प्रधान मन्त्रीद्वारा चोभार सुख्खा बन्दरगाह उद्घाटन, बन्दरगाहमा ५ सय कन्टेनर अट्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एक समारोहको बीच काठमाडौँको चोभारमा निर्मित सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन् । उद्घाटन कार्याक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुख्खा बन्दरगाहले नेपालको आयात निर्यात तथा वैदेशिक व्यापारलाई सहजीकरण गर्ने बताए । उनले काठमाडौँसम्म रेलमार्ग निर्माण गरी रेलबाट सामान ढुवानी गर्दा सस्तो पर्ने भए पनि रेलमार्गका स्रोत जुटाउनु चुनौतीपूर्ण रहेको बताए ।

‘रेलमार्फत सामान ल्याउन सके सस्तो पर्ने थियो,’ उनले भने, ‘तर रेलमार्ग बनाउन ठूलो खर्च लाग्छ । हामीले दातृ निकायसँग सस्तो दरको ऋण वा अनुदान लिएर यो काम गर्न सक्छौँ । तर, ऋण लिँदा पनि तिर्न सक्ने गरी लिनुपर्ने हुनाले सोचविचार गरिकन लिनुपर्ने हुन्छ । नत्र त्यसले हामीलाई झनै समस्यामा पार्छ ।’

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले चोभार सुख्खा बन्दरगाहले हाम्रो वैदेशिक व्यापारलाई सहज बनाउने बताए । उनले वैदेशिक मुद्राको सञ्चित हाल ६.६ महिनाको आयात मात्रै धान्ने अवस्थामा रहेकोले विदेशी विनिमयको सञ्चिति बढाउनेतर्फ सरकारले ध्यान दिइरहेको बताए ।

कार्यक्रममा काठमाडौँ किर्तीपुुरका सांसद राजेन्द्र केसीले वर्षौँ देखि हिमाल सिमेन्टका कारण धुलो र धुवाँको शिकार बन्दै आएका चोभारबासीले अव भने त्यस्तो अवस्स्थाबाट मुक्ति पाउने बताए । उनले चोभारको खाली जग्गामा अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माण गर्न समेत आग्रह गरे ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बिन्धित मन्त्रालकाय कर्मचारीहरु सहभागि रहेको थिए ।

चोभारस्थित हिमाल सिमेन्ट उद्योगको उत्पादन प्लान्ट रहेको स्थानमा नेपाल इन्टर मोडल यातायात विकास समितिले उक्त बन्दरगाह निर्माण गरेको हो । डेढ वर्ष (१८ महिना)मा निर्माण पूरा गर्ने लक्ष्यसहित २०७५ माघ ३ गतेबाट विधिवत् निर्माण सुरु गरिएको उक्त बन्दरगाह साढे २ वर्षभन्दा बढी २७ महिनामा निर्माण पूरा भएको हो ।

नेपाली कम्पनी आशिष कन्स्ट्रक्सन र चिनियाँ कम्पनी साक्षीको जोइन्टभेन्चर कम्पनीले १ अर्ब ६० करोड रुपैयाँमा उक्त बन्दरगाह निर्माणको ठेक्का लिएको थियो । २२० रोपनी क्षेत्रफलमा ३ ओटा गेटसहितको यार्ड, भन्सार कार्यालय भवन, क्वारेन्टाइन भवन, ३ वटा गोदाम भवन, ३ वटा ढुवानी साधनको मर्मत गर्न संरचना निर्माण गरिएको छ । बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय सवारी साधान अट्ने क्षमता रहेको छ ।

स्थानीय अवरोध, कोभिडलगायत कारणले बन्दरगाहका भौतिक पूर्वाधार निर्माणमा झण्डै ९ महिना बढी समय लागेको इन्टरमोडल यातायात कम्पनीले जनाएको छ । विभिन्न अवरोधका कारण १४ महिनासम्म भौतिक पूर्वाधार निर्माणको काम रोकिँदा समय बढी लागेको समितिले जनाएको छ ।

सुख्खा बन्दरगाह निर्माण पूरा भई सञ्चालनमा आएपछि काठमाडौँ ल्याइने सामान सिधै चोभारमा ल्याएर भन्सार जाँचपास गर्न सकिने अपेक्षा गरिएको छ ।

कानुन निर्माण, कार्यविधि निर्माण, जनशक्ति तयार, अन्य निकायहरुको व्यवस्थापन जस्ता कार्य भइरहेको छ ।

खास गरी चीनतर्फका नाकाबाट नेपाल भित्रिने सामान चोभार ल्याएर चेकजाँच गर्न सकिने व्यवस्था पनि गर्न सकिने अपेक्षा भन्सार विभागको छ ।

काठमाडौँ–निजगढ दू्रतमार्ग निर्माण चाँडो भए यो बन्दरगाहमा सामानको चाप बढ्ने अपेक्षा गरिएको छ । उक्त मार्गबाट निजगढ हुँदै सिधै सामान ल्याएर चेकजाँच गर्दा ढुवानी लागत र झण्झट कम हुने आम अपेक्षा छ । हाल विभिन्न भन्सार बिन्दुबाट कामाठमाडौँमा सामान ल्याउने मुख्य नाकाको रुपमा कलङ्की रहेको छ । तर उक्त नाकामा सवारी साधानको चापका कारण जाम हुँदा यसले समय र ढुवानी लागत दुबै बढाउने गरेको छ ।

सुख्खा बन्दरगाह सञ्चालनका लागि सरकारले ३१ जनाको छुट्टै दरबन्दी सिर्जना गर्नुपर्ने छ । भन्सार नाकामा आएका वस्तुहरुको क्वारेन्टाइन जाँच गर्न क्वारेन्टाइन चेक पोष्ट, सुरक्षाका लागि प्रहरी र व्यवस्थापकीय सुरक्षा टोलीको समेत व्यवस्था गर्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *