सत्तारुढ गठबन्धन : वडा सदस्यसम्मै तालमेल ?

काठमाडाैँ । सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी तालमेलबारेकाे छलफललाई तीव्र पारेकाे छ । सम्बद्ध दलहरूले आ-आफ्नाे राजनीतिक हैसियतअनुसार तालमेलकाे प्रयास गरिरहेका छन् । नेकपा [एकीकृत समाजवादी] का नेता जीवनराम श्रेष्ठकाअनुसार सत्तारुढ दलहरूले अहिले यसै विषयमा गृहकार्य गरिरहेका छन् ।
गठबन्धनसम्बद्ध दलहरू वडा तहसम्मै तालमेल गरी जानुपर्नेमा लगभग सहमत भएका छन् । आवश्यकता र स्थानीय विशेषताका आधारमा तालमेल हुने नेता श्रेष्ठकाे भनाइ छ । ‘केन्द्रबाटै भन्दापनि स्थानीयस्तरमा देखिएका/भएका विभिन्न आवश्यकताहरूका आधारमा तालमेल गर्ने भनेका छाैँ, यसमा सबै दलहरूले सहमतिसमेत जनाएका छन्’ उनले भने । गठबन्धनमा वडा सदस्यदेखि महानगरको मेयरसम्मका पद बाँड्ने सहमति भएकाे एक नेताले बताएका छन् । उनकाअनुसार वडा सदस्यसम्मै तालमेलबाटै जाने सहमति गठबन्धनमा जुटेकाे छ ।
त्यसका लागि पालिकाहरूकाे वस्तुस्थिति बुझ्ने काम दलहरूले गरिरहेकाे माओवादी नेता लीलामणि पाेखरेलले बताए । उनकाअनुसार गठबन्धनमा वडा तहसम्मै तालमेल गरेर जाने सहमति लगभग जुटिसकेकाे छ । त्यसैमा अहिले दलहरूले गृहकार्य गरिरहेकाे उनले बताए । ‘अहिले सत्तारुढ दलहरूबीच यी नै विषयहरूमा छलफल भइरहेका छ,’ उनले भनेका छन्, ‘अब चाँडै नै एउटा निश्चित सहमति निकाल्छ र अघि बढ्छाैँ ।’
एकीकृत समजवादीका महासचिव डा. वेदुराम भुसाल पनि वडा तहसम्मै तालमेल गरेर जानेबारे सहमति चाँडै जुट्ने बताउँछन् । ‘सम्भवतः सबै वडासम्मै तालमेल हुने सम्भावना उच्च छ । त्यसकै लागि जिल्ला र पालिकाको वस्तुस्थिति बुझ्दै छाैँ । यसमा तलबाट नेताहरूले रिपार्टिङ्ग गर्नेछन्, त्यसकाे आधारमा थप तयारी गर्नेछाैँ,’ उनले भनेका छन् ।
सत्तारुढ गठबन्धनका सबै दलहरूले चैत २२ गतेभित्र तथ्यांकसहितको प्रतिवेदन केन्द्रमा बुझाउन सर्कूलर जारी गरेका छन् । साेहीअनुसार जिल्ला तथा पालिकाहरूले तयारी गरिरहेका छन् । उनीहरूलाई प्रमुख प्रतिपक्ष दल एमालेकाे अवस्थाबारे समेत रिपाेर्टिङ्ग गर्न भनिएकाे छ ।
आसन्न वैशाख ३० गतेको स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय लिइसकेको अवस्थामा गठबन्धनका दलहरूले त्यसलाई जिल्ला र पालिकास्तरमा लैजान सर्कूलर पठाएका हुन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आफ्ना जिल्ला तहमा गठबन्धनबारे छलफल गर्न निर्देशन पत्रसमेत पठाइसकेका छन् ।
त्यसअनुसार गत शुक्रबार दिनभर जिल्ला तहमा गठबन्धनको बैठक बसेकाे थियाे । तत्पश्चात् शनिवार बिहानदेखि पालिकास्तरमा छलफल गर्ने कार्यक्रम थियाे र दलहरूले छलफलसमेत गरिसकेका छन् । जसबाट केन्द्रकाे सर्कूलरअनुसार नै गठबन्धन गरेर जानेमा जिल्ला तथा पालिकास्थित दलहरू सहमत भएका छन् ।
तालमेल गरेर जानेबारे सबै दलहरूले जिल्लास्थित समितिहरूलाई पत्र पठाइसकेका छन् । दलहरूले ०७४ सालकाे स्थानीय तहमा भएको निर्वाचनमा दलहरूले पाएकाे मतसमेतलाई ध्यानमा राखेर रिपाेर्टिङ्ग गर्न भनिएकाे छ ।
दलहरूले ७५३ वटै स्थानीय तहको अवस्था केन्द्रमा प्राप्त भएपछि चुनावी तालमेलको मोडालिटीसहित निर्णय गर्ने अधिकार जिल्ला र पालिकालाई दिने तयारी गरेका छन् ।
प्रदेश/जिल्लामा गठबन्धन संयन्त्र गठन
गठबन्धनसम्बद्ध दलहरूले प्रदेश तथा जिल्लामा चुनावी तालमेल गर्न संयन्त्र गठन गरिरहेका छन् । याे क्रमलाई उनीहरूले जारी राखेका छन् । यसक्रममा प्रदेश नं. १ मा संयन्त्र बनाइएकाे छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले प्रदेशमा गरिने गठबन्धनको मोडलबारे छलफल थाल्न संयन्त्र गठन गरेका हुन् । गत शनिवार इटहरीमा भएको बैठकले संयन्त्र गठन गरेकाे हाे । संयन्त्रमा सबै दलबाट दुई/दुई जना प्रदेश पदाधिकारीको प्रतिनिधित्व गराइएको छ ।
बैठकले वडा तहसम्मै निर्वाचन संयन्त्र बनाएर गठबन्धनलाई प्रभावकारी बनाउने र प्रदेश गठबन्धनलाई सहज बनाउन प्रदेशमा संयन्त्र बनाएर काम गर्ने निर्णय गरेको प्रदेश कांग्रेसका सभापति उद्धव थापाले जानकारी दिएका छन् । संयन्त्रमा कांग्रेसबाट प्रदेश सभापति उद्धव थापा र महामन्त्री उमेश थापा छन् ।
यस्तै माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग र उपाध्यक्ष शिवकुमार डाँगी, समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लिङ र उपाध्यक्ष उमेश थापा छन् ।
यस्तै रुपन्देहीमा पनि चुनावी तालमेलकाे माेडलबारे छलफल गर्न जिल्लास्तरीय संयन्त्र गठन भएकाे छ । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव, एकीकृत समाजवादीका अध्यक्ष राजु गुरुङ्ग र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरिएको हो ।
उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थिति बुझी केन्द्रलाई सुुझाव पठाउने र जिल्लामा आवश्यक रणनीति तय हुनेछ । संयन्त्रले २२ चैतमा थप छलफल गर्नेछ । रुपन्देहीमा १६ वटा स्थानीय तह छन् ।
दलहरूले अन्य प्रदेश तथा जिल्लाहरूमा पनि संयन्त्र बनाउने गृहकार्यलाई तीव्रता दिएका छन् ।








