श्रीलंका जस्तै आर्थिक संकटमा नेपाल जाँदैन : पूर्व गभर्नर नेपाल

बुटवल । विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकेलिँदै गएको नेपाल राष्ट्रका पूर्व गभर्नर चिरञ्जीवी नेपालले बताएका छन् । बुधवार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वगर्भनर नेपालले यस्तो बताएका हुन् ।

कोरोना भाइरस पश्चात् आर्थिक अवस्था किन घट्दै गएको छ भन्ने सवालमा सरकारले कर्जा विस्तार अहिलेसम्मकै सबैभन्दा धेरै ३२ प्रतिशत बढी गरेको बताए ।  जबकि, मौद्रिक नीति १९ प्रतिशत रहेको वेला लगानी गर्नु अशोभनीय हुन गएको उनको भनाइ छ । उनले, मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउनका लागि हरेक कुरामा सञ्चितिकरण गर्नुपर्ने ध्यान दिनुपर्ने र निर्यातलाई बढाउनु पर्नेमा जोड दिए । अहिले नेपालको अवस्था ऋण तिर्न सक्ने रहेको भन्दै, सधैँ ऋणमा मात्रै भर पर्न नहुने बताउँदै, उत्पादन र निर्यातलाई ऊर्जाशील बनाउने बाटोमा सरकार गम्भीर रूपमा अगाडि बढ्नुपर्नेमा सुझाए ।

श्रीलंकामा उत्तरपुस्तिका किन्ने पैसा समेत नभएर सबै तहका परीक्षा रोकिएको घटना जस्तै अवस्था नेपालमा तत्काल नआउने दाबी उनले गरे । अहिले नै नेपाल, श्रीलंका जस्तै स्थितिमा पुग्छ भनेर आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।

तिलोत्तमा क्याम्पसका पूर्वप्रमुख एवं अर्थशास्त्री डा.रामचन्द्र आचार्यले विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरूले (इकोनोमिक डेप्पोमेसी)बारे काम नगरेको, दूरदर्शीताको अभाव हुँदा पनि नियमन निकायले कुनै चासो नदिनु, विदेशी मुद्रामा सञ्चिति नहुनु, उत्पादन घट्नु र आयात बढ्नुले गर्दा पछिल्लो समय नेपालको आर्थिक अवस्था कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै, समयमै सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको सुझाव दिँदै, श्रीलंकाको जस्तै स्थिति नेपालको पनि नहोला भन्न नसकिने बताए ।

साक्षात्कार कार्यक्रममा वरिष्ठ पत्रकार तथा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डा.बालकृष्ण चापागाईँले बजारमा आर्थिकमन्दीको चरम संकट पैदा भएको भन्दै, नेपाली मुद्रा कहाँ गइरहेको छ ? किन संकट पैदा भयो ? यस विषयमा किन सरकारले कदम चाल्दैन ? भन्ने बारेमा सवाल उठाए । जसका कारण सामान्य लगानी समेत बैंकहरुले गर्न नसकेको अवस्थामा यस्तै अवस्था रहिरहे मुलुक ठूलो आर्थिक संकटमा जाने जिकिर गरे ।

उनले, नेपालका अर्थशास्त्रीहरूले यो समस्यालाई समाधान गर्न तर्फ के गरिरहेका छन् ? भन्दै श्रीलंकाको जस्तै नियति नेपालले भोग्नबाट बचाउन जिम्मेवार निकाय र सरोकारवालाले कदम चाल्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *