गद्दी बैठक पहिलोपटक सर्वसाधारणका लागि खुला (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको वसन्तपुरमा रहेको गद्दी बैठक मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एक समारोहका बीच गद्दी बैठकको उद्घाटन गरेका हुन् । यससँगै गद्दी सर्वसाधारणका लागि खुला भएको हो ।

विसं २०७२ को भूकम्पले क्षति पुर्याएको गद्दी बैठकको निर्माण ‘अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन’अन्तर्गत ‘मिया मोटो’ कम्पनीले गरेको हो । कम्पनीले संस्कृति सम्पदा कोषसँग सहकार्य गरेर पुनर्निर्माण गरेको हो ।

सुन्दर शिल्पले सजिएको

राणाकालमा सीमित व्यक्तिले मात्र प्रवेश पाउने सुन्दर र विशाल गद्दी बैठकलाई अब सबैले खुल्ला संग्रहालयको रूपमा अवलोकन गर्न पाउने भएका छन् । राणाकालमा बनेको गद्दी बैठक इट, बज्र, सुर्कीलगायतका परम्परागत सामग्रीबाट निर्माण गरिएको छ । यसलाई तत्कालीन श्री ३ चन्द्रशमशेरले विसं १९६५ मा नवशास्त्रीय शैलीमा निर्माण गरेका थिए । चन्द्रशमशेरले आफ्नो यूरोप भ्रमणपछि त्यहाँको वास्तुकलाबाट प्रभावित भएर गद्दी बैठक निर्माण गर्न लगाएको मानिन्छ ।

सर्वसाधारणका लागि खुला भएसँगै गद्दी बैठकलाई अध्ययन र अवलोकनका लागि सहज भएको हनुमान ढोका दरबार संग्राहलयकी अधिकृत तथा गद्दी बैठककी सूचना अधिकारी मायादेवी अर्यालले जानकारी दिइन् ।

काठका कलात्मक ढोका, भ¥याङ, दलिनको प्रयोग गरिएको गद्दी बैठकका कक्षमा सोफा र आकर्षक ऐनाहरू राखिएको छ । कक्षको माथिपट्टी बेल्जियम कृष्टलका ठूला र आकर्षक झुम्मरहरू लस्करै सजाइएको छ । गद्दी बैठकको तल्लो तलामा शाह वंशदेखि गणतन्त्रसम्मका ऐतिहासिक घटनाबारे जानकारी दिने चित्रकलाको ग्यालरी रहेको छ । जहाँ इतिहासका महत्त्वपूर्ण घटनाबारे पढ्ने, सुन्ने र डिजिटल प्लेटफर्मबाट हेर्ने कक्षको समेत व्यवस्था छ । शाहवंशीय राजाले प्रयोग गरेका विभिन्न हातहतियारसमेत प्रदर्शनीमा राखिएको छ ।

गद्दी बैठकलाई तत्कालीन समयमा विदेशी कूटनीतिज्ञलाई ओहोदाको प्रमाणपत्र दिन र महतत्वपूर्ण बैठकका लागि प्रयोग गर्ने गरिएको थियो । गद्दी बैठक अवलोकनका लागि अब स्वदेशी पर्यटकले ३० र विदेशी पर्यटकले ३ सय रुपैया शुल्क तिर्नुपर्ने छ । गद्दी बैठकको फोटो खिच्न पाइने छ भने भिडियो बनाउन भने नपाइने नियम बनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *