संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्छ : मन्त्री झाँक्री

विराटनगर । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताए । उनले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको कार्य क्षेत्रबारे विवाद आवश्यक नरहेको बताउँदै संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढाउनुपर्ने बताएका छन् ।

शहरी विकास मन्त्रालयद्वारा प्रदेश नम्बर १ को विराटनगरमा शुक्रबार आयोजित राष्ट्रिय शहरी निति तथा शहरी विकास ऐन तर्जुमा सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले संघीयताको मर्मअनुसार सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

‘अब हामीले तीनै तहका सरकारका कार्य क्षेत्रबारे विवाद गरेर बस्नु हुँदैन,’ उनले भने, ‘सँगै मिलेर अघि बढ्नुपर्छ ।’

मन्त्री झाँक्रीले अब केन्द्रले बजेट तथा कार्यक्रम बनाउन नहुने बताउँदै अब योजना छनोट वडा तहबाट हुनुपर्ने बताए । मन्त्रालयले संघीयता अनुसारको शहरी नीति परिमार्जन र शहरी विकास ऐन बनाउने बताउँदै यसमा सबैको अपनत्व हुने बताए ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रप्रसाद राईले संघीयताको मर्मअनुसार विकास र बजेट विकेन्द्रीत हुनुपर्ने बताए । ठूला शहरमा मात्र विकास र लगानी केन्द्रीत हुँदा बसाई सराईको क्रम बढेको बताउँदै उनले सबै क्षेत्रमा विकास पुग्ने गरी नीति परिमार्जन गर्नुपर्ने बताए ।

‘विकास निर्माणका काम ठूला शहरमा मात्र केन्द्रीत हुँदा बसाई सराई बढेको छ,’ उनले भने, ‘अब विकास र बजेट अविकसित ठाउँमा पुर्याउनुपर्छ । यी विषयहरु शहरी नीति परिमार्जन र शहरी विकास ऐन बन्नुपर्छ ।’

शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले संघीयतापछि शहरी नीति परिमार्जनको टड्कारो आवश्यकता देखिएकाले बताए । विभिन्न सुख सविधा खोज्दै शहरमा बसाई सर्नेदर बढिरहेको बताउँदै उनले परिमार्जित शहरी नीति र शहरी विकास ऐनले यसलाई समेट्ने बताए ।

सचिव डा. सिंहले शहरी विकास नीति परिमार्जन र शहरी विकास ऐन नहुँदा तीनै तहका सरकारबीचको समन्वयमा समस्या सिर्जना भएको बताइन्, ‘शहरी नीति परिमार्जन नहुँदा तीनै तहका सरकारबीच समन्वयमा समस्या भयो । प्राकृतिक स्रोत साधन बाँडफाटमा समेत अन्यौलता छ ।’

शहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक दिलिप भण्डारीले मन्त्रालयले सातै प्रदेशमा सबैको रायसहित शहरी नीति परिमार्जन गरिने बताए । उनले परिमार्जित शहरी नीति र शहरी विकास ऐनमा सबैको अपनत्व हुने बताए ।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले शहरी विकास नीति परिमार्जनबाट स्पष्ट मार्ग निर्देशन गर्ने बताए । शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउँदै श्रेष्ठले युटिलिटी कोरिडोर निर्माणले शहर व्यवस्थित बनाउन महत्वपूर्ण हुने बताए ।

अर्जुनधारा नगपालिकाका मेयर हरि रानाले शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनले हाल देखिएका समस्या समाधान हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *