ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तार गर्न नेपाल र भारत सहमत

काठमाडाैँ । नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच हैदरावाद हाउसमा भएको वार्तापछि अन्तर्राष्ट्रिय सौर्य ऊर्जा साझेदारीमा नेपाल औपचारिक रूपमा सामेल हुने, नेपालको रेल्वे क्षेत्रमा भारतीय प्राविधिक सहयोग, पेट्रोलियम क्षेत्रमा सहयोग र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच विशेषज्ञ आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

आजै दुवै देशका प्रधानमन्त्रीले कुर्था-जयनगर यात्रुवाहक रेल सेवालाई झन्डा देखाएर शुभारम्भ गरियो भने नेपालमा प्रयोगका लागि भारतको ‘रुपे डिजिटल कार्ड’ पनि संयुक्त रुपमा सार्वजनिक गरिएको छ । प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदीले सोलु करिडोर १३२ किलोभोल्ट प्रसारण लाइनको पनि संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त प्रसारण लाइन भारत सरकारको रु तीन अर्ब २० करोड ऋण सहयोगमा र भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएको हो ।

समझदारीपत्रमा हस्ताक्षरपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले नेपाल-भारत सम्बन्धका विविध पक्षमा फलदायी छलफल भएको बताए । उनले भारतसँग नेपालको सम्बन्ध अति महत्वपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वमा भारतले गरेको प्रगतिको प्रशंसा समेत गरे ।

कोभिड-१९ को महामारी नियन्त्रणका लागि भारतले गरेको प्रभावकारी व्यवस्थापनको सराहना गर्दै प्रधानमन्त्री देउवाले महामारीविरुद्धको नेपालको लडाइँमा भारतबाट पहिलो खोप सहायताका साथै औषधि, चिकित्सा उपकरण उपलब्ध गराएकामा भारतप्रति हार्दिक आभार व्यक्त गरे। साथै उनले आजदेखि प्रचलनमा आएको रुपेबाट नेपालको वित्तीय क्षेत्रमा नयाँ अध्याय थपिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *