गठबन्धन संयन्त्रको बैठक बिना निष्कर्ष टुंगियो

विराटनगर । मोरङमा चार दलीय गठबन्धन बिचको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

भागबण्डा मिलाउन प्रयास गर्दापनि दलहरूले आफ्नो बटमलाईन नछाडेपछि सहमति जुट्न नसकेको हो । दलहरूको बिचमा भागबण्डा मिल्न नसक्दा संयन्त्रको बैठक छलफलमै सीमित भएको छ ।

नेकपा माओवादीले नेपाली कांग्रेसले जितेको ठाउँहरूपनि दाबी गरेपछि छलफल टुंगोमा पुग्न नसकेको हो । गठबन्धन दलहरूको बैठकले जिल्लामा पालिका र उम्मेदवार टुंगो लगाउन संयन्त्र बनाएको छ ।

संयन्त्रमा कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझी, एकीकृत समाजवादीका डा उद्धव पोखरेल, जनता समाजवादी पार्टीका राजकुमार यादव र माओवादी केन्द्रका विजय विश्वास छन् । यी चारैजना नेताहरूको बिचमा छलफल भएपनि कुनै टुंगो लाग्न नसकेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा जसपाले विराटनगर महानगरपालिकाको उपप्रमुख सहित जहदा, धनपालथान, ग्रामथान र कटहरी गाउँपालिका मागेको छ । यसअघि जसपाले जहदामा मात्र प्रमुख र उपप्रमुख जितेको थियो । कांग्रेसले जितेको कटहरी, धनपाल र सुनबर्षी पनि जसपाले दाबी गरेपछि बैठकमा सहमती जुट्न सकेन । त्यस्तै माओवादीले रंगेली, उर्लावारी सहित रतुवामाईपनि पाउनु पर्ने अडान राखेको छ । बेलवारी र सुन्दरहरैँचा मध्ये एकपनि पाउनु पर्ने भन्दै आएको छ । माओवादी केन्द्रले ६ वटा पालिकामा दाबी गरेको छ ।

बैठकमा नेपाली कांग्रेसले ११ वटा पालिकामा दाबी गरेको छ । नेकपा एकिकृत समाजवादी पार्टीले पथरीशनिश्चरे, उर्लाबारी मध्ये एउटा पालिका पाउनुपर्ने दाबी गरेको छ, त्यस्तै एमालेले जितेका पालिकाहरू पनि आफुहरूले पाउनु पर्ने दाबी छाडेको छैन । नेकपा एकीकृत समाजवादीले ३ मेयर र ४ उपमेयर दाबी गरिरहेको छ । ‘सबैको आफ्नो बटम लाईन छ’, बैठकमा सहभागी एक नेताले भने, ‘कांग्रेसले जितेको ठाउँ छाड्न चाहेको छैन, अरु पालिकामा पनि कांग्रेसले नछाड्दा विषय टुंगिन सकेन ।’

दिनभरी छलफल गर्दा पनि टुंगोमा पुग्न नसकेको बैठक भोलिलाई बोलइएको छ । बैठक बिहान १० बजे बस्नेगरि स्थगित भएको नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *