महालक्ष्मी एल्मुनाई एसोसिएसनको अध्यक्षमा श्रेष्ठ

ललितपुर । महालक्ष्मी एल्मुनाई एसोसिएसनको अध्यक्षमा दीपककुमार श्रेष्ठ चयन भएका छन् । लुभूस्थित श्री महालक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरूको सङ्गठन महालक्ष्मी एल्मुनाई एसोसिएसनको तेस्रो साधारण सभाले दीपककुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
एसोसिएसनको उपाध्यक्षमा प्रह्लाद विष्ट, सचिवमा इन्द्रभक्त मास्के, सहसचिवमा प्रकाश खत्री, कोषाध्यक्षमा रिता श्रेष्ठ, तथा सदस्यहरूमा उत्सव केसी, पुष्पराज श्रेष्ठ, इन्द्रकमल श्रेष्ठ, सुरेश बस्नेत, सविता श्रेष्ठ र मदन गौतम निर्विरोध निर्वाचित भए । साधारणसभामा यसअघि पूर्व अध्यक्ष हरिरमण थापाले प्रस्तुत गरेकोको आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष रिता श्रेष्ठले प्रस्तुत गरेको आव २०७७/०७८को आयव्ययविवरण पारित गरिएको थियो ।
उक्त विद्यालयको कक्षा ११का उत्कृष्ट छात्र निशान्त सापकोटा, र छात्रा देवीमाया वाइबालाई पूर्वविद्यार्थीद्वय भक्त बस्नेत र प्रह्लाद विष्टमार्फत उपलब्ध गराइएको वार्षिक अध्ययन शुल्क र उत्कृष्ट ग्रेड लिन सफल गराउने उक्त विद्यालय र लुभू माविका शिक्षकलाई नगद पुरस्कार प्रदान गरिएको छ । यसैगरी दुईलाखको अक्षयकोष खडागरी पुरस्कारको व्यवस्था गर्नुहुने पूर्व विद्यार्थी दुर्गालाल श्रेष्ठ र एसोसिएसनलाई भौतिक सामाग्री उपलब्ध गराउने पूर्व प्रधानाध्यापक पूर्णबहादुर श्रेष्ठका साथै आजीवन सदस्यलाई सम्मान पनि गरिएको थियो ।
पुरस्कार तथा सम्मानपत्र प्रदान गर्दै विद्यालयका पूर्व प्रधानाध्यापक तथा पूर्व सहायकमन्त्री दिनबन्धु अर्यालले मानिसलाई आवश्यक परेको वस्तु दिनसक्ने शक्तिलाई देवता भनिने चर्चा गर्दै आमा, बाबु र गुरु पनि देवतासरह भएकाले तिनको सम्मान गरिनुपर्नेमा जोड दिए । सांस्कृतिक र औद्योगिक नगरको रूपमा विकसित लुभूमा आजभन्दा ७४ वर्षअघि स्थापित उक्त विद्यालयअन्तर्गत चार वर्षअघि गठित एसोसिएसनमा हाल ८१ आजीवनसमेत गरी १७५ सदस्य छन् ।








