मोरङमा कांग्रेसलाई छाडेर तीन दलले चुनावी तालमेल गर्दै

विराटनगर । मोरङमा सत्ता गठबन्धन भित्र किचलो सुरु भएको छ। नेपाली कांग्रेस विराटनगर महानगर समितिले विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस एक्लैले चुनाव लड्ने, गठबन्धन नगर्ने प्रकृतिको निर्णय गरेपछि दलहरू बिचमा खैलाबैला सुरु भएको थियो ।

महानगरपालिका समितिको यो निर्णयले सत्ता गठबन्धन भित्रैका दलहरूले आन्तरिक अर्को गठबन्धनको गृहकार्य थालेका छन् । कांग्रेसलाई छाडेर सरकारमा रहेका गठबन्धन दलले चुनावी तालमेल गर्ने तयारी थालेका हुन् । कांग्रेस बाहेक चुनावी तालमेल गर्ने बारेमा छुट्टै छलफल सुरु भएको एक नेताले बताए । मोरङ जिल्लामा कांग्रेस एक्लै चुनाव जित्न सक्षम रहेको विभिन्न कार्यक्रमहरूमा नेताहरूले बोल्दै आएका छन् ।

केन्द्रको रणनीति एकातिर र जिल्लामा अर्कोतिर हुने गरी कांग्रेस अघि बढ्ने अवस्था आए माओवादी पर्खिएर बस्ने अवस्थामा नरहेको नेकपा माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासले बताए । ‘नेपाली कांग्रेसको भित्र पनि गठबन्धन गर्नु पर्छ भन्ने कुरा आएको भएपनि बैठकमा छलफल भएको छैन, उनले भने, आज हामी कांग्रेस बाहेकका ३ दल बसेर चिया गफ गरेका छौँ ।’ बिहान विराटनगर मा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एककीकृत समाजवादीका बिचमा बसेर छलफल भएको छ ।

बैठकमा तीनवटै पार्टीका प्रदेश तहका नेताहरु पनि छलफलमा सहभागी भएका थिए । छलफलमा नेकपा माओवादी केन्द्रका सङ्घीय सांसद शिवकुमार मण्डल, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य महेश रेग्मी, माओवादी केन्द्रका र जसपाका जिल्ला अध्यक्षहरू सहभागी थिए ।

जसपाका केन्द्रीय नेता जयराम यादव पनि छलफलमा थिए । जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवले नेपाली कांग्रेसले गठबन्धन गर्न नचाहेको अवस्थामा छुट्टै गठबन्धन गरेर जाने तयारी भएको बताए । बिहान तीन दल बिचको छललल भएको थियो, उनले भने, नेपाली कांग्रेस एक्लै चुनावमा जाने हो भने हामी तीन दल एक भएर गठबन्धन गरेर जान्छौँ ।

नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल हुने भन्ने विषयमा कांग्रेस प्रस्ट भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *