यती एयरलाइन्सको नयाँ वर्ष अफर ‘यती एक्स्ट्रा केयर’

काठमाडौँ । नेपाली हवाई क्षेत्रको अग्रणी संस्था यती एयरलाइन्सले नयाँ वर्ष २०७९ को अवसरमा ‘यती एक्स्ट्रा केयर’ अफर ल्याएको छ । यती एयरलाइन्सले आफ्ना यात्रुलाई लक्षित गरी सानिमा जनरल इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा पहिलोपटक यो अफर ल्याएको हो ।

एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यात्रुहरुलाई सुरक्षित र उत्कृष्ट सेवा प्रदान गर्न एयरलाइन्स संवेदनशील रहेकोले यात्रुका लागि ‘एक्स्ट्रा केयर अफर’ ल्याएको जानकारी दिए ।

उनका अनुसार यस योजनामा यतीको मोबाइल एप तथा वेबसाइटमार्फत् टिकट खरिद गरी उडान गर्ने यात्रुले ३० दिन अवधि सम्मका लागि रु एक लाखसम्मको दुर्घटना बिमा प्राप्त गर्नेछन् । यो योजना नयाँवर्ष २०७९ वैशाख १ गतेबाट लागु हुनेछ ।

उक्त योजनामा यात्रुले जति पटक यात्रा ग¥यो त्यति नै पटक बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । ३० दिन भित्रको अवधिमा दुई पटकभन्दा बढी यात्रा भएको खण्डमा यात्रा गरेको सबैभन्दा अन्तिम मिति देखि ३० दिनसम्मको बिमा प्राप्त हुनेछ भने अघिल्लो यात्रा गर्दा प्राप्त गरेको पोलिसी स्वतः रद्द हुँदै जानेछ ।

हालको लागि उक्त अफर ३ महिनाका लागि लागू हुने प्रवक्ता बर्तौलाले बताए । उक्त अफर अहिलेको लागि नेपाली यात्रुलाई मात्र लागू हुने र प्राथमिकता हेरेर आगामी दिनमा म्याद थप हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *