हाइड्रो एक्स्पो शनिबारदेखि भृकुटीमण्डपमा

काठमाडौँ । शनिबारदेखि हाइड्रो एक्स्पो २०२२ आयोजना हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (ईप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा चैत्र १९ गतेदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा उक्त एक्स्पो आयोजना हुने भएको हो।

यसअघि आयोजकले चैत्र १८ गतेदेखि २० गतेसम्म एक्स्पो सन्चालन हुने घोषणा गरेको थियो । १८ गते घोडेजात्रा परेकाले कार्यक्रम प्रभावित हुनसक्ने भन्दै एक दिनपछि चैत्र १९ गतेदेखि एक्स्पो आयोजना गरिने भएको छ । यसअघि आयोजकले हिमालयन हाइड्रो एक्स्पोको दुई संस्करण सफलताका साथ सम्पन्न गरिसकेको छ । यसपटक आयोजना हुन लागिरहेको तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पूरा भएको छ ।

तीन दिन चल्ने उक्त एक्स्पोको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हुनेछ । इड्रोपावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रोपावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाबीच प्रतिस्पर्धा समेत गराइने छ ।

त्यस्तै एक्स्पोमा हाइड्रोपावर क्षेत्रमा ड्रोनको आवश्यकता र यसको उपयोगिता के कसरी हुन्छ र गर्न सकिन्छ भन्नेबारेमा पनि जानकारी लिन सकिने छ । एक्स्पोमा ड्रोन भिडियो मेकिङ कम्पिटिशन समेत आयोजना गरिने ईप्पानले जानकारी दिएको छ । एक्स्पो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्तालाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिएको छ ।

जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि उक्त एक्स्पो जानकारीको केन्द्र बन्नुका साथै यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पुयाउने आयोजकको विश्वास रहेको छ । त्यसैगरी प्रत्येक दिन एक्स्पो अवलोकनकर्ताहरुमध्ये १० जनालाई गोला प्रथाका माध्यमबाट विद्युतीय चुलो वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =