धनगढीको मेयरमा बलियो उम्मेदवार खोज्दै दलहरू

शीर्ष दललाई स्वतन्त्र उम्मेदवार हमालको चुनौती

धनगढी । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि तोकिएको छ । सोही अनुसार निर्वाचन आयोगले तयारी तीव्र पारेको छ । दलहरू पनि उम्मेदवार छनोटका लागि सक्रिय भएका छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दै स्थानीय तहको नेतृत्वका लागि थुप्रै आकांक्षीहरु अगाडि आइरहेका भएपनि अधिकांश स्थानमा उम्मेदवारको टुंगो लाग्न सकेको छैन । सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका कैलालीको धनगढी उपमहानगरपालिकामा पनि मेयरका लागि अहिलेसम्म कुनै पनि दलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा मेयरका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाल यस पटक पनि स्वतन्त्र उम्मेदवारका रूपमा खडा भएका छन् । हमाल यस पटक झन् आक्रामक रूपमा मेयरको उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा सक्रिय भइसकेपछि दलहरू बलियो उम्मेदवार खोज्नपर्ने चुनौती थपिएको छ । अघिल्लो चुनावका निकटतम प्रतिद्वन्द्वी हमाल धनगढीमा दलहरूका लागि चुनौती बनेका छन् ।

कांग्रेसबाट वडको सम्भावना
नेपाली कांग्रेसबाट धनगढी उपमहानगरपालिकाको मेयरका लागि कसलाई टिकट दिने भन्ने आधिकारिक निर्णय भइसकेको छैन । मेयरका लागि वर्तमान मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र भट्ट र कृष्णबहादुर महरा आकांक्षी छन् ।

तर वर्तमान परिस्थिति र निर्वाचनमा अन्य उम्मेदवारसँग प्रतिस्पर्धा गर्नसक्ने उम्मेदवारका रूपमा अहिलेका मेयर वडलाई नै अगाडि सार्न सकिने सम्भावना छ । धनगढीको मेयरका लागि वड भन्दा बलियो अर्को उम्मेदवार पाउन मुस्किल रहेको चर्चा काँग्रेस भित्रै भइरहेको छ । कांग्रेस स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले पनि मेयर वडलाई नै मेयरको उम्मेदवारका रूपमा पुनः वडलाई नै अगाडि सारिरहेका छन् ।

उनी अर्को ठाउँमा सुरक्षित हुन चाहेर मेयरमा नलडेका अर्को चौथो व्यक्तिको पनि खोजी हुनसक्ने स्रोतको भनाई छ । मेयर वड जित्नसक्ने आधार नदेखिएको अवस्थामा मेयरको उम्मेदवारबाट पछि हटेर सुरक्षित हुन खोजिरहेका छन् । स्रोतका अनुसार मेयर नभए प्रदेश वा संघमा जाने उनको मनसाय छ ।

एमालेबाट को-को आकांक्षी ?
नेकपा एमालेमा उपमहानगरको मेयरको टिकटका लागि विशेष गरेर दुई जना अगाडि देखिएका छन् । यसअघि २०७४ सालमा मेयरको चुनाव लडेर चौथो स्थानमा खुम्चिएका हाल जिल्ला कमिटीका उपाध्यक्ष दुर्गा जोशी र हालै सम्पन्न जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षको चुनाव हारे ब्यहोरेका रणबहादुर चन्द मेयरको टिकटका लागि लबिङमा छन् ।

जोशी मेयरमा पराजित भएपछि उनलाई सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनाइएको थियो । अहिले फेरि उनी धनगढीको मेयरमा पुनः उम्मेदवार बन्ने दौडमा छन् । अर्का दाबेदार चन्द लामो समयदेखि राजनीतिमा सक्रिय भएपनि हालसम्म नपाएका कारण यसपटक उनको सम्भावना बलियो रहेको एमाले नेताहरू बताउँछन् ।

यी दुई जनामा सहमतिको वातावरण बनेको अवस्थामा सहमतिको वातावरण निर्माणको रणनीति अपनाई तेस्रो व्यक्तिले टिकट पाउने सम्भावना एमालेमा छ । यस्तो अवस्थामा धनगढीका पूर्व मेयर खेमराज पाण्डे वा धर्मराज पाठकले टिकट पाउन सक्ने सम्भावना पनि रहेको एमाले कैलालीमा चर्चा छ ।

माओवादी केन्द्रबाट दुई नाम चर्चामा
नेकपा माओवादी केन्द्रबाट धनगढी उपमहानगरपालिकाको मेयरका लागि अहिलेसम्म दुई जनाको नाम चर्चामा आएका छन् । यसअघि उपमेयरमा पराजित शान्ति अधिकारी र धनगढी-३ का वडाध्यक्ष बलबहादुर ऐरको नाम मेयरको उम्मेदवारका रूपमा अगाडि आएको छ ।

यद्यपि उनीहरूले अहिलेसम्म आधिकारिक रूपमा आफ्नो आकांक्षा राखेका छैनन् । माओवादी केन्द्र सुदूरपश्चिमले पनि अहिलेसम्म कसैलाई पनि मेयरको सम्भावित उम्मेदवारका रूपमा कसैलाई पनि अगाडि नसारिएको जनाएको छ । माओवादी केन्द्र सत्ता गठबन्धनमा रहेकाले चुनावी तालमेल हुने वा नहुने अन्यौलताकाबीच उम्मेदवार छनोटको विषयमा अलमलमा परेको छ ।

एकीकृत समाजवादीमा पनि दुई आकांक्षी
नेकपा एकीकृत समाजवादी पार्टीबाट पनि धनगढीको मेयरका लागि दुई जना आकांक्षी देखिएका छन् । जसमा पार्टीका धनगढी नगर अध्यक्ष मदन रेग्मी र व्यवसायी राजेश भण्डारीको नाम चर्चामा छन् ।

रेग्मी यसअघि लामो समय नेकपा एमालेमा राजनीति गरेका व्यक्ति हुन् । उनी नेकपा एमाले निकट युवा संघको केन्द्रीय सचिवसमेत भएका थिए । भण्डारीको नाम मेयरको आकांक्षीको रूपमा चर्चामा आएको भएपनि उनी पार्टीका कार्यक्रममा भने सक्रिय भएर लागेको देखिँदैन । एकीकृत समाजबादी चुनावी तालमेलकै अन्यौलताका कारण उम्मेदवार टुंग्याउने विषयमा अलमलमै छ ।

गठबन्धन नभए स्वतन्त्रलाई फाइदा
धनगढी उपमहानगरपालिकामा सङ्ख्यात्मक रूपमा अन्य दल भन्दा नेपाली कांग्रेस बलियो अवस्थामा छ । तर पार्टीमा एकता छैन । आन्तरिक द्वन्द्वका कारण एक्लै निर्वाचन लड्न काँग्रेसलाई चुनौती छ । अघिल्लो निर्वाचनमा मेयर वडलाई जिताउन सक्रिय रूपमा लागेका पुष्करनाथ ओझालाई पार्टीले कारबाही गरेपछि अहिले उनी निष्क्रिय छन् ।

धनगढीमा राम्रो पकड भएका उनी निष्क्रिय भएपछि कांग्रेस कैलालीलाई कहीँ घाटा भने भएको छ । यो अवस्थामा गठबन्धन दल वा अन्य कुनै दलबीच गठबन्धन नगरी दलहरू एक्लै चुनाव लड्दा यसको फाइदा स्वतन्त्र उम्मेदवार हमाललाई हुने आकलन गरिएको छ । हमालले सबैभन्दा बढी कांग्रेसका मत तान्छन् भने अन्यमा आबद्ध मतदाताका मत पनि उनले पाउने उनको ठम्याइ छ । अहिले उनको प्रचार-प्रसारमा पनि कांग्रेसीहरु पनि खटेको देख्न सकिन्छ ।

तत्कालीन समयमा हमाल मेयरमा वडसँग २ हजार ७९७ मतले पराजित भएका थिए । वडले १४ हजार ३२४ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार १० हजार मतसहित तेस्रो र ९ हजार मतसहित एमाले उम्मेदवार चौथो नम्बरमा आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *