नेपालको विकासमा जापान सरकारको सहयोग महत्वपूर्ण छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताएका छन् । काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान) को ४८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खड्काले ठूलो सहयोगदातामध्ये जापानले नेपाललाई शर्त बिनानै सहयोग गरिरहेको बताए ।
विपद् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको जानकारी दिँदै मन्त्री खड्काले त्यहाँको विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा जोड दिए । नेपाल-जापानबीच सन् १९५६ मा सम्बन्ध स्थापित भए पनि त्यसको दुई वर्षअघिदेखि नेपाललाई सहयोग गर्दै आइरहेको उनले जानकारी गराए । सुरुवाती चरणमा जापानले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै समृद्ध मुलुक बन्न सफल जापानको क्रियाकलाप नेपालका लागि अनुशरण गर्न लायक रहेको मन्त्री खड्काले बताए ।
खडकाले अल्मुनाइसँग आबद्ध प्रतिनिधिलाई जापानमा सिकेको ज्ञान, सीप र क्षमताको भरपुर सदुपयोग गर्नसमेत आग्रह गरे । मन्त्री खड्काले भने, “तपाईहरु नेपालका लागि बौद्धिक सम्पत्ति हुनुहुन्छ, आर्थिक, सामाजिक तथा सांस्कृतिक राजदूत पनि हुनुहुन्छ, त्यसको सदुपयोग गर्नुपर्छ ।” उनले चाखलाग्दो इतिहास बोकेको जापानबाट धेरै कुरा सिक्न सकिने पनि बताए ।
एशोसिएशन जापानमा अध्ययन भ्रमण, तालिममा सहभागी भएर फर्किएका नेपालीहरुको संस्था हो । यसले नेपाल जापानको मित्रतालाई सुदृढ र विकासमा योगदान पु¥याउँदै आएको छ । सन् १९७३ मा स्थापना भएको एशोसिएशनमा जापानमा कार्यरत एक हजार ३०० नेपाली सदस्य छन् । एशोसिएशनले भ्रमणमा जाने नेपालीलाई अनुशिक्षण कार्यक्रम सञ्चालनदेखि ललितपुर सिन्धुपाल्चोकलगायत विभिन्न क्षेत्रमा कृषि, शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । एशोसिएशनद्वारा प्रकाशित मिलन पत्रिका विमोचन गरिएको सो कार्यक्रममा एशोसिएशनका अध्यक्ष रामचन्द्र भूसाल, उपाध्यक्ष केदार पौडेल, महासचिव शान्तिलक्ष्मी शाक्य, नेपालका लागि जापानी राजदुत किकुता युताकालगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।









