पढाउनका लागि खेल्ने तरिका – उज्यालोतिर

पहिलो विद्यालय घर हो, दोस्रो विद्यालय स्कुल हो भने तेस्रो प्रकृतिस्वरूप हो । आमाबाबुले यसो गर उसो नगर भनेर छोराछोरीलाई आफूजस्तै बनाउनु गलत हो । तर, यसो गर्दा यो हुन्छ, उसो गर्दा त्यो हुन्छ । उदाहरण दिएर गलत देखाउनु र सुधार्न सिकाउनु एकदमै राम्रो हो । छोटो समयमा सबैभन्दा धेरै गल्ती गर्न र सुधार्न जाने ठाउँ भनेको विद्यालय हो । नयाँ कुरा सिक्न र गर्नको लागि प्राकृतिक स्वरूपलाई हेर्न अनि राम्रोसँग बुझ्न र प्रयोग गर्न जान्नुपर्छ ।

१. बालबच्चा भएका अभिभावक हुनुहुन्छ भनेपनि पढ्नुपर्छ । एउटा कुशल अभिभावक भएर हजुरले साँच्चिकै छोराछोरीले सोधेका प्रश्नको जवाफ कारणसहित दिन सक्नुहुन्छ ? उदाहरणः एक दिन सोध्यो छोराले, ‘मामु सुन्तला किन सुन्तला रङको भएको ?’ खै किन भएको हो, के जवाफ दिन सक्नु हुन्छ ? अनि छोरीले । सोधिन् भने, ‘मामु गाई भगवान् हो ?’ एकछिन् सोच्नु हुन्छ र ‘हो भन्नू हुन्छ ।’ हजुरले उसलाई त्यही जवाफ दिनुभयो जुन हजुरले आफू सानो हुँदादेखि सुन्दै आउनुभएको थियो । जे सुन्यो, जे सिक्यो त्यही जान्ने त हो हजुरले पनि । फेरि सोधिन् सायद जवाफले उनको कौतूहल मेटिएन । ‘अनि मामु त्यो भगवान्लाई पिट्दै पछिपछि हिँड्ने को हो नि ? भगवान्लाई पिट्न सकिन्छ त ?’ अब हजुर के भन्नुहुन्छ ? सायद जवाफविहीन हुनुपर्छ । र हजुरलाई लाग्छ सायद गलत जवाफ दिएँ । हो जवाफ गलत थियो । यो किताब । आमाबाबु नै गलत भए के हुन्छ ? म मेरा छोराछोरीलाई कुन बाटो हिँड्न भन्दै छु ? मैले सोचे जस्तो मेरा छोराछोरीले किन राम्रो गर्न सकेनन् ? म मेरा छोराछोरीलाई के सिकाउँदै छु र के बनाउँदै छु ? मैले जानीनजानी गर्दा गल्ती कहाँ निर भयो ? मेरा छोराछोरीले अरूको जस्तो प्रगति किन गर्न सकेनन् ? यस्तै अझ धेरै प्रश्नको उत्तर आमाबाबुले थाहा पाउनुपर्छ, यस किताबमा धेरै कुराहरू सिकाइएको छ अभिभावकलाई ।

२. हाम्रो शिक्षामा शिक्षकका चर्चा अधिक सुन्न र पढ्न सकिन्छ । शिक्षकले पढाएनन्, सिकाएनन्, धेरै शिक्षक राजनीतिकर्मी भए । अभिभावक, शिक्षक र विद्यार्थी तिनै पक्षले चाहे मात्र शिक्षामा अपेक्षित उपलब्धि हुने टिप्पणी पनि कम छैन । सरकारकै नीति गतिलो नभएर शिक्षामा समस्या बढिरहेको भन्नेहरू पनि छन् । सरकार शिक्षकलाई दोष दिन्छ । शिक्षक सरकारकै कारणले हाम्रो शिक्षा बिग्रेको देख्छन् । एक अर्कामा दोषारोपण गर्दैमा वर्षौं बितिसकेको छ ।

शिक्षाविद्हरूको किताब, लेख, अन्तर्वार्ता, विचार, भाषण, कक्षा, गोष्ठी, सेमिनार,आदिको अभाव पटक्कै छैन । यही भिडमा तर भिन्न र व्यावहारिक प्रस्तुति बोकेको, शिक्षासँग विशेषगरी शिक्षकहरूका लागि उपयोगी लागेकाले ‘उज्यालोतिर’ नामक किताबले प्रवाह गरेको सन्देश प्रसङ्ग यस आलेखमा उठान गर्ने प्रयत्न गरिएको छ । यो अनुमतिमा गरिएको निर्देशित समीक्षा भने होइन ।

मेरा छोराछोरीले अरूको जस्तो प्रगति किन गर्न सकेनन् ? यस्तै अझ धेरै प्रश्नको उत्तर आमाबाबुले थाहा पाउनुपर्छ, यस किताबमा धेरै कुराहरू सिकाइएको छ अभिभावकलाई ।

३. शिक्षक भइसकेका र शिक्षक बन्ने मनसाय बोकेकाहरूले एकपटक पढ्नैपर्ने किताब रहेछ ‘उज्यालोतिर’ । यद्यपि शिक्षकका लागि बजारमा धेरै किताबहरू भेटिन्छन् र धेरैमा समान विषयवस्तु पढ्न सकिन्छ । शिक्षा क्षेत्रमै जीवन खर्चिएका व्यक्तिहरूको अनुभव र सन्देश बुझ्ने उद्देश्यले यो किताब प्रकाशन भए पश्चात् नै पढ्ने सोच बनाई सकेको थिएँ । शिक्षामा चार दशक भन्दा बढी प्रत्यक्ष संलग्नताका साथ खटेर सँगालिएको भण्डारबाट आफ्नो अनुभव बाहिर ल्याउनु भएका आदरणीय टिकाराम रेग्मी सरको यो किताबले सैद्धान्तिकता भन्दा व्यावहारिकताको उजागर गरेको छ । प्रस्तुत उपन्यासमा सफल र उदाहरणीय शिक्षक सरुबाट लेखक स्वयम्ले प्रभावकारी शिक्षण विधिहरू प्रयोगमा ल्याउन आग्रह गरेको स्पष्ट छ । पूर्व शिक्षक भास्करलाई मार्गदर्शक पात्रको रूपमा चित्रित गरिएको छ । एउटा विद्यालय, शिक्षक, विद्यार्थी, समिति, अभिभावक, स्वाभाविक पात्र प्रस्तुत गरिएको यो उपन्यास सुखान्त नै छ ।

४. अधिकांश विद्यार्थीलाई पास चाहिएको छ । प्रायः अभिभावक आफ्ना बालबालिका स्कुल कलेज गएको र वर्ष पुगेपछि कक्षा चढेको हेर्न चाहन्छन् । धेरै शिक्षकको ध्यान कोर्स सक्नेमा पाइन्छ । समिति र जनप्रतिनिधिका आफ्नै निजी स्वार्थ छन् । शिक्षा प्रशासन आदेश निर्देशमा रमाउँदै औपचारिकतामा बितिरहेकै हो ।

सरकारलाई समग्र शिक्षा व्यवस्थाको बारेमा सोच्ने र गम्भीर बन्ने फुर्सद भएको भए शिक्षा ऐन २०२८ कम्तीमा पहिले नै बदलिन्थ्यो । हाम्रो शिक्षालाई समयानुकूल बनाउन प्रयत्न गर्ने नगण्य शिक्षाकर्मीहरूको आवाज र कोसिस बारम्बार ओझेलमा परेकै हो ।

स्तरीय शिक्षाको सवालमा विद्यार्थीको सिकाई नै प्रमुख पक्ष हो भन्नेमा टिकाराम सर अत्यन्तै गम्भीर भएको तथ्य सरुको कक्षा क्रियाकलापमा स्पष्ट देख्न सकिन्छ । अनुभव र तालिमको कुनै अर्थ देखिएन जुन यथार्थ स्विकार्नै पर्दछ ।

शिक्षक तालिमका नाममा गरिएको लगानी नाम मात्र रहेछ भन्ने साबित भएको छ । दसकौँ वर्ष शिक्षण पेसामा संलग्न तालिमप्राप्त इन्दिरा, रन्जु, दीपक,खेम, ईश्वर, उमेश, रमेश, महेशहरूको भिडमा एकदिन पनि तालिम नलिएको सरु पहिलो कक्षामा नै एक परिपक्व शिक्षक देखिनुलाई विश्लेषणको विषय बनाउनै पर्दछ ।

थोरै खाली समयको अधिकतम प्रयोग गरेर शैक्षिक सामग्री निर्माणमा व्यस्त शिक्षक जोसँग प्रत्येक कक्षा जानुअघि उद्देश्य र तयारीमा रहनेले सधैँ शिक्षणमा सन्तुष्टि हासिल गर्ने यथार्थको उपयुक्त उदाहरणको प्रस्तुतिमा कतै कमजोरी भेटिन्न । शिक्षक स्टाफमा शेयर र अन्तरक्रियाले पारेको समग्र सकारात्मक प्रभावलाई भुल्न सकिन्न ।

५. प्रस्तुत उपन्यासका केही हरफहरू यहाँ उल्लेख गर्नु सान्दर्भिक लाग्यो : जीवनसँग जोडिएको सिकाई परिपक्व हुन्छ । जुन दिनसम्म विद्यार्थीलाई आफ्नै छोराछोरी वा भाइबहिनी मान्न सक्छ्यौ त्यस दिनसम्म मात्र तिमी शिक्षक रहिरहन सक्नेछौ । उद्देश्यप्रति सचेत मानिस कहिल्यै हार्दैन । बाध्यताले नै सही, म हिँडेको बाटो खराब छैन । इसारा सर्वव्यापी भाषा रहेछ, जो सुकैले बुझ्ने । किन चिन्ता ? यात्रा जारी राख्नु, एउटा ढोका बन्द भए अर्को ढोका खुल्छ । मैले विद्यार्थीलाई घोटेर पिलाउने छैन, तिनलाई आफैँ पिउन सक्ने बनाउने छु । सबैभन्दा पहिले आफ्ना विद्यार्थीलाई पढ्न बिर्सने छैन । स्कुलमा पनि अर्की आमा भेटिन्छ । तिमी सिधा उभिइराख्नु, छाया बाङ्गो भएर केही फरक पर्दैन । बाल मनोविज्ञान, मायालु व्यवहार, आवश्यकताको पहिचान र रमाएर सिक्ने वातावरणको तयारी । जागिर मात्र खान त अर्कै बाटो छन् तर शिक्षक हुने हो भने मूलबाटोको माग हुतीहाराले मात्र गर्छन् । अन्धकारमा गोरेटो कोर्ने अन्वेषक र गोरेटो भत्काएर सडक बनाउने इन्जिनियर हो । विद्वानहरू ढिपी गर्दैनन् । शिक्षक भएर समयमा विद्यालय नजाने, उपस्थित भई हाले कक्षामा नजाने, गर्नैपर्ने नगर्ने, गर्नै नहुने गर्ने, हुँदाहुँदा विद्यार्थीको कापी समेत नहेरी अंक दिने गर्छन् । बालबालिकाको शिक्षामा पहिलो आमा, दोस्रो घरपरिवार अनि मात्र विद्यालयको स्थान आउँदो रहेछ । एउटा ढुंगो घनको पछिल्लो चोटले फुट्नुको अर्थ पहिलो चोटको भूमिका थिएन भन्ने होइन । बालकलाई क्यासेट प्लेयर वा भकारी सम्झेर भर्न नखोज्नु, बरू तिनैमा भएको चेत कोट्याइदिने प्रयत्न गर्नु ।

६. शिक्षण सिकाइमा शैक्षिक सामग्रीको भूमिकाको पर्याप्त उजागर गरिएको प्रस्तुत किताबमा न्यून लागतका शैक्षिक सामग्रीहरू बिरालो तथा मुसा लगायतका जनावरका मास्कहरू, रंगीन बलहरू, कार्डबोर्ड, शब्दपत्तीहरू, मार्कर, अनि लागतै नपर्ने कक्षाकोठा र विद्यार्थी तथा शिक्षक स्वयम्ले सामग्रीको रूपमा मोबाइल फोनको आकर्षक प्रयोगबाट शिक्षण सिकाई रोचक बनेको छ । खेल विधि, प्रश्नोत्तर विधि सँगै प्रत्येक सिकाइका शब्दलाई गीतको लयमा प्रस्तुत गरेर विद्यार्थीमा पर्याप्त उत्प्रेरणाको आँधीबेहरी नै सृजना गरिएको सबै शिक्षकका लागि राम्रो खुराक बनेको छ । थोरै खाली समयको अधिकतम प्रयोग गरेर शैक्षिक सामग्री निर्माणमा व्यस्त शिक्षक जोसँग प्रत्येक कक्षा जानुअघि उद्देश्य र तयारीमा रहनेले सधैँ शिक्षणमा सन्तुष्टि हासिल गर्ने यथार्थको उपयुक्त उदाहरणको प्रस्तुतिमा कतै कमजोरी भेटिन्न । शिक्षक स्टाफमा शेयर र अन्तरक्रियाले पारेको समग्र सकारात्मक प्रभावलाई भुल्न सकिन्न ।

७. विद्यार्थी पढ्न सिक्नै चाहँदैनन् र शिक्षकले पढाएनन् सिकाएनन् भन्नेहरूलाई यो किताब शिक्षकले नै पढाउने सिकाउने रहेछन् भन्ने सन्देश दिन सफल देखिन्छ । स्कुल कलेजमा पढाउने वातावरण नै छैन,भएन भन्नेहरूलाई पनि संघर्षशील लगावको परिणाम हेर्न आग्रह गरिएको छ । संस्थाले शैक्षिक सामग्री नै किन्दैन अनि के प्रयोग गरेर देखाउने भनेर नथाक्नेहरूका लागि आवश्यक खुराक दिनमा कमी भएको लागेन । म त धेरै पढेको मान्छे, तल्लो कक्षामा जाने हैन भन्नेहरूका लागि पनि उपयुक्त जवाफ दिन लेखकले बिर्सनु भएको छैन । तीन चार दशकको अनुभव भएकाको अगाडि हिजो आएकाको फुर्ती, नयाँ जोगीले ज्यादा खरानी घस्ने भन्नेहरूका लागि मुखैभरिको जवाफ भेटिन्छ । अंग्रेजीलाई अंग्रेजी मै बोलेर खुबै जान्ने देखाउन खोजेको भनेर हतारमा प्रतिक्रिया दिनेलाई यो किताबले दिएको जवाफ पर्याप्त छ भन्ने लाग्छ । जो कोही अभिभावक र शिक्षकले यो पढेर समयको राम्रो सदुपयोग महसुस गर्नेमा शंका छैन ।

चाहेमा नहुने कुरा केही छैन । विद्यालय मात्रै नभएर देशको नै समग्र पक्षको सुधारका लागि शिक्षकको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । पुस्तक अभिभावक, शिक्षक, शिक्षा क्षेत्रमा रहनुभएका र यस क्षेत्रमा आउन चाहने सबैजनाले पढ्नुपर्ने देखिन्छ ।

८. अन्तमा, यस उपन्यास पढेर विद्यालयमा सिकाइ सुधार गर्नको लागि आवश्यक बुँदाहरू हेर्नुस्स् शिक्षकले विद्यार्थीलाई आफ्नै छोराछोरी र भाइबहिनीको व्यवहार गर्नुपर्ने ! पेसागत धर्म निभाउनको लागि आफैले गोरेटो निर्माण गर्नुपर्ने ! मैले कति पढाएँ होइन, विद्यार्थीलाई कति रमाउन दिएँ र कति सम्मान गरेँ भन्ने कुराको ख्याल गर्नुपर्ने ! आफूले पढाएको कक्षाबाट सन्तुष्ट भए नभएको स्वमूल्याङ्कन गर्नुपर्ने ! कक्षा शान्त भएपछि मात्र राम्रो पढाइ हुन्छ भन्ने धारणा हटाउनुपर्ने ! एउटा गन्धमा बानी परेका शिक्षकले अर्को सुगन्धलाई दुर्गन्ध ठान्ने परम्परा हटाउनुपर्ने ! खेल्दै पढाउने विधि अपनाउनुपर्ने ! परम्परागत सिकाइ पद्धति हटाउनुपर्ने ! विद्यार्थीका आन्तरिक क्षमतालाई उजागर गर्नुपर्ने ! शिक्षा परिवर्तनशील भएको कुरा शिक्षकले मनन गर्नुपर्ने ! शिक्षकले प्रत्येक विद्यार्थीको चासो राख्नुपर्ने ! सिकाइ अभिलेख राख्नुपर्ने ! बालबालिकाको मनोविज्ञान बुझेर सिकाइ अघि बढाउनुपर्ने ! शिक्षक आफूले के सिकाउने भन्ने उद्देश्यमा स्पष्ट हुनुपर्ने ! शिक्षकले कक्षाकोठामा प्रवेश गरेपछि विद्यार्थीले भन्दा मैले बढी जानेको छु भन्ने घमण्ड त्याग्नुपर्ने ! विद्यार्थीलाई लेखिदिएर कण्ठ पार्न लगाउने नभई उनीहरूलाई आफैँले लेख्न सक्ने बनाउनुपर्ने ! प्रधानाध्यापकले शिक्षकसँग सहकार्य गर्ने र शिक्षकको एकता बनाउनुपर्ने ! शिक्षकले विद्यार्थीको मनमा आत्मविश्वास बढाइदिनुपर्ने र सपनाको बीउ रोपिदिनुपर्ने ! शिक्षकले आफूलाई कर्तव्यबोध र सत्कर्मले पूज्य बनाउनुपर्ने तर पुर्ख्यौली दौलतको घमण्डले धुन्धुकारि बनाउन नहुने ! विद्यालयले उत्कृष्ट कार्य गर्ने शिक्षकलाई पुरस्कृत गर्नुपर्ने ।

चाहेमा नहुने कुरा केही छैन । विद्यालय मात्रै नभएर देशको नै समग्र पक्षको सुधारका लागि शिक्षकको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । पुस्तक अभिभावक, शिक्षक, शिक्षा क्षेत्रमा रहनुभएका र यस क्षेत्रमा आउन चाहने सबैजनाले पढ्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

One thought on “पढाउनका लागि खेल्ने तरिका – उज्यालोतिर

  1. पुस्तकलाई यति विस्तृत रूपमा पढी उत्प्रेरणात्मक शब्दमा यति राम्रो समीक्षा गर्नुभएकोमा सन्देशज्युलाई हार्दिक धन्यवाद छ ।

Leave a Reply

Your email address will not be published.