लयमा फर्किँदै पर्यटन, नयाँ वर्षमा खचाखच पर्यटकीय गन्तव्य

काठमाडौँ । नयाँ वर्षसँगै नेपालको पर्यटन क्षेत्र लयमा फर्किने सुखद संकेत देखिएको छ । कोभिड महामारी कालमा खुम्चिएर बस्न बाध्य नेपाली र विदेशी पर्यटकसमेत अहिले नयाँ वर्षको अवसर पारेर विभिन्न गन्तव्यमा भ्रमणका लागि निस्किएका छन् । होटल, रिसोर्ट, रेस्टुरेन्ट, पार्क, संग्राहलयलगायत हरेकजसो पर्यटकीय गन्तव्यमा पर्यटकको भीड दिएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले पनि पर्यटक बढेको मकालुखबरलाई बताए । ‘आन्तरिक र बाह्य पर्यटकले हरेक जसो पर्यटकीय गन्तव्य खचाखच भएको देखेको छु, होटलहरु शत प्रतिशत अकुपाइ भएका छन्,’ उनले भने, ‘अहिले म मार्दी हिमालको बसे क्याम्पमा छु, यहाँ पनि आन्तरिकका साथै विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य देखिएको छ । पोखरा, धरान, काठमाडौँ उपत्यका जस्ता सबै गन्तव्यहरूमा पर्यटकको सङ्ख्या बढेको जानकारी मैले पाएको छु ।’

सीईओ रेग्मीका आन्तरिक पर्यटक शतप्रतिशत भन्दा पनि बढीले बढेका छन् । हवाई मार्गबाट नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकको सङ्ख्यामा पनि गत मार्च महिनासम्ममा ४५ प्रतिशत सुधार आइसकेको उनले बताए । अर्थात् कोरोना काल भन्दा अघि आउने पर्यटकको सङ्ख्याको तुलनामा ४५ प्रतिशत पर्यटक भित्रिन थालेको उनको भनाई छ । भारतलगायत देशबाट आउने पर्यटकको सङ्ख्यामा ९८ प्रतिशत सुधार आइसकेको छ । यसबाहेक नेपालको तराई क्षेत्रमा भारतबाट सडक मार्गबाट आउने पर्यटकको सङ्ख्यामा शतप्रतिशत नै सुधार आइसकेको उनको भनाइ छ ।

नेपालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्नुमा विभिन्न कारण देखिएका छन् । पहिलो त अन्तर्राष्ट्रिय गन्तव्यहरू असहज बन्नु हो । कोरोना कालअघि नेपालीहरू नयाँ वर्ष, दसैँलगायत ठूला चाड र छुट्टीको समयमा विदेश घुम्न सहज रूपमा जाने गरेका थिए । तर, अहिले कोरोनाको असरका कारण अझै पनि केही देशले मापदण्डमा कडाइ गरिरहेका छन् ।

नेपालमा आएको विदेशी मुद्रा सञ्चिति(डलर सञ्चिति)को कमीले विदेश भ्रमणमा जान डलर सटहीको सुविधाको सीमा राष्ट्र बैंकले घटाएको छ । कतिपय अवस्थामा घुम्न जान डलर नै नपाइने अवस्था छ । यसले पनि नेपालीलाई देशभित्रै घुम्न बाध्य बनाएको छ । २ वर्षसम्म खुम्चिएर बसेकाहरू अहिले घुम्न चाहिरहेका छन् ।

पर्यटन प्रबद्र्धनका लागि सम्बद्ध सरोकारवाला निकाय र संस्थाले अभियानको रूपमा अघि बढाएको आन्तरिक पर्यटन प्रबद्र्धनका कार्यले पनि पर्यटकको सङ्ख्या बढाएको नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले बताए । ‘पर्यटन सम्बद्ध हामी संघ संस्थाहरूले गरेको अभियानले पनि देशमा मेला, महोत्सव, सांस्कृतिक कार्यक्रमहरूको आयोजना हुन थालेकोले पनि आन्तरिक पर्यटन बढाउन सघाएको छ,’ उनले भने ।

काठमाडौँ उपत्यकाकारभित्रै २ वर्षदेखि रोकिएका मेला महोत्सवहरू बल्ल सुचारु हुन थालेका छन् । पर्यटकीय क्षेत्र ठमेलमा रात्रिकालीन व्यवसाय खुला गरिएको छ । भृकुटी मण्डपमा वैशाख ७ गतेदेखि क्यान इन्फाेटेक हुँदै छ भने दरबारमार्ग महोत्सव वैशाख ३ गते शनिबार हुँदैछ । यस्ता मेला प्रदर्शनी र महोत्सवले आन्तरिकका साथै बाह्य पर्यटकको सङ्ख्या बढाउँछ ।

नेपालमा खास गरी हिमाल आरोहणको सिजन आउँदै गरेकोले यो वर्ष विदेशी पर्यटकको सङ्ख्या अझ बढ्ने पर्यटन बोर्डका सीईओ रेग्मीको भनाइ छ । विदेशी पर्यटकको सङ्ख्या बढ्दा नेपालमा विदेशी विनियम सञ्चितिसमेत बढाउने देखिन्छ । तर, विदेशी पर्यटकलाई पनि बैंकिङ च्यानलमै डलर जम्मा हुने गरी खर्च गर्न सक्ने व्यवस्था गर्नुपर्ने पर्यटन बोर्डका सीईओ रेग्मी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *