तिलोत्तमामा बन्यो साढे ११ करोडको भ्यू टावर

काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ स्थित वनवाटिकामा बहुउद्देश्यीय भ्यु टावर निर्माण गरिएको छ । नगरपालिकाले साढे ११ करोड रुपैयाँ खर्चेर १ सय ३४ फिट उचाइको १० तले भ्यू टावर निर्माण गरेको हो ।

तिलोत्तमा नगरपालिका र शकरनगर बन विहारको संयुक्त लगानीमा निर्माण भएको भ्यु टावर आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का सम्झौता भएको थियो । ०७२ सालको भूकम्पमा ढलेको काठमाडौँको धरहरापछिको दोस्रो अग्लो र सुविधासम्पन्न भनिएको टावरको भुईँ तला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ ।

कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको भ्यु टावरको पहिलोदेखि छैटौँ तलासम्म व्यावसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यावलोकन हुनेछ । कुल ११ करोड ५४ लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण भएको भ्यु टावर प्राकृतिक निर्माण सेवाले बनाएको तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनले बताए ।

लिफ्ट सुविधा सहित बनेको भ्यु टावरमा सुविधायुक्त रेस्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, अफिस रुम, एटेज ट्वाइलेट रुम बास मिल्ने गरी वातानुकूलित कोठा, लाइब्रेरी लगायतका संरचनाहरू बनाइएको छ । भ्यु टावरसँगै २ बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू अहिले बनिरहेका छन् । भ्यु टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्टेसन निर्माण भइरहेको छ ।

चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको छ । बाँकी संरचना निर्माण पनि अबको २ वर्षमा सम्पन्न हुने उनको भनाइ छ । भ्यु टावर निर्माणको कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ ।

भ्यु टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै तथा दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका शहरहरू देख्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *