कसरी पाटी बन्दैछन् घरहरू…

काठमाडाैँ । पाका मानिस सीमित ठाउँमा नै धेरै रहन्छन् । आफ्नै क्रियाकलापले फुर्सद नभएका यी प्राणी हिँड्डुल अति आवश्यक मात्र नै गर्छन् । भेटघाट मानिसकाबीच प्रायः विभिन्न नाफा नोक्सानकै लागि हुनेगर्छ । त्यसैले पनि होला पाका मानिससँग जोपायो त्यही भेट्न आँउदैनन् ।

हो, कोही उस्तै उमेर समूह र शारीरिक अवस्था भएका मनका बह पोख्न आउन सक्छन् । कोही मभन्दा अनुकूल वा प्रतिकूल के अवस्थामा छ भनी बुझ्न पनि आउन सक्छन् । कोही उमेरदारचाहिँ आफ्ना घरमा पनि पाका मानिस भेट्न आएका थिए, अब छैनन्, पालाको पैँचो, जाउँ न त भनी आउन सक्छन् । कोही नातापाता, इष्टमित्र र साथीभाइको लहैलहमा मुख पर्न आउन सक्छन् । तर अब कुनै थप अनुदान वा काम लिन सकिन्न भन्ने लागेमा धेरै चिनजान वा पहिलेका मित्र भनिएका आउन्नन् । त्यसैले पाका मानिसको प्रायः पहिले कहिल्यै नभएको बढी समय घर र केही समय घरका मानिसहरूसँग नै बितेको हुन्छ ।

हिजोआज मानिसहरू तिनथरीका ठाउँमा बस्छन्- घर, आवास र पाटी । तिनै ठाउँमा बस्नेहरूको आ-आफ्नै भोगाइ र विशेषता हुन्छन् । तर के कुरा प्रमुख हो भने, पाका मानिस आफू कहाँ बस्छन् त्योचाहिँ निर्क्याैल भए उनीहरूलाई बाँकी जीवन त्यहीँ सन्तोषमा बस्न निर्धक्क हुन्छ ।

अहिले आँगनमै , घरभित्रै अझ कोठाकोठामै खानेपानीको धारा पुगेका छन् । पहिला घरबाट टाढा गरिने दिसा सौच र नुहाईधुवाई अचेल कोठामै जोडिएका वा त्यही तलामा भइहाल्छ । बरू पूजा गर्ने चलन भए भगवान् चाहिँ आँगनतिर वा काम नलाग्ने सबैभन्दा माथि कुप्रेर पस्ने ठाउँमा बनाएर आधुनिक घर बनेको भेटिन्छ । अब खानपिन, मुख धुने र मलमुत्र त्याग सबै नजिकै वा कोठामा हुने भएपछि मानिस पाइलै नसार्ने भए । जसले रोगव्याध निम्त्याइरहेछन् । पहिला-पहिला गरिबगुरुवा र शारीरिक श्रम गर्नेले खाने भनिएका च्याँख्ला, आँटो पिठो, सिस्नो, झारपात धनीले खान लागेका छन् । त्यसैले, कामनगरी खान नपुग्नेलाई बिरामी हुँदा ‘औषधि नियमित खाने साथै आराम गर्नुहोस्’ भन्ने चिकित्सकहरू अचेल हरेक धनी बिरामीलाई ‘यसो अलिअलि हिँड्ने र सके छ हजार पाइला कटाउनोस्’ भनी सल्लाह दिन्छन् ।

प्रष्टरूपले अहिले मानिसहरू खान नपाएर रोगी हुने र खाना बढी भएर रोगी हुने छुट्टिएका छन् । त्यसैअनुसार खान पाउनेकै पनि बसाइ– घर, आवास र पाटीमा परिणत भएका छन् भने खानकै दुःख हुनेको त एकअर्कामा भावनात्मक सहिष्णुताबाहेक भौतिक सुविधामा के घर के पाटी ?

घर

घरमा सामान्य प्राकृतिक अनुशासन प्रष्ट भेटिन्छ– उमेरअनुसार आदर, माया र रेखदेख हुन्छ । सक्नेले काम गर्न र मिहेनत गर्न पछि पर्दैनन्, सामूहिक कर्तव्य सम्झेर गर्छन् । पाका मानिसको ज्ञान र सीपकाे कदर हुन्छ; उनीहरू कम्तीमा आदरणीय अभिभावक र बढीमा भगवानसरह व्यवहार पाउँछन् । उनीहरूका कुरा उमेरदारले आफ्ना जीवनअघि बढाउने निर्देशनका रूपमा लिन्छन् । बिहान उठेदेखि परिवारका हरेक सदस्यको दैनिक क्रियाकलापनै सामूहिक हितमा आ-आफ्ना क्षमताअनुसार मिहेनत गर्ने नै हुन्छ । कामको बाँडफाँट पाका मानिसबाट गरिएकाले उमेर, ज्ञान, सीप र क्षमताअनुसार नै सबै सक्रिय जीवन बिताउँछन् । अशक्त र केटाकेटीहरूको हेरविचार, सुघ्घरसफाइ र रोगव्याधमा व्यवस्था मिलाउन तथा सहज जीवन पार्न सबै वयस्कहरूको औधि आत्मियतापूर्ण ध्यान हुन्छ । महिला पुरुष सबै सद्भावका साथ एकअर्काको सहयोगी र उपयोगी हुन प्रतिस्पर्धा गर्छन् । कहीँ रमणीय ठाउँ वा विभिन्न उपलब्धिपूर्ण पर्यटनका लागि योजना बन्दा प्रायः सबैलाई पायक र सगोल फाइदा पुग्ने स्थल वा विषय रोजिन्छ । त्यस्तोमा पाका मानिस त अभिभाकत्वको दर्जामा सँगै रेखदेखको व्यवस्थासहित अनिवार्य सहभागी गराइने वयस्कहरूको परम्परा नै हुन्छ ।

बिहान निन्द्रा खुलेदेखि राति नसुतेसम्म एकआपसको बोलीनै माधुर्यपूर्ण, सहयोगी र परिपूरक खालको पाइन्छ । घरभित्रका कुरा बाहिर गुनगुन पनि सुनिँदैन भने भाँडा बजेको सुन्न दुर्लभ हुन्छ । कसरी एकअर्कालाई सघाउने, आदर र स्नेहगर्ने भन्ने कुरामा सबै सचेत र सक्रिय हुन्छन् । आँगन, करेसा, मूलढोका, भित्रीभाग, दैनिक वा समयानुसार प्रयोग हुने चीजबीज आ-आफ्ना ठाउँमा सफा र व्यवस्थित रहेको पाइन्छ । पाका मानिसको सामान्य श्रमको पनि ठूलो आदरयुक्त प्रशंसा र केटाकेटीका सकारात्मक कामको प्रोत्साहन नै संस्कार हुन्छ । न्यूनतम आवस्यक सबै चिजबिज सकेसम्म घरमा नै जोरजाम गरिन्छन्, दैनिक किनुवाको भर परिन्नन् । घरसदस्यले मात्र दैनिक कार्य सम्पन्न गर्न नभ्याइने भए कामको सहयोगी राखिन्छ र त्यससम्बन्धी जानकार साथ लागि गरिन्छ । फारोतिनो गरेर हरेकका स्वास्थ्य अवस्था हेरेर माया आदरसाथ ख्वाउने छँदैछन् । खाना पनि सबैका चाहना र स्वादअनुसार बनाउँदा आफ्नो सार्थक कर्तव्य ठान्ने भान्छा तयार गर्ने सदस्यहरू हुन्छन् । खाना खाँदा पनि सकेसम्म बेलुकीको भएपनि एकैसाथ वा आवश्यकतानुसार डफ्फाडफ्फा रमाइलाे मानेर खानपान भएको पाइन्छ । भएका चलअचल सम्पतिको उचित प्रयोगमा ध्यान दिने, शारीरिक र मानसिकरूपले सक्षमबाट थप आर्जन गर्न सामूहिक भलाकुसारी सरसल्लाहको विषय बनेको हुन्छ । घरको आवश्यकतालाई बेमाख नपारेर बाहिरफेर पनि काम गरिन्छ तर अनावश्यक तुजुक, देखावा, घच्चा अथवा घुर्की देख्न–सुन्न पाइँदैन । अल्पकालीन फुर्सदका समय पारिवारीक मनोरञ्जन, थपअनुभव साटफेर, नयाँ जानकारी तथा अझबढी सामूहिकता बढाउने क्रियाकलाप गरिन्छन् । सबैलाई ‘कुनै कुराको अपुग नभइदिए हुन्थ्यो’ भन्ने सोचाई साथ त्यस्तो आउने नपाउनेगरी मिहेनत गर्ने र गरिरहेका असल मानिसहरूको जमघट– घर । परिवारजन बीचमा सुविधा, सहयोग, आदर र स्नेहको समष्टीरूप र दुःखसुखका सहयात्री अभिन्न आफन्त बसेको वंशवृक्षजस्तो नै घर हो ।

आवास

मानिसहरू बस्ने मात्र र जसोतसो गुजारा गर्न बस्ने ठाउँलाई अचेल घर नभनेर आवास पनि भन्छन् । त्यसको संरचना र त्यसभित्र बस्ने मानिसका चरित्र र व्यवहार हेर्दा घरभन्दा फरक पाइन्छ । सबै वयस्कका आ-आफ्नै तुजुक, फुर्सद भए पनि काममा व्यस्तताको ढर्रा बातैपिच्छे सुनिन्छ । दैनिक सरसल्लाह र वार्षिक योजना पाका मानिसहरूसँग गरिने भन्दा व्यक्तिव्यक्तिका बेफुर्सदी र योजना नै भोगिन्छ ।

परिवारमा कमाउनेको फूर्ति र घमण्ड अरुलाई सुन्दा नाकनै खुम्चिने हुन्छ । आफ्ना केटाकेटीको आत्मिक नभइ बजारीया भौतिक सुविधा हेर्ने अनि ‘खुब गरेको’ विज्ञापन नातेदारमा बिस्कुन लाइन्छ । शारीरिक मानसिक रूपले सक्षमबाट अरुको बेवास्ता गरिन्छ र फुर्सद नभएको ढोल पिटिन्छ । विशेषगरी अशक्त र पाका मानिसकलाई सहयोग र आदरभन्दा ‘म्यादगुज्रेका, कहिलेसम्म बाँच्नेलाई दुःख दिने र आफू पनि पाउने हुन्’ भनि चियोचर्चो र खिसिटिउरीका बाढी उराल्ने गरिन्छ । इष्टमित्र भेट हुँदा ‘फुर्सद नभएर आफ्ना अभिभावकलाई हेर्ने मानिस राखेको वा डे केयर (सुविधायुक्त वृद्धाश्रम) व्यवस्था गरेको’ धाक (सफाइ) दिइन्छ । अभिभावकलाई हेरविचार गर्न नचाहेर ‘अवसरको खोजीमा नचाहँदा-नचाहँदै आएको, आफ्नो कामगर्ने ठाउँ पायक पारेर आवासमा बसेको’ भनि आँसुहीन रुवाइ सुनाउने (गफ दिने) पनि भेटिन्छन् ।

औचित्यहीन सञ्चार र सञ्जालका पट्टयारलाग्दा नाटकका श्रृङ्खला हेरेर समय काट्ने हुन् कि नयाँ खानेकुरा खाएको विज्ञापन गर्नमा अनुहारीकामा घण्टौँ बिताउने हुन, ‘फुर्सद नभएर काम गर्ने राखेको’ धाक जमघटमा छोड्नु आधुनिकता ठान्दछन् । त्यस्ता समूहका महिला पुरुष प्रायः विवाह, पार्टी आदिमा भोजनसहित निम्तालु भए विशेष जलपान वा स्वादिष्ट भोजन वरपर खौलापरेका भैँसीले हरियो घाँस हाँप र झाँपगरी बुत्याएझैँ खान व्यस्त देखिन्छन् । त्यस्ताका केटाकेटी पनि पेय पदार्थ, पानीपुरी र बरफ विवतरणका वरपर झुम्मिएका पाइन्छन् । त्यसपछि आवासलाग्दा बाटाभरी कि गरगहना र लुगाका कुरा कि कतिवटा कुन खानेकुरा खाएको बहादुरीका कुरा मात्र हुन्छन् ।

पाका मानिस सकेसम्म वयस्कका ‘इज्जत जोगाइदिन’ त्यस्तोमा जान पाउँदैनन् । कथम् कसैले नआएको सोधे ‘सञ्चो नभएर वा अन्त जानुपर्ने भएर आउनुभएन’ भन्ने कथाका पात्र भइहाल्छन् । वयस्कका दयामा जान पाएपनि एकातिर भनेको ठाउँमा थच्चिएर, ल्याएको खाइदिएर लैजानेले भनेको बेला फर्कन्छन् । उनीहरू त्यस्तो सभा समारोहका साक्षी बस्न सक्छन् तर सक्रिय कारिणी बन्दैनन् । कुनैबेला खाने वस्तु वा तरिका र आफ्नो मनसाय व्यक्त गरी हिम्मतीलो बन्न खोजे ‘तपाईं बिर्सनुहुन्छ’ वा ‘कत्ति एउटै कुरा दोहोर्‍याइरहेकाे’ भन्ने ब्रह्मास्त्रको मारमा पर्छन् । त्यतिभन्दा पनि चित्त नबुझी लैजानेलाई हदै ‘बेइज्जत भए’ अर्को चोटीदेखि घरकुरुवामा पर्छन् । ज्ञान र अनुभवले खारिएका पाका मानिसहरू त्यो अपमान बाँचुन्जेल नबिर्सने हुनाले बरू एक्लै वा दोक्लै खटाइदिएको सामल खाएर आवास कुर्दिन्छन् । अँ, शारीरिक रूपले कम सक्षम वा असक्त भइ भरपर्नेका खिया लागेका चरित्र भोग्न अभिशप्त यस्ता आवासका पाका मानिसहरू आवासरूपी सुनको पिञ्जडामा फलामे साङ्लाले बाँधिएका बाघ हुन् । उनीहरू परिवारको लहडमा ङिच्च गर्दै मनका कुरा मनमै ताल्चामारेर आगन्तुकका अगाडि भनेका बेला उपस्थिति जनाउन देखा पर्नु त्यस्ता परिवारको संस्कार हो । यस्तो वातावरणमा हुर्केका बालबालिकाले विदेशीएनन् भने अहिलेका वयस्क पाको उमेरमा पुग्दा के गर्छन् होला ? पूनरावृत्तिको घनचक्करमा आफैँ पर्नेपनि होस् नराख्ने कस्ता वयस्क होलान्, ताजुब लाग्छ ।

पाटी

पहिला मठमन्दिर वरपर ओत लाग्ने पाटी बनाइएकाे हुन्थ्याे । प्रायः धार्मिक कार्यका लागि बनाइएका ति पाटी सत्तलमा अविवेकी सन्तानका हेलाँहोचोमा परेका पाका मानिसका आश्रयस्थल हुन्थे । पाटी विभिन्न कारण देखाइ सक्नेले बनाइदिएकाे प्रायः छाना र तिनतिर भित्ता भएका हुन्थ्यो । सामान्य वरपरको जमिनभन्दा अग्लो करिब भारी अड्याउन मिल्ने उचाइसम्म त ढुङ्गाको गाहारो हुन्थ्यो । त्यसको भुइँमा मिलाएर ढुङ्गानै ओच्छ्याइएको हुन्थ्यो भने कतिपय ठाउँमा पाका इँट थपेर वा मसिना ढुङ्गा चाङ लाउँँदै बलो राख्ने ठाउँसम्म पुर्‍याइन्थ्याे । त्यसैमा डाँडाभाटा राखेर उठाइ छानामा प्रायः पराल वा हुने ठाउँमा झिँगटी र कहीँ जस्तापाता पनि हुन्थ्यो । पाँच/सात जना मज्जाले गुँडुल्किन मिल्ने त्यस्तो ठाउँमा कहीँ त त्यहीँ पकाउने ठाउँ पारिएको हुन्थ्यो । कहीँकहीँ बढी हुनेखानेले बनाइदिएकाेचाहिँ अलि लामै सत्तल जस्तो हुन्थ्यो र नाम नै लाम्पाटी भनिन्थे । जे होस्, रात, घामपानी र हुरीबाट बटुवा जोगिने एकराते बासस्थान बनेको नेपालमा ठाउँठाउँ भेटिन्थे । अँ, पाटी छेउ पानीको स्रोतचाहिँ प्रायः मिठो पानी नै हुन्थ्यो र धारो पनि बनाएको हुन्थ्यो । खोलाको माथ्लो भागमा पनि यस्तो संरचना पाइन्थ्याे । धार्मिक कार्यमा आयोजकले वरपरका कम आय भएकालाई बोलाइ खुवाइपियाइ गरिन्थ्यो । कहीँकहीँ त्यतै धार्मिक हण्डी भनेर नियमित खुवाइपियाइ र बस्न दिने गरिन्थ्यो । पहिला घर आवासबाट लखेटिएका र विरक्तीएका पाका मानिस त्यस्तै हण्डीको भरमा पाटीमा बस्न बाध्य हुन्थे । ठूल्ठूला देवालय र शिवालयमा प्रायः सदाबर्ते हण्डीको व्यवस्था ‘काल पर्खने’ का आश्रयस्थल हुन्थे ।

अँ, अहिलेपनि अल्पकालीन वा एक छिमल बिताउनलाई त पाटी राम्रो आश्रय हुन्छ । ‘घर’ घर जस्तो नभएको ‘आवास’ बस्नहुने जस्तो नभएर लोकलाज बचाउँन ‘आ बस’ मात्र भएको ठाउँमा पाका मानिस कहाँ जाने ? सामाजिक सुरक्षा नदिने सरकार र अराजक भाँडभैलोगर्ने परिवार तयार पारिएको वर्तमान सामाजिक परिवेशमा देशका पाका मानिसहरूबारे चासो राख्ने को ? ज्ञान र अनुभवले पाकाभएका, हिजोको समयलाई प्रत्यक्षदेखि इतिहास बनाउने ति मानव समाजका बहुमूल्य प्राणी मठमन्दिर वरपर परम्परागत नि:शुल्क पाटी छ भने त्यतालाग्न बाध्य हुन्छन् । त्यता लाग्नु अघि कोही पाका मानिस आफ्नो सञ्चिती सक्दै वा गोप्यधन उपयोग गर्दै केही समय सशुल्क कतै बस्न सक्छन् । अति माया आफन्त भनाउँदालाई देखाइ समयमा नै चलअचल हस्तारण गरेका वा बचत नगर्ने त जाने पाटी नै हो । अनि सँगैको साथी कि भूस्याहा कुकुर कि फरक कारण तर उस्तै अवस्था भोग्न बाध्य अर्को मनुवा । हो, त्यस्ता पाटीमा महिला र पुरुषको सामीप्यतामा लैङ्गिक विभेद हुन्न, बरू समान भोगाइका कथा एक हुन्छन् ।

अन्त्यमा,
तपाईं हामी अहिले कहाँ बस्छौँ, कस्तो व्यवहार भोग्दै छौँ ? के राम्ररी हेक्का राख्नुभएको छ ? भोगेको र भइरहेको तपाईंलाई ठिक छ भने राम्रो नै भयो । ठिक छैन भनेर बसाइ र सोचाइ फरक परेको रहेछ भने पाका मानिसको बाँकी समय अन्यौल, चिन्ता, पिडा, अवसाद, एकोहोरोपन भएर जानसक्छ । पीडा र आत्मग्लानीबाट भएको ज्यानमा रोग नथपी सपार्न केही गर्न सक्नुहुन्छ कि ? मनका कुरा सुनिदिने नभएर एकान्तमा बर्बराएर आफैँले सुनि ‘अरुले जवाफ नगरी सुनेको र मानेको’ भनि आनन्द लिनुपर्ने दिन आउन सक्छ । भइरहेको तपाईंले सहन नसक्ने हो भने, त्यो परिस्थितिमा तपाईंकाे बाँकी जीवन कसरी बिताउने सोच्नुभएको छ ? याद गर्नोस् एक दशक अघिसम्म महिनाको २/३ जना बेवारिस पाका मानिसका लास भेटिने नेपालमा अचेल ३०/३५ भेटिएका खबर निकै आउँछन् । कि अन्त्यमा कुकुर साथी बनाउने भविष्यको तालिम लिँदै हुनुहुन्छ ? बेलैमा वयस्कहरूले मसक्कै सोचौँ र व्यवहारमा कार्यान्वयन गरेर पाका मानिसको ज्ञान,सीप, क्षमता र अनुभव आदरसाथ सार्वजनिक गर्दै सामाजिक प्राणीको दायित्व पूरा गरौँ । अन्यथा तपाईं वयस्कहरूकाे भविश्य अहिले तपाईंका पाका मानिसहरूले व्यहोरेको भन्दा हृदयविदारक होला है ।

तपाईं वयस्कहरूका हरेक क्रियाकलाप नियालिरहेका तपाईंकै शिशुहरूले पाका उमेरमा पुग्दा तपाईंलाई गर्ने व्यवहार पनि तपाईंकै सिको गर्नेछन् । भिरबाट बुढोबाउलाई गुण्ट्याउन डोकोमा बोकी हिँडेकोलाई उस्कै अबोध शिशुले ‘मैले तपाईंलाई फाल्न काम लाग्छ, डोको फिर्ता ल्याउनु है बा’ भनेको कथा सम्झिनु राम्रो होला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *