प्रहरी अस्पताल महाराजगन्जको ३८औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रमबिच नेपाल प्रहरी अस्पताल महाराजगन्जको ३८औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतीक्षालयको उद्घाटन गरे । साथै उनले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण समेत गरे । अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७८’ र ‘नेपाल मेडिकल जर्नल’को समेत उनले लोकार्पण गरे ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको सेवा प्रवाहमा अविस्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्ने प्रहरी कर्मचारीहरूलाई कदर पत्र प्रदान गरे । साथै भिजिटिङ कन्सल्टेन्ट डा. विकल घिमिरे तथा अस्पतालको सेवा प्रवाहमा महत्त्वपूर्ण योगदान पुर्याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगन्ज र संघ संस्थालाई प्रशंसा पत्र एवम् कार्य सम्पादन र सेवा प्रवाहको आधारमा उत्कृष्ट विभाग अन्तर्गत अर्थोपेडिक विभागलाई शिल्ड तथा प्रशंसा पत्र र अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार समेत उनले प्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकहरूले निर्वाह गरेको योगदानको प्रशंसा गरे । साथै कोभिड-१९ को संक्रमणका समयमा नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय भएको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आगामी दिनमा नेपाल प्रहरी अस्पतालबाट प्रवाह हुने सेवा अझै उत्कृष्ट हुने विश्वास व्यक्त गरे । नेपाल प्रहरी अस्पतालको विद्यमान सेवाहरूलाई अझ व्यवस्थित गर्न र अस्पतालको दीर्घकालीन विकासका लागि प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको समेत उनले बताउनुभयो ।
सो अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घको तर्फबाट संघकी अध्यक्ष सिर्जना थापाले स्वास्थ्य उपकरणसमेत अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरिन् । साथै संघकी अध्यक्ष तथा संघका पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल समेत वितरण गरेका थिए ।
समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नेपाल प्रहरी अस्पताल सदैव प्रतिबद्ध रहेको बताए ।
नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. रामकृष्ण राज भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेकाे उक्त समारोहमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छाया देवी गुरुङले स्त्री तथा प्रसूति सेवा सम्बन्धी प्रस्तुतीकरण तथा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व मेडिकल डाइरेक्टरहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृतहरू, भिजिटिङ कन्सल्टेन्टहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।








