विराटनगरका व्यवसायी भन्छन्- ‘चुनाव नजिकिँदै छ, देखाइदिन्छौँ’

विराटनगर । काठमाडौँपछिको दोस्रो सहर विराटनगरलाई पाँचौँ स्थानमा पुर्याउने काम दलहरूले गरेकोले चुनावमा हिसाबकिताब गरिने व्यवसायीले बताएका छन् ।

विराटनगरमा १० दिनसम्म चलेको विराट ट्रेड एक्स्पोको समापन समारोहमा बोल्दै व्यवसायीहरूले विराटनगर आजभन्दा करिब ३० वर्ष पहिला कै अवस्थामा रहेकोले  विकासमा कुनै गति नलिएकोमा गुनासो गरे ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले विभिन्न व्यक्तिहरूको स्वार्थका कारण विराटनगरमा प्रदर्शनी स्थल बनाउन नसक्ने अवस्थाको सिर्जना गरिएको आरोप लगाए । ‘विराटनगर काठमाडौँ पछिको दोस्रो तहको विराटनगरलाई छैटौँ नम्बरमा पुर्‍याउने को जिम्मेवार हो रुरु, रिजालले प्रश्न गरे, राजनीति दल र ब्युरोक्रेसी नै हो भन्ने हाम्रो बुझाइ छ ।’

राजनीतिक दल र सरकारप्रति केही रुष्ट देखिएका रिजालले विराटनगरले चाहेको जस्तो विकास हुन नसक्नुमा दल, सरकार नै दोषी भएको बताए । ‘चुनावका मुखमा हामी चुप लागेर बस्दैनौँ’, उनले भने, ‘३० वर्षदेखिको अवस्थामा उस्तै हुनुको कारण के हो, यसको दोषी को हो हामीलाई जवाफ चाहिन्छ ।’

नेपालमा तेस्रो पुस्ताले व्यवसायमा लगानी गर्न नचाहेको र लगानी गर्ने अवस्था नै नभएको रिजालको भनाइ छ । ‘अहिले लगानी हुन नसक्दाको असर १० वर्ष पछि देखिने छ’, उनले भने, ‘अहिले सरकारले सामान्य रूपमा लिएको होला, यसको असर केही वर्षमै देखिने छ ।’

आर्थिक तरललताको मारमा व्यवसायी परेको गुनासो गर्दे उनले तरलता अभाव, एलसी खोल्न नपाएकोले व्यवसायी आक्रान्त भएको बताए । आर्थिक अवस्थालाई सहज समाधानका लागि व्यवसायीसँग निरन्तर छलफल गर्न र योजना कार्यान्वयनमा लग्न उनले आग्रह गरे ।

उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले प्रदर्शनी स्थल बनाउनको लागि यसअघि भएका समझदारीमा बन्ने भनिएको काम पनि सुरु हुन नसकेको गुनासो गरे । निजी क्षेत्रको नेतृत्वमा प्रदर्शनी स्थल बनाउन सवा २ बिगाहा जग्गामा पिपिपि मोडलमा काम गर्ने भनिएको  र काम अघि बढेको भए पनि विभिन्न कारणबाट रोकिएको बताए ।

अहिले देशमा कृत्रिम तरलताको अभाव सिर्जना काम भएको घिमिरेले आरोप लगाए । सरकार सचेत भएमा केही महिनामा नै यो समस्या समाधान भएर जानेमा व्यवसायी ढुक्क भएको बताए ।

उद्योगी तथा व्यवसायी तारा चन्द खेतानले देशको अर्थ व्यवस्था कमजोर पार्ने काम जानिजानी सिर्जना गरिएको आरोप लगाए ।  अहिलेको समस्या समाधानमा सबै सकारात्मक भएर लाग्न सरकारले भूमिका खेल्नु पर्नेमा सरकारको भूमिका नदेखिएको उनको भनाइ छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले देश आर्थिक संकटमा रुमल्लिएको बताए ।   सबै समन्वयकारी निकाय एक ठाउँमा उभिएर समस्या समाधान गर्नु पर्नेमा विवाद सिर्जना गरेको उनको भनाइ छ । ‘अहिले जति समस्याहरू भएका छन् नेताहरूबाट भएको छ, उनले भने, बोल्ने एउटा गर्ने अर्को काम भएको छ ।’ ठूलो लगानी गरेर केही गर्न खोजिरहेका व्यवसायीहरूको लागि प्रदर्शनी स्थलको व्यवस्थापन सरकारले गरिदिनु पर्नेमा जोड दिए ।

‘सरकारले सहयोग गर्ने भनिएको थियो अहिलेसम्म काम अघि बढेको छैन’, उनले भने, ‘व्यवसायीले गर्न खोज्दा सरकारले किन रोक्नु हुँदैन, सरकारले गर्न सक्दैन भने हुँदैन भने हुन्छ, हामी व्यवसायीले व्यवस्थापन गर्छौं ।’

१० दिनसम्म चलेको मेलामा करिब २ लाख ५० हजार दर्शकले अवलोकन गरेको आयोजकको दाबी छ । कति कारोबार भयो सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *