अर्थमन्त्री भन्छन्– कानुन अनुसार नै गभर्नरलाई कारवाही गरिएको हो

काठमाडौँ । अर्थमन्त्री जनादर्शन शर्माले कानुन अनुसार नै गभर्नर महाप्रसाद अधिकारीमाथि कारवाही गरिएको बताएका छन् । अर्थमन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुलाई उनले यस्तो जानकारी दिएका हुन् ।

‘राष्ट्र बैंक ऐन अनुसार नै गभर्नरमाथि छानविनलगायत कारवाही गरिएको हो,’ उनले भने, ‘सर्वोच्च अदालतका न्यायाधीशको संयोजकत्वमा छानविन समिति बनेको छ । समितिले १ महिनाभित्र प्रतिवेदन बुझाउने छ । प्रतिवेदनका आधारमा सरकारले निर्णय लिने छ ।’

उनले राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी बैंकहरुले कर्जा प्रवाह गर्दा पनि राष्टङ बैंकले कुनै कदम नचालेकोले पनि अहिले प्रणालीमा तरलता अभाव देखिएको बताए । आफूले कर्जा विस्तार कम गर्न आग्रह गर्दा राष्ट्र बैंकको नेतृत्वले नसुनेको भन्दै उनले गभर्नरमाथि आरोप लगाए ।

सहुलियतपूर्ण कर्जा प्रवाह र पुनकर्जा प्रवाहमा समेत अनियमितता भएको समय उनले शंका व्यक्त गरे ।

अहिले विदेशी मुद्राको सञ्चिति कम भए पनि सञ्चित बढ्ने आधारहरु स्पष्ट बन्दै गएको, पर्यटन क्षेत्र पुनः चलायमान हुँदै गएको, रेमिट्यान्स बढ्न थालेको जस्तो सकारात्मक सूचकहरुलाई नहेरी अहिले अर्थतन्त्र टाट पल्टिन लागेको भन्दै गलत प्रचार गरिएको आरोप लगाए ।

‘तथ्यांकमा हेर्नु पर्छ अर्थतन्त्रको अवस्था,’ उनले भने, ‘कसैलाई श्रीलंकासँग तुलना गर्न मन लाग्यो भन्दैनमा देश श्रीलंका भइहाल्ने होइन । यसमा धेरै राजनीति भयो । भ्रम छर्ने काम नगरौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *