गभर्नरप्रति असन्तुष्टी जनाउँदै अर्थमन्त्रीले भने– नेपाल श्रीलंका बन्दैन, आतंकित नपारौँ

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो गम्भीर संकटमा नफस्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजनाको गरेको अर्थ तथा वित्त सम्मेलनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । राष्ट्र बैंकका गभर्नरले नै नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो बन्ने भन्दै दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए ।
‘साढे ६ महिनालाई धान्ने विदेशी मुद्रा सञ्चिति छ,’ उनले भने, ‘अब यसलाई घट्न नदिउँ । नेपालको अर्थतन्त्र श्रीलंकको जस्तो बन्दैन । आतंकिन नपारौँ । जिम्मेवार भएर सुधारमा लागौँ ।’
नेपाल राष्ट्र बैंकले अर्थमन्त्रालयलाई पठाएको सुझाव मन्त्रालयमा नआइपुग्दै मिडियामा चुहिएको भन्दै उनले गभर्नरप्रति असन्तुष्टि समेज जनाए ।
राष्ट्र बैंक नियमनकारी निकाय मात्रै नभइ अर्थतन्त्रबारे अध्ययन अनुसन्धान गर्ने संस्थासमेत भएको भन्दै जिम्मेवार भएर प्रस्तुत हुन उनले एउटै मञ्चमा रहेका गभर्नरलाई सुझाए ।
अर्थतन्त्र सुधार गर्ने विषयमा अहिले बहसको खाँचो रहेको भन्दै भने सेवा क्षेत्रमा र खास गरी सूचना प्रविधि क्षेत्रबाट फरक ढंगले विदेशी मुद्रा ल्याउन सक्ने सम्भावना रहेको समेत बताए ।
अहिले विकास भएको डिजिटल कारोबार तथा डिजिटल प्रणालीले समेत नेपालमा सकारात्मक सँगै आर्थिक संकट ल्याउने गरी नकारात्मक असर पारेको समेत बताए ।
‘मैले ५ महिनाअघि क्रिप्टोकरेन्सीले पार्ने प्रभावको बारेमा गभर्नरसाबलाई भनेको थिए, मैले त्यो बेला यसको बारेमा बुझेको पनि थिएन, क्रिप्टो हाइपर फण्डको बारेमा हामीले बुझ्न सकेनौँ,’ राष्ट्र बैंकलाई लक्षित गर्दै उनले भने, ‘स्थायीत्व मात्रै भनेर भएन, हामीले अध्ययन अनुसन्धान गर्न सकेनौँ, यसबाट सिक्दै जाने हो ।’
राष्ट्र बैंकले खास गरी वित्तीय स्थायित्वबारे अध्ययन अनुसन्धान गरी सही दिशा तथा अवस्थाको पक्षेपण गर्न नसकेको समेत उनले बताए ।
वित्तीय पहुँच धनी वर्गमा बढेको, विदेशमा दुःख गरेर कमाएको पैसालाई पुँजीको रुपमा उत्पादनशील क्षेत्रमा लगाउनको साटो विलासीताका वस्तु तथा सेवा उपभोगमा खर्च गरिएकोले देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन आउन नसकेको उनले बताए ।
सामान आयातका लागि १२ दिनअघिदेखि कसले एलसी खोले त्यसको रेकर्ड आफूलाई चाहिने बताए । आफूले राष्ट्र बैंकलाई सरकारको सल्लाहाकारको हिसाबले प्रश्न सोध्दा हस्तक्षेप गरेको भन्ने आरोप लागेको भन्दै उनले असन्तुष्टि बताए ।
वैदेशिक रोजगारीमा जाने नेपालीबाट रेमिट्यान्स प्राप्त गरेपछि उनीहरुलाई पनि विभिन्न सहुलियत दिनुपर्ने विषयमा सरकारले आवश्यक गृहकार्य अघि बढाएको उनले जानकारी दिए । कोडिड–१९ का कारण सुस्ताएको पर्यटन क्षेत्रलाई वृद्धि गर्न सरकारले विशेष पहल थालेको समेत उनले बताए ।









