साढे ३२ अर्बको सुन आयात

काठमाडौँ । चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात भएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा सुन आयातमा ९९ प्रतिशतले वृद्धि भएको छ । सुनको मूल्य बढेकाले ठूलो रकमको सुन आयात भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले मूल्य बढेका कारण आठ महिनामै ३२ अर्बको सुन आयात भएको बताए ।

परिमाण भन्दा पनि रकमका आधारमा सुनको आयात धेरै देखिएको उनको भनाइ छ । ‘आठ महिनामा ३२ अर्बको सुन आयात हुनु सामान्य हो । यो वर्ष मूल्य बढेका कारणले गर्दा पनि रकममा धेरै देखिएको हो,’ उनले भने । मूल्य बढेकाले स्थानीय बजारमा कारोबार ५० प्रतिशतले गिरावट आएको उनको भनाइ छ । सामान्य अवस्थामा दैनिक २५ देखि ३० किलो सुन विक्री हुने गरेकोमा अहिले आधाले घटेको उनले बताए । -कारोबार दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *