हाम्रा चेलीहरू सांसदबाट असुरक्षित छन् : सुनिल थापा (भिडिओसहित)

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले चेलीबेटीहरू सांसदबाटै असुरक्षित रहेको टिप्पणी गरेका छन् । गृह जिल्ला धनकुटामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले चेलीबेटीहरू सांसदबाटै असुरक्षित रहेको टिप्पणी गरेका हुन् ।

सेनाभन्दा सांसदबाट असुरक्षित रहेको भन्दै पूर्व मन्त्रीसमेत रहेका थापाले चेलीबेटीहरूले होसियार रहनुपर्ने बताए । ‘यदि हाम्रा चेलीबेटीमाथि कसैले शंका गर्नुपर्छ भने त्यो हाम्रै सांसहरुबाट गर्नुपर्छ । एकजना एमाले सांसद हालसालै बलात्कार गरेको आरोपमा पक्राउ परे, ’ उनले भने, ‘यहीँ धनकुटामा पनि यस्ता उदाहरणहरू छन्, तर लुकाएर राखिएका छन् ।’

नेता थापाले छिन्ताङ घटनालाई एमालेले अतिरञ्जित गरेको आरोप लगाएका छन् । आफूले प्रतिबद्धता गरे अनुसार छिन्ताङ घटनाका पीडितलाई सहिद घोषणा गरेको तर एमालेले सहिदको नाममा भ्रष्टाचार, लुटतन्त्र र ठगी खाने भाँडो बनाएको उनको आरोप थियो ।

सहिदका परिवारलाई बन्धनमा नबस्न आग्रह थापाले आग्रह गरे । ‘म सहिदका परिवारलाई भन्न चाहन्छु, अब तपाईँहरू उठ्नुस्, उहाँहरूको बन्धनमा बस्ने हैन,’ उनले भने, ‘तपाईँ यो देशको नागरिक हो । आउनुस् प्रजातन्त्रलाई जोगाउन एक भएर हामी काम गरौँ ।’

यसअघि जितेका एमाले सांसदले जनतालाई झुटो आश्वासन दिएर ढाँटेको उनले बताए । ‘एमालेले यसअघि चुनावमा जिताएर पठाए, धनकुटालाई प्रदेश १ को राजधानी बनाउँछौँ भने, तर मलाई अहिले अपसोच लागेको छ, एमालेहरू अहिले कुन दुलोमा लुकेर बसेका छन् ?,’ उनले भने, ‘आगामी निर्वाचनमा एमाले धनकुटामा क्लिन स्विप हुन्छ ।’

प्रतिक्रिया

One thought on “हाम्रा चेलीहरू सांसदबाट असुरक्षित छन् : सुनिल थापा (भिडिओसहित)

  1. हामी धनकुटेली जनताले तपाइँ बाट धेरै नै आश गरेका छौँ । हाम्रो आशालाइ निरासामा नपुर्याउनु होला, हामिले तपाईंलाई के कुरामा साथ दिन पर्ने हो निर्धक्क भन्नुस हामी छौँ साथमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *