टिप्पणी

प्रधान मन्त्रीको भारत भ्रमण र नेपालको अपेक्षा

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा शुक्रबार छिमेकी देश भारतको भ्रमणमा निस्कँदै छन् । भनिरहनु परेन, भारत र नेपालको सम्बन्ध पुरानो र सामाजिक सांस्कृतिक रूपमा निकट मात्र छैन; बेला-बेला विवादित पनि बन्ने गरेकाे छ । नेपालको आन्तरिक राजनीतिमा अनावश्यक चासो र हस्तक्षेप गर्ने गरेको टिप्पणी खेप्दै आएको भारत र नेपालबीच वर्षौँदेखि कचल्टिँदै आएको सीमा विवादको सन्दर्भ पनि छ । अझ पछिल्लो समय त नेपाल र भारतले समाधान गर्नुपर्ने विषयमा कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत पनि छ ।

दुवै देशले आ-आफ्ना भएकाे दाबी गर्दै राजनीतिक तथा प्रशासनिक नक्सामा समेटेका यी क्षेत्रका विवाद टुङ्ग्याउन दुवै देशले कूटनीतिक पहल खासै गरेका छैनन् । १९५० को सन्धिको पुनरावलोकनको कुरा होस् वा दुई देशका प्रवुद्ध व्यक्ति सम्मिलित ईपीजीको प्रतिवेदन बुझ्न; भारतले गरिरहेको आनाकानी दुवै पक्षले महत्त्व दिनैपर्ने विषयका रूपमा रहिआएका छन् ।

♦ याे पनि:
   प्रधान मन्त्री देउवाको भारत भ्रमण तालिका सार्वजनिक

भारतको व्यापार घाटाको विषय होस् वा यसअघि नै घोषणा र थालनीसमेत गरेर त्यसै अलपत्र परेका परियोजनाहरूलगायत विषय छलफल हुनुपर्ने विषय हुन् । भारतले गरेको नोटबन्दीका कारण सटही हुन नसकेर थन्किएको नेपालीहरूसँग रहेको भारतीय रुपैयाँ सटहीको सन्दर्भ पनि छ ।

पछिल्लो पटक अमेरिकी परियोजना एमसीसी त्यसलाई रोक्न अर्को छिमेकी देश चीनले देखाएको सक्रियता तर भारतको मौनताको सन्दर्भ पनि छ । एमसीसी पारित गराउन निकै नै जोडबल गरेका प्रधान मन्त्री देउवाको भ्रमणमा यसबारेमा पनि प्रत्यक्ष परोक्ष भारतीय चासो प्रकट हुने अनुमान गर्न सकिन्छ । अर्कातिर, नेपालमा चीनको मुखर हुँदै गएको सक्रियताबारे भारतले नजिकबाट नियालिरहेको सन्दर्भको कुरा पनि छ । भारतले प्रधान मन्त्री देउवाको यो भ्रमणमा के कस्ता विषयलाई प्राथमिकता देला त्यो त अहिल्यै भन्न सकिने कुरा भएन । तर भ्रमणका बेला केही परियोजनाहरूमा छलफल र सहमति पत्रमा हस्ताक्षर हुनेगरी कार्यतालिका सार्वजनिक हुनुले भारतले नेपाललाई केही परियोजनामा सहयोग गर्ने अनुमान गर्न सकिन्छ । जसमा रेल सेवाको उद्घाटन, बिजुली आयात-निर्यात, पञ्चेश्वर परियोजनालाई अघि बढाउने विषयलगायतमा ठोस प्रगति हुने अनुमान गरिएको छ ।

कार्यतालिका हेर्दा प्रधान मन्त्री देउवा भारत भ्रमणका क्रममा निकै हतारोमा हुने छन् । भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री यस जयशंकर र भारतीय उपराष्ट्रपतिसँगको बेग्लाबेग्लै भेटघाटदेखि संयुक्त पत्रकार सम्मेलन, वाराणसीमा तिर्थाटन र भारतमा रहेका नेपाली व्यवसायीसँगको अन्तर्क्रियासम्मका काममा उनी सरिक हुनेछन् ।

सारमा भन्दा कुनै ठूलाे महत्वकांक्षाबिनै शुरु हुन लागेको प्रधान मन्त्री देउवाको भारत भ्रमणमा, दुई देशबीचको सम्बन्धमा बेलाबेला देखिने गरेको खटपट र बदलिँदाे भू-राजनीतिक परिवेशअनुसार नेपाल र भारतको सम्बन्धको पुनरावलोकनका लागि कस्तो प्रयत्न गरिने हो र त्यसको प्रभाव कस्तो देखिने हो भन्ने कुराले नै भ्रमण कति सफल वा फलदायी रहन्छ भन्ने कुराको निर्क्याैल गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =