उपमेयरको नेतृत्वमा सडक अवरुद्ध (तस्बिरहरू)

काठमाडौँ । सडक निर्माण सम्पन्न नभएपछि गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा सडक अवरुद्ध गरिएको छ । गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा अवस्थित जोरपाटी साखु सडक खण्ड अवरुद्ध गरिएको हो ।

बिहान ७ बजेदेखि उपमेयरसहित स्थानीयले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुलसम्मको सडक खण्डमा अवरोध गरेका हुन् । विगत ६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी-साखु सडक खण्ड अझै निर्माण सम्पन्न भइसकेको छैन ।

धेरै ठाउँमा सडक मर्मत गर्दै छाडिएपछि स्थानीय र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आएका छन् । ‘नगरपालिका अन्तर्गतको विकास निर्माण हामीले सम्पन्न गरिसकेका छौँ । यो सडक संघीय बजेटबाट निर्माण भएकोले स्थानीय सरकारको केही अधिकार हुन्न,’ उपमेयर नेपालले मकालुखबरसँग भनिन्, ‘हामीले पटक पटक केन्द्रीय सरकार र सरोकारवालालाई ताकेता गर्दा पनि उनीहरूले वास्ता नगरेपछि सडक नै अवरुद्ध गर्नुपर्ने अवस्था आयो ।’

यो सडक खण्ड काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ । जहाँबाट नेकपा एमालेका कृष्ण राई र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चुनाव जितेका छन् । प्रदेश क्षेत्रमा पनि नेकपा एमालेका रामेश्वर फुयाँलले नेतृत्व गरेका छन् ।

स्थानीयवासी राजेन्द्र सिपाहीका अनुसार सडकको दुरावस्थाबारे संघीय सांसदलाई पटक पटक जानकारी गराउँदा पनि बेवास्ता गरेकाले स्थानीय जनप्रतिनिधिलाई अघि सारेर सडक अवरुद्ध गर्नुपरेको हो । केही दिनअघि यसै सडक खण्डको थली क्षेत्रमा पनि सडक नबनेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *