पेट्रोलियमको अवरोध हट्यो, बिक्री वितरण निर्बाध

काठमाडौँ । पेट्रोलियमको ढुवानी र बिक्री वितरणमा गरिएको अवरोध हटेको छ । नेपाल आयल निगम र आन्दोलनरत पक्षबीच भएको सहमतिपछि पेट्रोलियमको अवरोध हटेको हो ।

सहमतिसँगै भोलिदेखि पेट्रोलियमको ढुवानी र बिक्री वितरण निर्बाध रूपमा गरिने भएको छ । निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीबीच भएको छलफलमा मागहरूलाई सम्बोधन गर्ने गरी सहमति भएको हो । सहमतिपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘मागहरू मध्ये बुँदा नम्बर ५ मा रहेको पेट्रोलियम विक्रेता कमिसन सम्बन्धी र बुँदा नम्बर ६ को एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भयो ।’

आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैदेखि स्थगन गरिएको छ । योसँगै पेट्रोलियमको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन भएको हो ।

निगमका सम्पूर्ण डिपो कार्यालयहरू भोलि बिहान ८ बजेबाट नै सञ्चालन गरिने पनि विज्ञप्तिमा जनाइएको छ । ‘पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू भोलि बिहान ८ बजेबाट नै सञ्चालन गरिने ब्यहोरा जानकारी गराउँदछौ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पेट्रोलियम आवश्यक परिमाणमा मात्र खरिद गर्नुहुन एवं अनावश्यक सच्चिति नगरिदिनु हुन समेत आम उपभोक्ता वर्गमा अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *