एमालेले गरेन निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर, के भन्छ आयाेग ?

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर नगरी नै फर्किएकाे छ । निर्वाचन आयाेगले मंगलबार वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भाग लिँदै गरेका दलहरूलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न बाेलाएकाे थियाे । तर, एमालेका प्रतिनिधिहरू भने हस्ताक्षर नगरी नै फर्किए ।

बैठकमा राष्ट्रिय मान्यता पाएकाबाहेकका दल [साना दल] हरूले विराेध जनाएका थिए । आफूहरूलाई हस्ताक्षर गर्नका लागि दबाब दिएकाे भन्दै साना दलहरूले नाराबाजी नै गरेका थिए । नेपाल समावेशी पार्टीका अध्यक्ष माेतिलाल भारतीले भने— ‘हामीलाई शुरूमै केही नभनीकनै हस्ताक्षर गर्नुस् भन्नुभयाे । त्यसपछि हामीले दबाब सिर्जना भयाे भनेर केहीबेर अवरुद्ध गरेका हाैँ । अन्तिममा त हामी मान्याैँ र हस्ताक्षर पनि गर्‍याैँ ।’

तर, अन्तिममा एमालेले भने हस्ताक्षर गरेन । एमालेले हाेहाेल्ला गरेकाे भन्दै हस्ताक्षर नगरेकाे बताइएकाे छ । यसबारे बुझ्दा निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले भनेका छन्, ‘त्याे ठूलाे कुरा हाेइन । आज नगर्नेले भाेलि गर्नुहाेला नि । हामी उहाँहरूले आचारसंहिता मान्नुहुन्छ भन्नेमा विश्वस्त छाैँ ।’ दलहरूकै समन्वयमा बनाइएकाे आचारसंहिता भएकाेले पनि यसमा नमान्नुपर्ने कुरा केही नभएकाे उनकाे भनाइ छ । ‘एमालेले नै किन गरेन भन्ने हाेइन । अन्य दलहरूका नेताहरू पनि आउनुभएन हाेला । त्यसलाई भाेलि-पर्सि टुङ्ग्याउनुहाेला नि उहाँहरूले । तर, आचारसंहिता भने मान्नैपर्छ । किन पनि भने— याे आचारसंहिता सबै दलहरूकाे परामर्शपछि बनाइएकाे हाे ।’

एमाले निर्वाचन विभाग उपप्रमुख निरज आर्चायले भने एमाले निर्वाचन आचारसंहिता पालनामा कहीँ पनि नचुक्ने बताउँछन् । ‘निर्वाचन आचारसंहिता पालन गर्न एमाले प्रतिबद्ध छ, पालना गर्छ । सरकारले पनि गर्नुपर्छ । निर्वाचन आयुक्तहरूले पनि पालना गर्नुपर्छ,’ उनले भने, ‘आजकाे कार्यक्रममा साना दल दल र निर्वाचन आयुक्तहरूबीच अस्वभाविक किसिमको वादविवाद, नाराबाजी भयो । त्यो किसिमको वातावरणमा हस्ताक्षर गर्ने अवस्था नै थिएन । हामी फर्केर आयाैँ । हाम्राे मात्रै छुटेकाे हाेइन हाेला ।’

♦ याे पनि:
   आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगले दलहरूबाट लियाे प्रतिबद्धता
   निर्वाचन आयाेगलाई दलहरूकाे प्रश्न- एकीकृत समाजवादी र लाेसपा कसरी राष्ट्रिय दल भए ?
   निर्वाचन आयाेगले बाेलाएकाे बैठकमा दलहरूकाे नाराबाजी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *