कांग्रेस प्रतिनिधिको प्रतिवेदन- ‘कैलालीमा गठबन्धन आवश्यक छैन’

धनगढी । नेपाली काँग्रेस कैलालीले गठबन्धनबारे सुझाव संकलनका लागि प्रत्येक स्थानीय तहमा खटाइएका जिल्ला प्रतिनिधिहरूले प्रतिवेदन बुझाएका छन् । काँग्रेसले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय गर्नु अघि नै प्रदेश स्थानीय तहमा खटाइएका प्रतिनिधिहरूले सुझाव संकलन गर्दै प्रतिवेदन तयार पारेर काँग्रेस जिल्ला कार्यसमितिलाई बुझाएका हुन् ।

काँग्रेस कैलालीले विभिन्न जिम्मेवारी तोक्दै जिल्लाका प्रत्येक स्थानीय तहमा खटाइएका जिल्ला प्रतिनिधिहरूले सुझाव संकलन गर्दै मंगलबार बसेको बैठकमा प्रतिवेदन बुझाएको काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए । बुझाइएका प्रतिवेदनहरू कम्पायल गर्ने काम भइरहेको उनले बताए ।

जिल्ला प्रतिनिधिहरूको भनाई र प्राप्त प्रतिवेदन अनुसार चुनावमा जित हात पार्न कुनैपनि दलसंग गठबन्धन आवश्यक नभएको सुझाव प्राप्त भएको सचिव सुनारले बताए । ‘सबै स्थानीय तहबाट प्राप्त प्रतिवेदन अनुसार ९० प्रतिशत भन्दा बढी स्थानीय तहका वडाहरूबाट गठबन्धन आवश्यक नभएको सुझाव आएको छ,’ उनले भने, ‘गठबन्धन नभए पनि जित हात पार्न सकिन्छ भन्ने प्रतिक्रियाहरू हामीले पाएका छौँ ।’

तल्लो तहबाट गठबन्धन गर्न नहुने सुझाव आएपनि केन्द्रदेखि जिल्लासम्म गठबन्धन गर्नुपर्छ भन्नेमा दलहरू भने सकारात्मक भएको उनले बताए । उनले कैलाली काँग्रेस पनि सोही कुरामा सकारात्मक भएको बताए । ‘गठबन्धन गर्ने भन्ने विषयमा कैलाली काँग्रेस पनि सकारात्मक नै छ,’ उनले भने, ‘स्थानीय तहबाट प्राप्त सुझाव र अवस्थालाई ख्याल गर्दै अब कसरी जान सकिन्छ भन्ने विषयमा गठबन्धन दलबीच छलफल हुन्छ ।’

उनका अनुसार बुधबार गठबन्धन दलबीच यस विषयमा छलफल गर्ने भनिए पनि विविध कारणले स्थगित भएपछि बैठक पुनः शुक्रबारका लागि बोलाइएको छ । नेकपा एकीकृत समाजवादीको संसदीय दलका कार्यालयमा बस्ने सत्ता गठबन्धन दलको बैठकले कैलालीमा चुनावी तालमेलका सम्बन्धनमा निर्णय गर्ने छ ।

यसैगरि प्रदेश स्तरबाट पनि चुनावी तालमेलका विषयमा काँगेसले निर्णय गर्ने तयारी गरेको छ । यसै विषयमा काँग्रेस सुदूरपश्चिम प्रदेशको बैठक बिहीबारका लागि बोलाइएको छ । उक्त बैठकले पनि चुनावी तालमेलका विषयमा निर्णय सार्वजनिक गर्ने काँग्रेस सुदूरपश्चिमले जनाएको छ ।

यद्यपि यसअघि काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले यस अघिदेखि नै काँग्रेस प्रमुख प्रतिपक्षी दल बनेको सुदूरपश्चिममा गठबन्धन दलबीच चुनावी तालमेल हुन नसक्ने बताउँदै आएका थिए । अहिले काँग्रेस पनि सुदूरपश्चिम प्रदेशमा सहभागी हुने विषयमा तयारी अगाडि बढेपछि काँग्रेस सुदूरपश्चिम प्रदेशले पनि सोही अनुसार निर्णय गर्न सक्ने आकलन गरिएको छ ।

केन्द्रमा रिपोर्टिङ ‘काँग्रेसले हेप्यो’
कैलालीमा वडा तहदेखि काँग्रेसले गठबन्धन दलसहित कुनैपनि दलसंग तालमेल गर्न नहुने आवाज उठेपनि गठबन्धन दलहरू तर्सिएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपालगायतका गठबन्धन दलहरूले कैलालीमा काँग्रेसले हेपेको भन्दै केन्द्रमा रिपोटिङ गरेका छन् ।

स्रोतका अनुसार जिल्लामा काँग्रेसबाट गठबन्धन गर्न नहुने आवाज उठेपछि काँग्रेस सोही अनुसार तालमेलका क्रममा थप हाबी हुनसक्ने चिन्ता गठबन्धन दलको छ । गठबन्धन दलहरूले सम्मानसहितको चुनावी तालमेल हुनुपर्ने माग अघि सारिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *