समूहसहित झडप गर्न गएका सांसद साह गम्भीर घाइते

काठमाडौँ । सर्लाहीमा क्लबको भवन बनाउने विषयमा विवाद हुँदा संघीय प्रमोद साह गम्भीर घाइते भएका छन् । शनिबार बिहान जिल्लाको ईश्वरपुर नगरपालिका-६ वयलबासमा झडप हुँदा सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद साह गम्भीर घाइते भएका हुन् ।

प्रहरीका अनुसार सांसद साहको टाउकोमा गहिरो चोट लागेको छ । बयलबासमा रहेको फूलजोर बाबा युवा क्लबको जग्गाको विषयमा केही दिन यता स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो ।

विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह घटनास्थल पुगेलगत्तै झडप भएको हो । ‘सांसद साह आफै ३/४ सयको समूहमा विवादित स्थल गएका रहेछन्,’ स्रोतले भन्यो, ‘आक्रोशित अर्को समूहले अगाडि बढेका साहलाई रोकन खोज्दा झडप भएको देखियो ।’

प्रहरीका अनुसार क्लबको भवन बाटोमा परेको भन्दै केही समय पहिला आधा भत्काइएको थियो । सडक छुट्टाएर बाँकी जग्गामा एक पक्षले क्लबको भवन बनाउन खोजेका थिए । क्लब घर सँगैका छिमेकीलगायत अर्का पक्षले यही क्लबको घर निर्माणमा अवरोध गर्दै आएका छन् ।

घाइते साहको वयलबासस्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ । अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ भने स्थिति नियन्त्रणमा रहेको छ । उनी सर्लाही-१ बाट जनता समाजवादी पार्टीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *