सरकारले बढायो सार्वजनिक सवारीको भाडा

काठमाडौँ । सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा मात्रै भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार रुटअनुसार बढेको भाडाको दर सूची आइतबार सार्वजनिक गरिने छ । ‘आइतबार रुटअनुसार बढेको भाडाको सूची सार्वजनिक गरिनेछ, सूची सार्वजनिक भएपछि लागू हुन्छ,’ उनले भने, ‘स्थानीयस्तरमा चल्ने (लोकल) सवारीसाधनको भाडा भने बढ्ने छैन ।’

रुस-युक्रेन युद्ध सुरु भएसँगै पछिल्लो समय तेलको भाउ लगातार बढिरहेको छ । यसअघि यातायात व्यवस्था विभागले नै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाउन मन्त्रालयमा सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *