प्रदेश १ मा गठबन्धन तालमेलमा सकस, सुनसरीमा मित्रवत् प्रतिस्पर्धा हुने

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनमा सुनसरीमा ५ दलका बिचमा चुनावी गठबन्धन नहुने भएको छ ।

गठबन्धन गरेर जानसक्ने स्थिति नभएका कारण निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गरेर जाने भन्ने सहमति भएको हो ।

नेपाली कांग्रेसका एक नेताका अनुसार सुनसरीमा कांग्रेस बलियो पार्टी भएपनि गठबन्धनमा रहेका अन्य पार्टीहरूले धेरै धन्दा धेरै पालिकामा मेयर उप मेयरको दावी गरेका कारण गठबन्धन गरेर जाने अवस्था नआएको बताए ।

ती नेताका अनुसार कांग्रेस बाहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, र राष्ट्रिय जनमोर्चाले ९ वटा पालिकामा मेयर तथा अध्यक्षको दावी गरेका छन् । जिल्लामा रहेका १२ वटा पालिकामा मध्ये ९ वटामा अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले प्रमुख पद जितेको थियो । एउटा पालिकामा मात्र जनता समाजवादी पार्टीले जितेको थियो ।

आफूले जितेको जति नै पालिकाको प्रमुख पदमा दावी गरेका कारण गठबन्धन गर्न नसकिने अवस्था आएको ती नेताले बताए । उनका अनुसार गठबन्धनमा रहेका अन्य दलले १ सय ३४ वटा वडामा वडाअध्यक्ष दावी गरेका छन् । सुनसरीमा १ सय २४ वटा वडा रहेका छन् । यस्तो अबस्थामा भएको वडाभन्दा धेरै दाबी गठबन्धनभित्रका दलले माग गरेका छन् ।

चैत्र २३ गते ५ गठबन्धनको वैठकले निर्वाचनका बारेमा वस्तु परक विश्लेषण गरि प्रतिवेदन बुझाउन पाँच सदस्यीय कार्यदल बनेको थियो । कार्यदलले बुझाएको प्रतिवेदनमा वस्तुगत विश्लेषण नभइ आ–आफ्नो दावी भएको कांग्रेस स्रोतले जनाएको छ । स्राेतका अनुसार जनमत नभएपनि अनावश्यक रूपमा माग दावी भएकाले गठबन्धन हुन सक्ने अवस्था नरहेको कांग्रेसको निष्कर्ष छ ।

चैत्र २३ गते आसन्न निर्वाचनमा गठबन्धन गरेर जानका लागि नेपाली कांग्रेसका सचिव विरेन्द्र साह, नेकपा माओवादी केन्द्रबाट मुक्साहाङ मेन्याङ्वो, एकीकृत समाजवादीबाट वसन्त सुवेदी, जनता समाजवादी पार्टीबाट प्रदीप कार्की र राष्ट्रिय जनमोर्चा हरिलाल अधिकारीको कार्यदल बनेको थियो ।

कार्यदलमा ४ दलले धेरै भन्दा धेरै पद माग गरेको कांग्रेस जिल्ला सचिव विरेन्द्र साहाले बताए । उनले प्रतिवेदन जस्ताको तस्तै केन्द्रमा आज पठाएको बताए । ‘हामी अझै पनि छलफलमै रहेका छौ’, उनले भने, ‘केन्द्रको निर्णय अझै पर्खिएर बसेका छौँ ।’

यस्तै, समस्या मोरङमा पनि देखिएको छ । चार दल बिचमा बनेको कार्यदलले कुनै निष्कर्ष निकाल्न नसकेपछि जिल्ला पार्टीलाई नै जिम्मा दिएको छ । कांग्रेसले २०७४ सालको स्थानीय तहमा मोरङको बिराटनगर महानगरपालिका सहित १० वटा पालिकामा प्रमुख पद जितेको थियो । ६ वटा उप्रमुख जितेको कांग्रेस आफूले जितेको पालिका आफैँले पाउनुपर्ने बताएका छन् ।

माओवादीले जितेको रंगेली र जसपाले जितेको जहदा हो भने बाँकी पालिकाको प्रमुख एमालेले जितेको थियो । रंगेलीका मेयर र उपमेयर नै एमालेमा प्रवेश गरेपछि त्यो पालिका पनि गठबन्धन भित्र माओवादीलाई दिने वा कांग्रेसले लिने भन्नेमा बिवादमा छ । गठबन्धन दलभित्रको नेकपा माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीले प्याकेजमा सहमती हुनुपर्ने बताउँदै आएका छन् भने नेपाली कांग्रेस जितेको पालिका छाड्ने पक्षमा देखिएको छैन ।

माओवादी, नेकपा एसले तीन तीनवटा पालिका दाबी गर्दा जनता समाजवादीले दूईवटा पालिका दाबी गरेर अरु पालिका कांग्रेसले लिनु पर्ने पक्षमा कांग्रेस बाहेकका दलहरू देखिएका छन् ।

नेपाली कांग्रेस प्रदेश १ समितिले धेरै जिल्लामा गठबन्धन दलहरूका बिचमा पालिका बाँडफाँडमा कुरा नमिलेको जनाएको छ । प्रदेश १ सभापति उद्धव थापाले मोरङ, सुनसरी, झापा, ईलाम बढी समस्या देखिएको बताए । ‘अहिले पनि गठबन्धनका बिचमा आन्तरिक छलफलहरू भईरहेका छन्’, सभापति थापाले भने, ‘केन्द्रमा नीति, मापदण्ड बन्यो त्यो तल कार्यान्वायन गर्न भनियो तर मापदण्ड बाहिर गएर गठबन्धनका साथीहरूबाट बढी बार्गेनिङ भएको छ ।’ गठबन्धनभित्रका दलहरूले आज प्रदेश र केन्द्रीय समितिमा नाम सिफारिस गर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *