प्रचण्डकाे ६ बुँदे सर्कुलरमा के-के छ ? (पूर्णपाठसहित)

काठमाडाैँ । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ बुँदे सर्कुलर जारी गरेका छन् । आसन्न स्थानीय निर्वाचनलाई केन्द्रित गर्दै अध्यक्ष प्रचण्डले मंगलबार ६ बुँदे सर्कुलर जारी गरेका हुन् ।
सर्कुलरमा केन्द्रकाे स्वीकृतिबिना गठबन्धन ताेड्न नपाइने, वैशाख ५ गतेभित्र उम्मेदवारहरू टुङ्ग्याउनुपर्ने, पालिकाकाे प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्षमध्ये एउ६ा पदमा महिला सहभागिता हुनैपर्नेलगायतका बुँदाहरू छन् ।
◊ याे पनि:
माओवादीकाे सर्कुलर- वैशाख ५ भित्र उम्मेदवार टुङ्ग्याउनु, केन्द्रकाे स्वीकृतिबिना गठबन्धन नताेड्नु
हेर्नुस् सर्कुलरकाे पूर्णपाठ:
♦ स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेद्वारहरूकाे नाम पार्टीका प्रदेश समितिहरूले सर्वसम्मत भए एक/एक जना सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्ने । केन्द्रीय कार्यालयले उम्मेदवारकाे अन्तिम निर्णय गरी पठाउने छ ।
♦ नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूकाे सिफारिस सम्बन्धित पालिका समितिहरूले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिहरूकाे सुझावसहित प्रदेश समितिले उम्मेदवारकाे अन्तिम टुङ्गो लगाउने । जसको अनुमोदन केन्द्रीय कार्यालयबाट गराउने ।
♦ वडा अध्यक्ष र सदस्यहरूकाे हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्ने ।
♦ सबै उम्मेदवारहरूकाे सिफारिस बैशाख ५ गते भित्र गरिसक्नु पर्नेछ ।
♦ गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने । केही स्थान तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरूबीच स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने ।
♦ स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न विजयको सम्भावना भएका पालिका मध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिका अन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेद्वारी दिन विशेष जोड गर्ने ।








