यस्तो छ विराटनगर-बथनाहा रेलमार्ग (तस्बिरहरू)

विराटनगर । नेपाल-भारत सहज व्यापार आवागमनका लागि भन्दै शुरु भएको विराटनगर-बथनाहा रेल मार्ग निर्माणको काम अझै पूरा भएको छैन । कटहरी क्षेत्रमा मुआब्जाको समस्या देखिएको छ भने विराटनगर १७ बुधनगरसम्मको निर्माणको काम अन्तिम चरणमा छ ।

भारतको बथनाहाबाट विराटनगर हुँदै कटहरीसम्म पुग्ने रेलमार्ग कतै बनेर चिटिक्क देखिन्छ भने कतै धुलाम्मे अवस्थामा छ । बथनाहा-बुधनगर रेलमार्गको परीक्षण गरिएको भएपनि बुधनगरदेखि उत्तर करिब १३ किलोमिटर स्टेसन क्षेत्रसम्मको निर्माणको काम अधुरै छ ।

विराटनगर महानगरपालिकाको वडा नम्बर १८ सम्म रेल मार्ग सञ्चालनको लागि लिक परीक्षणको काम भइसकेको छ। रेल्वे परियोजना अनुसार भारतको बथनाहादेखि कटहरी गाउँपालिका वडा नम्बर १ सम्म १८ दशमलव ६ किलोमिटर लामो रेल मार्ग निर्माणको काम शुरु भएको ८ वर्ष भएको छ। बथनाहाबाट नेपालको सीमासम्म ५ किलोमिटर र नेपालतर्फ १३ दशमलव ६ किलोमिटर रेलमार्ग हो ।

मालवाहक ढुवानीको रेल नेपाल ल्याउनको लागि आठ वर्ष पहिला देखि निर्माण शुरु भएको विराटनगर-बथनाहा रेल मार्ग निर्माणको काम बुधनगरसम्म तत्काल रेल सञ्चालन गर्न सकिने अवस्थामा रहेको रेल्वे निर्माण कम्पनी ईरकनको दाबी छ । भारतबाट नेपालका लागि अति आवश्यक सामग्री बोकेर रेल नेपाल आउने आशा बोकिएको आठ वर्ष बितिसक्दा पनि स्थानीयले रेल देख्न पाएका छैनन् ।

नेपाल सरकारले र भारत सरकारका बिच भएको सहमति अनुसार नेपाल सरकारले जग्गा उपलब्ध गराउने र भारत सरकारले रेलमार्ग निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनिएको छ ।

जम्मा १८ दशमलव ६ किलोमिटर रेलमार्ग निर्माणका लागि ८ वर्षमा बुधनगरमा निर्माण भएको आईसीपीसम्म सहज रेल आउन सक्ने देखिएपछि त्यसभन्दा उत्तर नेपाल तर्फको क्षेत्रमा ५० प्रतिशतको हाराहारीमा मात्र काम भएको बताइन्छ ।

बुधनगरको लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटरमा ट्र्याक खोल्ने काम भइरहेको छ । भारतले सरकारसँग बथनाहा-कटहरी खण्डको रेलमार्गका लागि २ अर्ब ८० करोड भारतीय रुपैयाँको लगानी गर्ने सम्झौता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *