चर्कियाे महँगी, ८ महिनामा ७.१४ प्रतिशत मूल्यवृद्धि

काठमाडौँ । चालु आर्थिक वर्षको उपभोक्ता मूल्य वृद्धि ७.१४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू वर्षको फागुन ८ महिना(फागुनसम्म)मा उक्त महँगी बढेको अर्थात् मुद्रा स्फिती भएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो वर्षको यही अवधिमा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ ।

२०७७ फागुन महिनाको तुलनामा २०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ ।

चालू वर्षको ८ महिनामा आयात ३८.६ प्रतिशतले र निर्यात ८२.९ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १.७ प्रतिशत र अमेरिकी डलरमा ३.० प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु.२५८ अर्ब ६४ करोडलेघाटामा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५८ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.६७५ अर्ब ३० करोड र राजस्व परिचालन रु.६८४ अर्ब ७० करोड रहेकोछ । विस्तृत मुद्राप्रदाय ३.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.७ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.१ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १२.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर २२.२ प्रतिशत रहेकोछ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ फागुनमा यी क्षेत्रहरुमा क्रमशः २.५० प्रतिशत, ३.२५ प्रतिशत, ३.४० प्रतिशत र १.३१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

थोक मुद्रास्फीति
२०७८ फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.१३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.३० प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १५.०४ प्रतिशत, १२.९९ प्रतिशत र ७.६१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २४.२४ प्रतिशत रहेको छ ।

तलब तथा ज्यालादर सूचकाङ्क
२०७८ फागुन महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.२६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क १.८९ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः ९.४४ प्रतिशत र ६.६४ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *