एमालेकै सूर्य लिएर निर्वाचनमा जान्छौँ : कमल थापा

काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेकै चुनाव चिह्न सूर्य लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका छन् । शुक्रबार काठमाडाैँमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिह्न सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । ‘राप्रपा नेपालले आगामी स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलहरूसँग सहकार्य र तालमेल गर्ने नीति लिएको छ,’ अध्यक्ष थापाले भने, ‘यसक्रममा नेकपा एमालेसँग प्रारम्भिक चरणको कुराकानी भइसकेको छ । नेकपा एमालेसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकता दिने नीति लिएका छाैँ । एमालेका केन्द्रीय तहका नेताहरुसँग हामी छिटै दुई पक्षीय कुराकानी गरेर निष्कर्मा पुर्‍याउने छौँ ।’

अध्यक्ष थापाले पार्टीको स्थानीय तहका कमिटीले एमालेका नेताहरूसँग कुराकानी गरेर सकेसम्म स्थानीय तहमा समझदारी कायम गर्ने प्रयास गरिरहेको बताए । ‘राजनीतिक, कानूनी र व्यवहारिक रूपमा सम्भव भए र त्यस्तै किसिमको समझदारी कायम हुनसके हामीले एमालेसँग सहकार्य र तालमेल गरेर जाने सम्भावना छ । साझा चुनाव चिह्नबाट चुनाव लड्ने निर्णय गर्न दिएका छौँ । आगामी स्थानीय तहको चुनावमा एमालेकै चुनाव चिह्न सूर्य लिएर उठ्न सक्ने सम्भावना बढेको छ । यो निर्णय होइन पार्टीको धारणा हो ।’

यसअघि एमाले नेताहरूले थापसँग चुनावी तालमेलबारे कुराकानी गरेका थिए ।

♦ याे पनि:
   राप्रपा नेपालकाे चुनावी घाेषणापत्र सार्वजनिक (पूर्ण पाठसहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =