निर्वाचनमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएपछि शंशाकलाई साेध्याे आयाेगले स्पष्टीकरण

काठमाडाैँ । नेपाली कांग्रेसका नेता शंशाक काेइरालालाई निर्वाचन आयाेगले स्पष्टीकरण साेधेकाे छ । आफूले निर्वाचनमा ६ कराेड खर्च गरेकाे अभिव्यक्ति दिएपछि नेता काेइरालालाई ७ दिने स्पष्टीकरण साेधिएकाे आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयाेगलाई बुझाएकाे खर्च विवरणमा भने नेता काेइरालाले २१ लाख ७५ हजार मात्रै खर्च गरेकाे उल्लेख गरेका छन् । तर, विभिन्न सञ्चारमाध्यममा भने उनले ६ कराेड खर्च गरेकाे बताएपछि त्यसतर्फ आयाेगकाे ध्यानाकर्षण भएकाे उल्लेख गर्दै आयाेगले स्पष्टीकरण साेधेकाे प्रवक्ता शर्माले बताए । ‘विभिन्न सञ्चारमाध्यममार्फत कोइरालाले दिनुभएको अभिव्यक्तिअनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकोले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस विषयमा के कसो भएको हो, सात दिनभित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ,’ प्रवक्ता पाैडेलले भनेका छन् ।
कोइराला ०७४ सालमा नवलपरासी पूर्वबाट विजयी भएका थिए । गत शनिवार उनले निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसबेला आयोगले खर्चको सीमा २५ लाखसम्म तोकेको थियो । यसपछि उनलाई स्पष्टीकरण साेधिएकाे हाे ।








