केएमसीमा शिशु र बालबालिकाका धेरै जटिल शल्यक्रिया सम्भव भएका छन् : डा. आशिषलाल श्रेष्ठ (भिडिओसहित)

काठमाडाैँ । काठमाडाैँ मेडिकल कलेज शिक्षण अस्पतालले बाल तथा नवजात शिशु शल्यक्रियासम्बन्धी विशेष उपचार सेवा प्रदान गर्दै आएको छ । अस्तपालले अत्याधुनिक उपकरण तथा दक्ष डाक्टर र स्वास्थ्यकर्मीहरूमार्फत जटिल शल्यक्रियासमेत सम्पन्न गरिएको जनाएको छ ।

यसै विषयमा हामीले अस्तपालका बाल तथा नवजात शिशु शल्यक्रिया विशेषज्ञ डा. आशिषलाल श्रेष्ठसँग कुराकानी गरेका छाैँ ।

केएमसी अस्पतालले बाल तथा नवजात शिशु शल्यक्रियासम्बन्धी कस्ता-कस्ता बिरामीको उपचार गर्छ ?
केएमसीले दिने बाल तथा नवजात शिशु शल्यक्रिया सेवाअन्तर्गत जन्मिएदेखि १४ वर्षसम्मका बालबालिकाहरूकाे शल्यक्रियाको सम्पूर्ण काम हुन्छ । शल्यक्रियाद्वारा निको हुने जुनसुकै स्वास्थ्य समस्यासम्बन्धी सेवा केएमसी अस्पतालले दिन्छ । यसमा पेटसम्बन्धी शल्यक्रिया, मिर्गौलासम्बन्धी शल्यक्रिया, आन्द्राको, छातीको, खाना नलीको शल्यक्रिया पनि पर्छ । हड्डी, आँखा, नाक, कान घाँटी, मुटु र मस्तिष्कबाहेक अरु शल्यक्रिया पनि यस उपचार विधिमा पर्छन् ।

पछिल्लो एक वर्षमा तपाईंहरूले नवजात शिशुको कस्ता-कस्ता जटिल शल्यक्रियाहरू गर्नुभएको छ ?
त्यस्ता जटिल शल्यक्रियाहरू धेरै छन् । त्यमध्ये एउटा ‘ड्राफमेटिक हर्निया’ भन्ने समस्या हुन्छ, जसमा छाती र पेटको बीचमा रहेको मांसपेशीको पर्दा छेद भएर आन्द्राहरू छातीमा पुग्ने अवस्था हुन्छ । हालै एउटा बिरामीको ‘ड्युओडेनल एट्रेसिया’ भन्ने अवस्थाको शल्यक्रिया सम्पन्न गरेका छौँ । त्यो चाहीँ जन्मजात सानो आन्द्रामा अवरोध भएर खाना निल्न नसक्ने, पचाउन नसक्ने, बारम्बार उल्टी हुने समस्या हो । त्यस्तै ट्यूमरकाे शल्यक्रिया, क्यान्सरसम्बन्धी शल्यक्रिया, मिर्गौला अवरोध भएको खोल्ने, यी सबै जटिल शल्यक्रिया हुन् । ‘ड्युओडेनल एट्रेसिया’ एक दुर्लभ समस्या हो । जिवित जन्मिएका १० हजारमध्ये एक जनामा यस्तो समस्या देखिन्छ ।

यस्ता समस्याहरू कसरी पत्ता लगाउन सकिन्छ ?
अहिले समय धेरै आधुनिक भइसकेकाे छ । बच्चा गर्भमा नै रहँदा धेरै समस्या स्क्यान गरेर पत्ता लगाउन सकिन्छ । बच्चा गर्भमा रहँदा बच्चा वरपर रहने पानीको आयतन बढ्दै गएमा यस्ता समस्याहरू आउन सक्छन् । ‘गर्भमा डबल बबल साइन’ देखिन्छ । त्यसो भएमा शिशुमा समस्या हुने जोखिम उच्च हुन्छ । यदी गर्भमा नै समस्या भएको शंका भएमा समस्या छ वा छैन यकिन गर्न जन्मिएपछि एक्स–रे, अल्ट्रासाउण्ड गर्नुपर्ने हुन्छ । कति केसमा चाहिँ पहिला थाहा हुँदैन । पछि बच्चाहरूले उल्टी गर्छन् ।  त्यसमा पित्त मिसिएको र नमिसिएको उल्टी पनि हुन्छ । यदी बच्चामा त्यस्तो समस्या देखिएमा तुरुन्तै अस्पताल पुर्‍याउनुपर्छ । नवजात शिशुको शल्यक्रिया गर्नु भनेको बच्चाको पेट चिरेर जहाँ ब्लक छ त्यसलाइ हटाउने हो । यस्ता समस्या गर्भमा रहँदा र जन्मिसकेपछि दुवै अवस्थामा पत्ता लाग्छ । पहिला-पहिलाचाहिँ यस्ता शल्यक्रिया त्यती प्रभावकारी हुँदैन थिए । शल्यक्रिया गरे पनि बच्चा जीवितै रहने सम्भावना न्यून हुन्थ्यो । अहिले अति आधुनिक उपकरणहरू, सघन उपचार केन्द्रमा राखेर गरिने उपचार गर्दा धेरै प्रभावकारी भएको छ । यस्तो शल्यक्रिया ९५ प्रतिशत सफल भएको तथ्याङ्क छ । यस्तो उपचार सम्भव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 4 =