मोरङमा पालिका बाँडफाँडमा गठबन्धन भित्र कुरा मिलेन

विराटनगर । १७ वटा पालिका रहेको मोरङ जिल्लामा गठबन्धनभित्रका दलहरू बिचमा पालिका बाँडफाँडमा अझै कुरा मिल्न सकेको छैन ।

मोरङमा गठबन्धन भित्रका कार्यदलबिच सहमति हुन नसक्दा तीन दिनदेखिको बैठक निष्कर्षविहीन भएको छ । शुक्रबार साँझसम्म छलफल गरेर निष्कर्षमा पुग्ने भनिएको भएपनि कुनै निष्कर्ष स्क्किन नसकेर शनिवारलाई बैठक बोलाइएको थियो ।

शनिवार दिउँसो बसेको बैठकले पनि पालिका बाँडफाँडमा कुरा मिलाउन सकेन । कुरा नमिल्दा बैठकले कुनै निष्कर्ष निकाल्नै सकेन । पालिका बाँडफाँडमा सहमति जुट्न नसकेपछि कार्यदलले जिल्ला पार्टीहरूलाई नै सहमति गर्न भनेको छ ।

चार दिन अघि बनेको मोरङ जिल्ला स्तरीय कार्यदललाई दलहरूले पालिका बाँडफाँड सहितको अधिकार दिएको थियो । नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझी, नेकपा एकीकृत समाजवादीका डा. उद्धव पोखरेल, नेकपा माओवादी केन्द्रका संयोजक विजय विस्वास र जसपाका अध्यक्ष राजकुमार यादव रहेको मोरङ जिल्ला स्तरीय कार्यदल बनाएको थियो । कार्यदल भित्र कुरा नमिल्दा फेरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिनेगरि सहमति बनेको कार्यदलका सदस्य माझीले बताए ।

केन्द्रको निर्देशनअनुसार सहमति गर्न खोजिएपनि त्यो अनुसार अरु दलहरूले प्याकेजमा पालिका खोजेपछि सहमति नबनेको उनको भनाई छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको पालिकाहरूमा कांग्रेसले नछाड्ने अडान लिएको छ । केन्द्रीय निर्देशन अनुसार यसअघि जितेको पालिका सम्बन्धित पार्टीलाई नै उम्मेदवार बनाउने भनिएको कांग्रेसको दाबी छ ।

जसपाका जिल्ला अध्यक्ष राजकुमार यादवले तीनदिनदेखिको छलफलबाट कुनै निष्कर्ष ननिस्किएको बताए । ‘नेपाली कांग्रेस जितेको ठाउँमा नछाड्ने पक्षमा छ, उनले भने, एमालेले जितेको ठाउँमा मात्र बाँडफाँड गर्ने भन्ने कुराले सहमतिको वातावरण बनेन ।’ कांग्रेस बाहेक माओवादी, जसपा र नेकपा एस प्याकेजमा सहमति खोजेर जानुपर्ने पक्षमा छन् । प्याकेजमा सहमति गरेर नजाने हो भने कुरा मिल्नै नसक्ने ती दलका नेताको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *