शुरु भयो १२ बर्षे ङतभुलु अजिमा नाच (तस्बिरहरू)

काठमाडाैँ । लिच्छविकालदेखि नचाइँदै आएको १२ बर्से ङतभुलु अजिमा (नरदेवी श्वेतकालीमाई) नाच नचाइएको छ ।

काठमाडौँको प्राचीन बस्ती नरदेवीमा रहेकी ङतभुलु अजिमाको पर्वका रूपमा विभिन्न रुपधारण भएकी र विभिन्न अवतारमा देखिने नरदेवीको नाच पाटनको कार्तिक नाच डबली, काठमाडौँको दश अवतार डबली र कीर्तिपुरको लायकु डबलीमा समेत नचाइने गरिन्छ ।

उत्तरमा थँबहीदेखि दक्षिणमा ओनदेसम्मको मध्यभागमा नेवारीमा ङतभुलु अजिमा भनिने नरदेवीले सबैको रक्षा गर्ने र असत्यमाथि जितको रूपमा नाच आयोजना हुँदै आएको हो ।

किंवदन्ती अनुसार बनेपाका राजा सिकार खेल्न नरदेवी आउँदा किलागलमा हात्तीहरूको आक्रमणमा परेको र उनलाई बचाउन देवी प्रकट भएको जनविश्वास रहँदै आएको छ ।

कुमारी, भैरव, वाराही, गणेश, महालक्ष्मी, नारायणी इन्द्रायणी, रुद्रायणी, ब्रह्मायणी, सिंघ्रनी, ब्याध्रिनी, करुणामय, महाद्यः, चण्डेश्वरी, कुमार, दैत्य, ध्वं र खिचा जस्ता देव, दैत्य र अवतारका भूमिकामा देवीनाच नचाइने गरिन्छ । देवगणको भोगका लागि नाच हुने स्थानमा दुईवटा राँगा र पाँचवटा थुमाको बलि दिने परम्परा समेत रहेको छ ।

नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समितिका अनुसार श्वेतकाली,कुमारी, भैरव र वाराहीमा देवी प्रकट नभएकाले २०३६ सालपछि एकैपटक २०६६ मा क्षमा पुजा गर्दै पर्वको निरन्तरता गरिएको हो । समितिका अनुसार २०६६ सालबाट सुरु भएको देवी नाच २०६८ सम्म काठमाडौँको तलेजु भवानी मन्दिरमा रहेको दश अवतार डबलीमा नचाइएको थियो ।

किम्बदन्ती अनुसार देवी प्रकट भएपछि मन्दिरका ढोका आफै खुल्ने गर्दछन् । यस्तै मन्दिरको ढुकुटी समेत आफै खुल्छ ।अनि त्यहाँ भएका देवीका गरगहना बाहिर निकाली नृत्य गर्ने कलाकारलाई लगाइदिएर नरदेवी नाच नचाइन्छ ।

नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समितिका अनुसार२०३६ सालमा तत्कालीन राजदरबारले नाचका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउनुका साथै राजा र राजपरिवारले समेत नाच हेरेका थिए । त्यसपछि नाचको सम्पूर्ण प्रबन्ध गुठियार र समुदायले गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *