कैलालीमा सुरक्षा समितिद्वारा मतदानस्थलको अनुगमन गरिँदै

धनगढी । जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदान स्थलको अनुगमन निरीक्षण कार्य गर्ने कार्यलाई अगाडि बढाएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदान स्थलको अनुगमन निरीक्षण गर्न थालिएको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका विभिन्न स्थानीय तहमा निर्धारण गरिएका मतदान स्थल तथा केन्द्रहरूको अनुमन कार्यलाई तीव्रता दिएको हो ।

जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी किरण थापाले कैलालीको हाइवे क्षेत्र, मोहन्याल, चुरेलगायतका निर्वाचन क्षेत्रहरूको अनुमन निरीक्षण गरिसकिएको बताए ।

मतदान स्थलमा सुरक्षा संवेदनशिलता, निर्वाचनको समयमा अपनाउनुपर्ने सुरक्षा नीति, मतदाता, उम्मेदवार र पतपेटीकाको सुरक्षाका सम्बन्धमा स्थलगत अध्ययन भइरहको उनले बताए । कुन मतदान स्थलमा कति सुरक्षाकर्मी परिचालन गर्ने भन्ने विषयमा सुरक्षा निकायसंग समन्वय गरेर जिल्लाका विभिन्न स्थानमा अनुगमन भइरहेको उनले बताए । उनका अनुसार जिल्लाका अधिकांश मतदान स्थल विद्यालयमा नै तोकिएका छन् ।

जिल्ला सुरक्षा समितिले मतदान स्थल पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिइएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए । उनले प्रायः एउटा मतदान स्थलमा दुईवटा मतदान केन्द्र राखिएको जानकारी दिए ।

साथै सुरक्षा समितिले अनुमगन गरिएको क्षेत्रमध्ये चुरे क्षेत्रको मतगणनाका लागि गाउँपालिकाको कार्यालयलाई तोकिएको छ । सुरक्षा अवस्था र फराकिलो ठाउँ भएकाले गाउँपालिकाको कार्यालय भवनमा मतगणना गरिने व्यवस्था मिलाइएको निर्वाचन अधिकारी भट्टले बताए । उनले टोलीले त्यहाँको अवस्थाबारे पनि जानकारी लिएको बताए । उनका अनुसार यसभन्दा अघिल्लो चुनावमा चुरे गाउँपालिकाको मतगणना निगालीको अलाडमा भन्ने ठाउँमा गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार जिल्लामा ५ लाख २५ हजार १ सय २५ जना मतदाता संख्या रहेको कैलालीमा २ सय ३६ मतदान स्थल र ६ सय १९ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमा अतिसंवेदनशिलमा ५२, संवेदनशिल ५३ र १ सय ३१ सामान्य मतदान स्थलमा बर्गिकरण गरिएको छ ।

निर्वाचन मतदान स्थल अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी थापा र निर्वाचन अधिकारी भट्टसहित, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *