साहित्यकार सुवाशले द्वन्द्वपीडित बालबालिकासँग मनाए जन्माेत्सव

काठमाडाैँ । साहित्यकार सुवाश जमरकट्टेलले द्वन्द्वपीडित बालबालिकाहरूसँग आफ्नाे जन्माेत्सव मनाएका छन् । अहिलेको विकसित समाजमा जन्मदिन मनाउने निहुँमा फजुल खर्च गर्ने बानी बढेकाे भन्दै सुवाशले द्वन्द्वपीडित बालबालिकाहरूलाई शैक्षिक सामग्रीसहित नगद १५ हजार रुपैयाँ हस्तान्तरण गरेर जन्माेत्सव मनाएका हुन् ।
१० वर्षे सशस्त्र माओवादी जनयुद्धबाट शहीद बनेका, घाइते भएका र अपाङ्ग भएकाहरूका बालबालिकालाई संरक्षण गर्ने उद्देश्यले सञ्चालित बालआश्रम पुगेर सुवाशले आफ्नाे जन्माेत्सव मनाएका हुन् । माओवादी केन्द्र, साेलुखुम्बुका नेतासमेत रहेका सुवाशले नगद र शैक्षिक सामग्री हस्तान्तरण गरेपछि बालबालिकाहरूसँग खुसी साटे ।
माओवादी जनयुद्धका बटालियन कमान्डर प्रतीकले द्वन्द्वपीडित बालबालिकाहरूकाे संरक्षण गर्ने मनसायले एकीकृत सृजनशील समाज बालआश्रम सञ्चालनमा ल्याएका छन् । सुवाशले त्यहीँ पुगेर आफ्नाे जन्माेत्सव मनाएका हुन् । त्यसक्रममा प्रतीकले भनेका छन्, ‘मसँगैका धेरै साथीहरू शहीद हुनुभयाे । कति अहिले सरकारको उच्च तहमा पुगेका छन् । त्यसाे हुँदा पनि मैले भने सरकारी सेवासुविधा नराेजी यी अनाथ बालबालिकाहरूकाे हेरचाह र संरक्षण गर्ने उद्देश्यले बालआश्रम खाेलेँ । यसमा खुसी छु ।’
७ वर्षअगाडि खाेलिएकाे उक्त बालआश्रममा रहेका बालबालिकाहरूले यूकेजीदेखि स्नातक तहसम्ममा अध्ययन गर्छन् ।










