अमेरिकी डलर सञ्चिति ९ अर्ब ५८ करोड, ६.७ महिनाको आयात धान्न सक्ने

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिना(फागुनसम्म)मा विदेशी विनिमयको सञ्चिति घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७८ असार मसान्तमा रु. १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा रु. ११ खर्ब ७१ अर्ब कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा रु.१२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.२ प्रतिशतले कमी आई रु.१० खर्ब १८ अर्ब ५ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ फागुन मसान्तमा ०.९ प्रतिशतले कमी आई रु.१५२ अर्ब ९५ करोड कायम भएको छ । २०७८ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०७८/७९ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (अघिल्लो आर्थिक वर्षको), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.४ प्रतिशत, ५५.६ प्रतिशत र २२.० प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

कच्चा पेट्रोलियम र सुनको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय बजारमा २०७७ फागुन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६८.८७ रहेको कच्चा पेट्रोलियमको मूल्य २०७८ फागुन मसान्तमा ६०.३ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११०.३९ पुगेको छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७७ फागुन मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७०४.८० रहेकोमा २०७८ फागुन मसान्तमा १४.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९५४.०५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *