‘सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छ’

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सार्वजनिक सवारीसाधन व्यवस्थित बनाउन यातायात व्यवसायीले ध्यान दिनुपर्ने बताएकी छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छेटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री यादवले सवारीसाधनमा क्षमताअनुसार यात्रु राख्ने र मर्मतमा ध्यान दिनुपर्ने बताइन् । कतिपय सवारी दुर्घटनाका कारण सवारीसाधनको खराब अवस्था पाइएको उनले बताइन् ।

सडक वा चालकको कारणले नभएर सवारीसाधनको अवस्थाले दुर्घटना भएको हुँदा त्यसमा ध्यान दिनुपर्ने उनकाे भनाइ थियो । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने उनले बताइन् । उनले भनिन्, “बसमा चढ्दा तँछाडमछाड गर्नुपर्ने अवस्थामा परिवर्तन गर्न खाँचो छ ।”

बीस वर्ष अवधि पुगेका सवारीसाधन हटाइने व्यवस्थामा परिवर्तन गरिने मन्त्री यादवले बताइन् । कोभिडका कारणले लामो समयसम्म सवारीसाधन थन्किएका कारणले त्यसलाई बढाउन आवश्यक रहेको उनकाे भनाइ थियो । कतिपय सवारीसाधनमा प्रदूषण जाँच भएर हरियो स्टिकर टाँसिए पनि सडकमा प्रदूषण फैलाएकाले त्यसमा ध्यान दिइनुपर्ने उनले बताइन् । विगतमा भाडा समायोजनका लागि व्यवसायीले आन्दोलन गर्नुपर्ने भए पनि अहिले पेट्रोलियम पदार्थ बढेपछि बढाइएको उनले बताइन् ।

सडक र रेल निर्माणमा धेरै उपलब्धि हासिल भइरहेको मन्त्री यादवले बताइन् । एक लाख किलोमिटरभन्दा बढी सडक बनिसकेको र हुम्ला सदरमुकाम बाहेक ७६ जिल्लाको सदरमुकाममा सडक सञ्जाल पुगेको उनले जानकारी दिनुभयो । केही वर्षदेखि थन्किएको रेल अहिले सञ्चालन भएको र भविष्यमा यसको विस्तार हुने उनले बताइन् । उनले भनिन्, “अहिले जयनगरबाट कुर्थासम्म रेल सञ्चालनमा रहेकामा छिट्टै बिजुलपुरासम्म विस्तार हुनेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *