सरकार र गभर्नरबीच संसारभर नै टसल हुन्छ : पूर्व गभर्नर नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् । उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुने पनि विश्वास दिलाए ।

‘अहिले जुन रुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन,’ उनले भने, ‘अहिलेको समस्या छिट्टै समाधान हुन्छ ।’

नेपालको विदेशी ऋण पनि धेरै नरहेको स्पष्ट पारे । उनले भने, ‘हाम्रो विदेशी ऋण पनि त्यति धेरै होइन । नेपालमा जिडिपीको २२ प्रतिशत मात्रै छ । श्रीलंकाको बाटोमा त हामी छँदै छैनौँ । हामी सबैले संयमता अपनाउनुपर्छ । अहिले आत्तिनुपर्ने अवस्था छैन् । यो समस्या छिट्टै नै समाधान हुन्छ । त्यो लेभलबाट गुज्रिएका छैनौँ । तर, सतर्कता त हुनुपर्छ ।’
उनले संसारका धेरै देशमा सरकार र गभर्नरबीच टसल हुने गरेको सुनाए ।

‘गभर्नर पनि सरकारले नै बनाउने हो,’ उनले भने, ‘नेपाल राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने हो । देशमा वित्तिय स्थायित्व लिएर आउने हो, शोधान्तरको स्थितिलाइ राम्रो गर्ने अनि भुक्तानी प्रणालीलाई राम्रो गर्ने हो, सरकारलाई सल्लाहकारको रुपमा काम गर्ने हो । र, वित्तीय क्षेत्रलाई स्थायित्व गर्नको लागि दीर्घकालिन नीति तर्जुमा गर्नु हो । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय हुनुपर्छ । सरकार र गभर्नरबीच संसारभरि नै टसल पर्छ । मेरो बेलामा पनि भएको थियो । समन्वय नै गरेर अघि बढ्नुपर्छ ।’
उनले केन्द्रीय बैंक सधैं कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

‘सरकारले एक किसिमले अहिले गर्भनरलाई निलम्बन गरेको छ,’ उनले भने, ‘उहाँमाथि आरोप लागेको छ । आरोपहरु प्रुभ नहुन पनि सक्छन् । यो आरोप लाग्ने र लगाइने कुरा आफ्नो ठाउँमा छ । अमेरिकाजस्तो देशमा पनि टसल हुन्छ । पार्टीहरुका आर्थिक राजनीतिक एजेण्डा हुन्छन् । उनीहरुले भोटर रुझाउन खोज्छन् । तर, केन्द्रीय बैंक भनेको सधैं कडा रुपमा प्रस्तुत हुनुपर्छ । पछिल्लो समय केन्द्रीय बैंकले लिएको नीतिगत कुराले अर्थतन्त्रलाई केही चाँडै नै सुधारमा ल्याउँछ भन्ने मैले विश्वास लिएको छु ।’

उनले कोभिडपछिको अवस्थामा बजेटले सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गराए ।

‘कोभिडपछिको अवस्थामा केन्द्रीय बैंकबाट सपोर्ट भएकै हो,’ उनले भने, ‘तरलता मजाले गयो । ३२ प्रतिशतसम्म कर्जा विस्तार भयो ।’

समयमै बजेट र मौद्रिक नीति नआएको र समग्र वित्तीय क्षेत्रमा ब्याजदर तोकिएको अवस्था पनि उनले स्मरण गराए । उनले आज पनि ३०४ अर्ब रुपैयाँ सरकारको ढुकुटीमा रहेको सुनाए ।

‘पूँजीगत खर्च भएन,’ मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘नेपालको अर्थतन्त्रको मेरुदण्ड भनेको रेमिट्यान्स हो । विदेशी सञ्चिती कम भयो । पर्यटन क्षेत्र पनि ठप्प भयो । अहिले विदेशी सञ्चितीमा प्रेसर भएको छ । ११ महिना पुग्ने वस्तु तथा सेवा आयात गर्ने पुग्ने विदेशीसञ्चिती घटेर ६.७ मा पुग्ने भएको छ । अब अनुशासित हुनुपर्छ । केन्द्रीय बैंकले नीति लिएको छ, विलासीको सामान नलिने हो कि भनेर । केन्द्रीय बैंकले सबैको समन्वयमा यो नीति लिनुपर्ने हो । युक्रेन र रसियाको युद्धको कारण खाद्य र तेलको मूल्य बढेको छ । युद्ध लम्बियो भने आउने दिनमा हामीले तेल आयात गर्नुपर्नेहुन्छ । अर्थतन्त्रमा विदेशी सञ्चितीको दबाब बढेकै हो । तर, केही समयपछि यो आफै सुधार भएर जान्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *