागि सबैभन्दा उपयोगी कप छानेर प्रयोग गर्न सक्छन् । यसको बारेमा बहस कम हुने भएकाले धेरै महिला कपको प्रयोग र आवश्यकता अझैसम्म पनि अनभिज्ञ छन् ।

मेन्स्ट्रुअल कप प्रयोग को फाइदा र बेफाइदाहरू के के छन् ?
विज्ञका अनुसार मेन्स्ट्रुअल कपको सबैभन्दा महत्वपूर्ण फाइदा नै यसमा रहेको स्थायित्व हो । एक महिला आफ्नो जीवनभर जम्मा ४५० पटक महिनावारी हुन्छिन् । यसको अर्थ एक महिलाले आफ्नो जीवनभर करिव ७२ हजार सेनिटरी प्याडको प्रयोग गर्छिन् । सेनेटरी प्याडको नष्ट गर्ने समस्या पनि अहिले प्रमुख रूपमा देखिएको छ । वातावरण प्रदूषणमा सेनेटरी प्याडले समेत भूमिका खेलेको छ । तर मेन्स्ट्रुअल कप १० वर्षसम्म प्रयोग गर्न सकिन्छ । कप किनिरहनु पर्ने समस्या हुँदैन । यो धेरै किनिरहनु नपर्ने भएकोले यसलाई व्यवस्थापन गर्न पनि गाह्रो हुँदैन । अर्को फाइदा भनेको यसको प्रयोगले महिनावारीमा कपडामा दाग लाग्ने समस्या पूर्ण रूपमा समाधान हुन्छ र गन्हाउँदैन । यसको नकारात्मक पक्ष भनेको सबै महिलाले सजिलै प्रयोग गर्न सक्ने भने यो कप छैन । जसले जानेको छैन उसले अनावश्यक झन्झट झेल्नुपर्छ । –बिबिसी हिन्दीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *