तीन अर्थविद्को एउटै चेतावनी– अर्थतन्त्रमा पहेँलो बत्ती बल्यो, अब रातो बल्ने खतरा !

काठमाडौँ । नेपालको अर्थतन्त्र अहिले संटकमा रहेको र यही अवस्था रहे केही समयभित्रै महासंकटमा जाने तीन अर्थविद्ले चेतावनी दिएका छन् । अहिले नेपालको अर्थतन्त्रमा पहेँलो बत्ती बलेको र केही समयमै रातो बत्ति बल्ने खतरा रहेको उनीहरुको चेतावनी छ ।

श्रीलंकाले पनि ३ वर्षअघि यस्तै समस्याको बेवास्ता गरेको थियो : प्रा.डा. विश्वम्भर प्याकुरेल
राजधानीमा मंगलबार आयाेजित कार्यक्रमा अर्थविद् प्राडा. विश्वम्भर प्याकुरेलले सरकारले अहिले देखिएको अर्थतन्त्रको समस्या समाधानको लागि गम्भीर भएर कदम नचाले श्रीलंकाको जस्तो संकट आउनसक्नेतर्फ सचेत गराएका छन् । अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार र सरोकारवाला निकायले गम्भीर भएर पहल लिनुपर्नेमा उनको जोड छ ।

उनले श्रीलंकाले सुरु सुरुमा अर्थतन्त्रमा समस्या हुँदा बेवास्ता गरेकोले आजको अवस्था व्यहोरेको पनि उल्लेख गरे । उनले भने, ‘आजभन्दा तीन वर्ष अघि श्रीलंकामा जे खालको लक्षण अर्थतन्त्रमा देखियो, अहिले नेपालका मूलभुत आर्थिक परिसूचकहरु कताकत श्रीलंकाको तीन वर्ष अघिको जस्तो देखिएको छ । त्यतिवेला श्रीलंकामा बेवास्ता गरिएको थियो । अहिले उसले गम्भीर समस्या भोगिरहेको छ । त्यही भएर नेपाल गम्भीर हुनुपर्छ । अहिले हाम्रो सम्पूर्ण सरकार, सरकार सञ्चालन प्रणाली नै कस्तो देखियो भने पब्लिक सेक्टरबाट कराइरहने, मिडियामा हामी बोलिरहने, तर अर्थतन्त्रको समस्या समाधान गर्न सरकारको तर्फबाट कुनै चासो देखिएन । नेपालको सरकार सञ्चालन प्रणाली नै ज्यादै नै फितलो छ ।’

उनले आफूहरुले मुलुकको अर्थतन्त्रको समस्या समाधानको लागि सकारात्मक सुचना दिएको पनि सुनाए । उनले श्रीलंकाको संकटबारे प्रकाश पार्दै भने, ‘श्रीलंकाले ऋण बढाउँदै गएको हो, बीआरआईअन्तर्गत मात्रै ऋण थिएन । श्रीलंका र चीनबीच राम्रो सम्बन्ध थियो । चीनसँग लिएको ऋणबाट धेरै असर पर्ने थिएन । श्रीलंकामा वैदेशिक पुँजीको अभाव देखिएको थियो ।’

उनले नेपालमा रेमिट्यान्सको सूचकमा पनि उतारचढाव आएको स्मरण गराए । उनले नेपालका आर्थिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने निकायहरुबीच नै समन्वय नभएको गुनासो पोखे । उनले भने, ‘योजना आयोग एकातिर छ, राष्ट बैंक अर्कोतर्फ छ, र अर्थ मन्त्रालय अर्कोतर्फ छ । यी तीनै निकाय एकैतर्फ हुनुपर्छ । श्रीलंकामा करप्सन बढ्यो । परिवारवाद हाबी भयो । नेपालमा पनि त्यही अवस्था छ । ठूला–ठूला भ्रष्टाचार काण्ड त कति छन् । पैसा रोल हुनुपर्छ । अनिमात्रै विकास हुन्छ । पुँजीगत खर्च हुनसकेको छैन । नेपाल आयल निगम घाटामा छ । नेपाल एयरलायन्स घाटामा छ । सरकारले किन सेतो हात्ती पालेर बस्ने ? यसलाई पूनसंरचना गर्ने हो कि ? रोजगारी पनि पटक्कै छैन । १९ देखि २९ वर्षको उमेरको समूह त १९ प्रतिशतभन्दा बढि बेरोजगारी छ । विदेशी विनिमय सञ्चिति (फरेन एक्सचेन्ज रिजर्भ)को पनि त्यही गति छ । आज ९ खर्बको रिजर्भ छ ।’

सत्तापक्षीय गठबन्धनको बैठकमा कहिल्यैपनि अर्थतन्त्रको बारेमा छलफल नभएको उनको गुनासो छ । उनले भने, ‘बरु, चुनावी तालमेलको विषयमा कुरा भएको छ । अहिले खाद्यान्नको मूल्य बढेको छ । हाम्रो उत्पादन खर्च पनि बढिरहेको छ । भारतसँग कुरा गर्नुपर्छ । भारतबाट आउने यी–यी वस्तुमा कर लगाउँछौँ भनेर भन्नुपर्यो । हामीले आँट देखाउनुपर्छ ।’

उनले अहिले दलहरु चुनावको मुखमा रहेको सुनाए । मन्त्रीहरुले प्रधानमन्त्रीलाई नटेरेको पनि उनको गुनासो छ । उनले भने, ‘प्रधानमन्त्रीलाई कसैले टेर्दैन् । नेपालको अर्थतन्त्रको अवस्थाबारे हामीले सकारात्मक सुचना दियौँ भने पनि राम्रो हुन्छ, सरकारलाई सतर्क बनाउनुपर्छ । तर नेपालमा गम्भीरता जुन देखाउनुपर्ने हो, त्यो देखाइएको पाइएन । मुलुकमा उत्पादन भएको अन्नलाई किन्नुपर्यो । स्टोरेज फ्यासिलिटी छ भन्ने कुरा तथ्यांकमा छ, तर व्यवहारमा ध्यान दिनुपर्छ । व्यापार घाटा ठूलो छ, व्यापारलाई सहजीकरण गर्नुपर्छ । सरकारले यसका लागि ‘होमवर्क’ गनुपर्छ । रेमिट्यान्स किन घटेको हो ? ‘करप्सनको केश’ टुंगो लगाउनुपर्छ । तर, यहाँ त कुनै कुरा भएको छैन् । नेपालका शासकहरुले चेत राख्नुपर्छ ।’

पहेँलो बत्ती बलिसक्यो, अब रातो बत्ती बल्ने खतरा : डा. चन्द्रमणि अधिकारी

अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो अवस्थामा नपुगेको बताएका छन् । उनले अहिले श्रीलकांमा मात्रै नभएर पूरा विश्व अर्थतन्त्रमा नै फेरबदल देखिएको सुनाए । उनले भने, ‘बेलायतका अर्थमन्त्रीले स्प्रिङ स्टेटमेन्ट दिँदा अब १३ लाख मान्छे बेरोजगारमा जान्छ भनेका छन् । बेलायत नै आत्तिसकेको छ । ‘स्यांक्सन’ र ‘काउन्टर स्यांक्सन’ भैरहेको छ । विश्वव्यापी रुपमा असर परिरहेको छ । हामी विश्व अर्थतन्त्रसँग परनिर्भर भैसकेकोले असर परेको छ । भोलि यस्तो हुन्छ भन्ने अनुमान गर्ने अवस्था छैन । पाकिस्तानले रसियाको ग्यास लिने भनेको छ । विश्वमै अब ध्रुवीकरण भैरहेको छ । भोलिको दिनमा डलरको भविष्य के हुन्छ भन्नसक्ने स्थिति छैन ।’

उनले नेपालको अर्थतन्त्रलाई ‘कक्टेल अर्थतन्त्र’को संज्ञा दिए । उनले श्रीलंका र नेपालको अर्थतन्त्रको चरित्र नै फरक रहेको दृष्टान्त पेश गरे । उनले भने, ‘श्रीलंका र हाम्रो अर्थतन्त्रको चरित्र फरक छ । श्रीलंकाको अथर्तन्त्र १६ प्रतिशत पर्यटनमा डिपेन्ड थियो । कृषिमा उसको ८ प्रतिशत हो, हाम्रो २६ प्रतिशत हो । उसले आफ्नो रिसोर्सको मिस म्यानेजमेन्ट गर्यो । अर्गानिक खेतीमा गर्यो । रसायनिक मल बन्द गर्यो । उत्पादन घट्यो । बढी ब्याजको ऋण लियो, त्यो पनि छोटो अवधिको ऋण लियो ।’

उनले पछिल्लो समय नेपालको वैदेशिक ऋण बढेको तथ्यांक सुनाए । उनले भने, ‘यो संकेत राम्रो होइन । तर, हाम्रो ऋण कम ब्याजदरको छ, अनि लामो समयको छ । नेपालले ‘माइक्रो लभेलको प्लान’ ल्याएन । अहिले नेपालको श्रीलंका र पाकिस्तानको अवस्था हुन्छ भन्ने होइन । मुद्राको अवमूल्यन गर्ने हो कि भन्ने कुरा आएको छ । यो संकटको बेलामा मुद्रा अवमूल्यन गर्नुहुँदैन । नेपालको अर्थतन्त्र भनेको भारतीय अर्थतन्त्रको ‘स्याटलाइट इकोनोमी’ हो । तर, निच मारेर बस्यौं भने र यतातर्फ ख्याल नै गरेनौं भने ७/८ महिनापछि समस्या आउँछ । भर्खरै हामीले पेट्रोलियम पदार्थको अभावको सन्दर्भमा पनि ठूलो लाइन लागेको देख्यौँ, यो मानिसक रुपमा डर देखियो, यसबाट बाहिर ल्याउनुपर्छ । वैदेशिक मुद्रा कम भयो । घट्ने दरलाई कसरी जोगाउने ? स्रोतको कमी भयो । मान्छेले पैसा होल्ड गरेको छ । अहिले नगद होल्ड भएको छ । निर्वाचनमा प्रयोग गर्न होल्ड भएको छ ।’

उनले सरकारी खर्च बढाउनुपर्ने सुझाव पनि दिए । उनले भने, ‘सरकारी खर्च बढाउनुको साथै वैदेशिक मुद्राको स्टक बढाउनुपर्छ । भ्युटावर बनाउनुको सट्टा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ । अब पोलिटिकल्ली पनि यसमा इन्टरभेन्सन हुनुपर्छ ।’ उनले नेपालको अर्थतन्त्रको समस्याको कुरा गर्दा पहेलो बत्ती बलिसकेको सुनाए । उनले भने, ‘हामी अब युर्टन हुन सक्ने अवस्था त छैन, अब रातो बत्ति बल्ने खतरा छ । तर, ‘ग्रे–एरिया’मा आउने अवस्था छ । अहिले आत्तिहाल्ने अवस्था छैन । भोलि संकट आउनसक्छ । सचेत भएर बस्ने बेला छ । सतर्कता अपनाउनुपर्छ । हामीले कृषि क्षेत्रमा लगानी बढाउनुपर्छ ।’

अहिलेको समस्यालाई उपेक्षा गरियो भने श्रीलंकाजस्तो समस्या आउँछ : डा. डिल्लीराज खनाल
अर्थविद् डा. डिल्लीराज खनालले आफूहरुले धेरै पहिलेदेखि नै मुलुकमा आर्थिक संकट आउँदैछ भनेर सरकारलाई सचेत गराएको स्मरण गराए । उनले भने, ‘अहिले जुन आर्थिक संकट छ, एउटा क्षेत्र मात्रै होइन । पुँजीगत खर्च नहुने, राजश्व जम्मा भएर बस्ने । जुन ढंगले बैकिङ क्षेत्रबाट लगानी भयो । व्यापार घाटा बढ्यो, चालु खाता घाटा छ, धेरै समस्या छ । हिजो मात्रै राष्ट्र बैंकले अर्थतन्त्रमा निकै ठूलो संकट नै आइसक्यो भनेर कठोर नीति लियो । हामी त यो विषय सुरुदेखि नै लेखिरहेका छौँ । अर्थतन्त्रका संकेत राम्रा छैनन्, गम्भीर मोडतर्फ अर्थतन्त्र जाँदैछ भनेर भनेका थियौँ ।’

उनले एकातिर अर्थतन्त्र ह्रास हुने र अर्कोतर्फ आयात व्यापक रुपमा बढ्ने समस्या औँल्याए । उनले भने, ‘हामीले त सरकार सजग हुनुपर्छ भनेका थियौँ । तर, सरकारका जिम्मेवार मान्छेले ७ प्रतिशतभन्दा बढीको वृद्धिद्धर हासिल गर्छौँ भनेर भने । संकटोन्मुखतर्फ अर्थतन्त्र गैरहेको बेला सरकारले समस्याको समाधानको लागि पहलकदमी लिनुपर्दथ्यो ।’

उनले सरकारले सरोकारवालाहरु सबैलाई राखेर अघि अहिले देखिएको समस्या समाधानको लागि कदम चाल्नुपर्नेमा त्यसो नगरेको दुःखेसो पोखे । उनले भने, ‘समस्या समाधानको लागि सरकारको संवेदनशीलता देखिएन । उपेक्षा गरियो । ‘बीआरआई’को कारण श्रीलंकामा समस्या आयो भन्ने पनि छ, संवेदनशील भएर काम नगर्दा त्यहाँ समस्या हो । नेपालको समस्या श्रीलंकाको नेचरको होइन । तर, हाम्रो समस्या पनि चिन्तापूर्ण छ । सबभन्दा पहिले सरकार संवेदनशील हुनुपर्यो र सरकारले गम्भीर रुपमा महसुस गर्नुपर्यो । जुन ढंगले ‘फरेन एक्सचेन्ज रिभर्ज’ रित्तिदैछ, यसले संकट ल्याउने कुरा अवश्यम्भावी छ ।’

उनले १९९६ मा भारतसँग भएको ट्रिटी तुलनात्मक प्रगतिशील थियो भन्ने धारणा राखे । उनले भने, ‘मुद्रा सञ्चितीमा समस्या आएको छ । सरकार संवेदनशील भएन । मूल्यमा ठूलो चाप पर्ने खतरा छ । रोजगारीको अवसर सिर्जना गर्ने कुरामा समस्या पनि आउनेछ । भोलि सबैतर्फ समस्या आयो भने रेस्क्यु गर्ने अवस्था कठिन छ, सरकारले महसुस गर्नुपर्यो कि अब गम्भीर संकटतर्फउन्मुख छौँ भनेर । ऋणको अंश बढिरहेको छ । जिडीपीको ४३ प्रतिशत पुगेको छ । यो एक प्रकारको उच्च हो । एकातिर ऋण बढ्ने अनि अर्कोतर्फ अर्थतन्त्र रसातलमा गैरहने र ठूलो समस्या आउने खतरा छ ।’

अब समस्या समाधानको लागि बृहत्त रुपमा हुनुपर्नेमा उनको जोड थियो । उनले भने, ‘पुँजीगत खर्च बढाउनुपर्छ । विदेशी सहायतको उपभोग गर्ने क्षमताको वृद्धि गर्नुपर्छ ।

अनुउत्पादक खर्चलाई घटाउनुपर्छ । फजुल खर्च तत्काल कटाउनुपर्छ । ‘स्पेशल फण्ड क्रियट’ गर्नुपर्छ । त्यो पैसा जहाँ समस्या छ, त्यहाँ लगानी गर्नुपर्छ । एक्सचेन्ज रेट पोलिसीलाई रिभ्यु गर्नुपर्छ । ठोस कार्ययोजना र कार्यान्वयनको नीति पनि बनाउनुपर्छ । अब एक्सनमा जान ढिलो भयो । विस्तृत कार्ययोजना बनाएर एक्सनमा गैहाल्नुपर्छ । महासंकटमा पुग्नबाट जोगिनुपर्छ । हाम्रो पनि अर्थतन्त्र कोभिडले असर पारेको अर्थतन्त्र हो । अझ बढी प्रताडित नहोस भनेर बेलैमा सोच्नुपर्छ । श्रीलंकाजस्तो संकट आउने सम्भावनाको कुरा गर्दा यसैगरी उपेक्षा गरियो भने श्रीलंकाजस्तो समस्या आउँछ । यो कुराको महसुस गरेर हामीले आवश्यक कदम चाल्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *